14.4c Kathmandu, Nepal

Saturday, August 22, 2026
१० महिना अगाडि

भेरीगंगामा प्राथमिक कान तथा आँखा उपचार शिविर— स्वास्थ्यसेवा घरदैलोमै पाउँदा स्थानीय खुशी

सुर्खेतको भेरीगंगा नगरपालिकाका स्थानीयबासीलाई प्राथमिक स्वास्थ्य सेवा पहुँचमा पुर्‍याउने उद्देश्यले प्राथमिक कान तथा आँखा उपचार शिविर  सुरु भएको छ । कार्तिक १६ गतेदेखि मंसिर २ गतेसम्म सञ्चालन हुने शिविर नगरका १७ वटै वडामा चरणबद्ध रूपमा सञ्चालन गरिनेछ ।

कार्यक्रमअनुसार पहिलो शिविर कार्तिक १६ गते भेरीगंगा–६ स्थित जनज्योति माध्यमिक विद्यालय, किर्नीमा सञ्चालन हुनेछ भने अन्तिम शिविर मंसिर २ गते भेरीगंगा–२ सानीमौर (सत्तरी) स्थित सामुदायिक माध्यमिक विद्यालयमा सञ्चालन गरिनेछ ।

नेपाल रेडक्रस सोसाइटी भेरीगंगा उपशाखाले आयोजना गरेको यस अभियानमा आर्थिक सहयोग भेरीगंगा नगरपालिकाले गरेको छ भने प्राविधिक सहयोग ब्रिनोज कान अस्पताल र सुर्खेत आँखा अस्पतालको रहेको छ ।

आँखा तथा कानको उपचार, परामर्श र परीक्षण सेवा उपलब्ध गराइएको ब्रिनोज कान अस्पतालका आउटरिच इन्चार्ज भीषण कुमार चौधरीले बताए । शिविरमा आँखा विशेषज्ञ, कान विशेषज्ञ, स्वास्थ्यकर्मी र प्रशिक्षित स्वयंसेवकहरु सहभागी भएका छन् ।

कानको चेकजाँच तथा परामर्श सेवा कान सहायक चिकित्सक भीषण कुमार चौधरी र तिर्थमान चौधरीले प्रदान गरेका छन् भने आँखाको चेकजाँच सुमित्रा चौधरी र विजया भट्टराईले गरेका छन् ।

शिविरमा आउने बिरामीको दृष्टि परीक्षण, कान सुन्ने क्षमता परीक्षण, सामान्य रोगको औषधि वितरण, साथै जटिल समस्या भएकालाई विशेषज्ञ अस्पतालमा रिफर गर्ने गरिएको छ ।