14.4c Kathmandu, Nepal

Thursday, April 30, 2026
७ महिना अगाडि

पर्सामा हैजाविरुद्धको खोप अभियान सुरु

काठमाडौँ, २७ असोज । पर्सा र बारा जिल्लामा फैलिएको हैजा नियन्त्रणका लागि हैजाविरुद्धको खोप अभियान सुरु भएको छ।

आइतबार जिल्ला प्रशासन कार्यालय पर्सा भएको एक समारोहकाबीच प्रमुख जिल्ला अधिकारी (सिडिओ) तोयनारायण सुवेदीले स्वास्थ्यकर्मीको हातबाट खोप सेवन गरी अभियानको औपचारिक शुभारम्भ गरे।

उनले खोप सेवन गर्न योग्य सबै उमेर समूहका व्यक्तिलाई खोप लगाएर आफू र परिवारलाई सुरक्षित राख्न आग्रह गरे।

स्वास्थ्य कार्यालय पर्साका अनुसार यो अभियान असोज २६ गतेदेखि कात्तिक २ गतेसम्म सञ्चालन हुनेछ। यस अवधिमा पर्सा जिल्लाका ६ लाख ५४ हजार जनालाई इयूभिकोल–एस खोप लगाइने लक्ष्य छ।

खोप १ वर्षभन्दा माथिका सबै व्यक्तिलाई दिइनेछ। अभियानलाई प्रभावकारी बनाउन जिल्लाका १४ वटै पालिकामा १,९५० वटा खोप केन्द्र स्थापना गरिएको छ।स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाले दिएको जानकारी अनुसार यो अभियान पर्सा जिल्लाका सबै १४ वटा स्थानीय तहहरू र बारा जिल्लाका ६ वटा स्थानीय तहहरूमा सञ्चालन गरिनेछ।

परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेक कुमार लालले हैजाको महामारीका साथै हालैको वर्षापछि आएको बाढीका कारण ती क्षेत्रमा हुनसक्ने उच्च जोखिमलाई ध्यानमा राखेर यो खोप अभियान सञ्चालन गर्न लागिएको बताए।

बारा जिल्लाका कलैया उप महानगरपालिका, जितपुर-सिमरा उपमहानगरपालिका, परवानीपुर गाउँपालिका, प्रसौनी गाउँपालिका, फेटा गाउँपालिका र विश्रामपुर गाउँपालिकामा यो अभियान सञ्चालन गरिनेछ।  बारामा भने २९ असोज देखि अभियान सुरु हुँदैछ ।