14.4c Kathmandu, Nepal

Friday, April 17, 2026
७ महिना अगाडि

खरानीमा उड्यो संसारकै एक उत्कृष्ट आर्किटेक्ट भवन अर्थात् स्वास्थ्य प्रणालीको मुटु

काठमाडौँ  : गत भदौ २४ गतेको जेनजी आन्दोलनमा स्वास्थ्य सेवाको वर्तमान प्रणालीलाई ध्वस्त पारेको छ।

स्वास्थ्य सेवा विभागको विवरण अनुसार हालसम्म रामशाहपथमा रहेको संघीय स्वास्थ्य मन्त्रालयको भवनसँगै मन्त्रालय परिसरमै रहेको स्वास्थ्य आपतकालीन तथा विपद व्यवस्थापन इकाई (एचईओसी) पनि जलेर ध्वस्त भएको छ। यसले गर्दा मन्त्रालयको दैनिक कामकाजनै  खलबलिएको छ।

हालसम्म स्वास्थ्य सेवा विभागले युनिसेफको सहयोगमा संकलन गरेको विवरणमा स्थानीय तहमा ३७ वटा स्वास्थ्य संस्थाहरूमा क्षति पुगेको देखिएको छ। त्यसमा १५ वटा संस्थामा पूर्णरुपमा क्षति पुगेको छ। त्यसमध्ये १३ वटा खोपसँग सम्बन्धित संस्था रहेको बताइएको छ।

आन्दोलनमा सबैभन्दा बढी क्षति मधेश प्रदेशमा ९ वटामा भएको छ। यस्तै बागमती प्रदेशमा ८ वटा स्वास्थ्य संस्थामा क्षति पुगेको छ। कर्णाली र गण्डकी प्रदेशमा भने स्वास्थ्यका कुनै संस्थामा क्षति भएको छैन।

नेपालगञ्ज उपमहानगरपालिकामा रहेको स्वास्थ्य शाखा, औषधि स्टोर सबै जलेर नष्ट भएको छ। त्यहाँका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले २४ गते आगलागीमा परेर स्वास्थ्यका कार्यालय र स्टोर सबै जलेर नष्ट भएको बताए।

आन्दोलनका क्रममा प्रदेशका स्वास्थ्य मन्त्रालयदेखि नगरपालिका र गाउँ पालिकाहरूको भवनमा रहेका स्वास्थ्य शाखाहरूमा समेत क्षति भएको छ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टंक बराकोटीले भने’ हाम्रो संघीय स्वास्थ्य मन्त्रालयको भवन र त्यस परिसरमा रहेको एचईओसी भवन पूर्णरुपमा ध्वस्त भएको छ भने स्थानीयतहमा रहेका स्वास्थ्य शाखाहरू केहीमा आंशिक र केहीमा पूर्ण क्षति भएको छ।

खरानी भयो संसारकै एक उत्कृष्ट आर्किटेक्टको नमुना
२४ गतेको उक्त आन्दोलन र आगलागीले नेपालको स्वास्थ्य सेवा प्रणालीलाई खल्बलाएको मात्रै छैन नेपालमा रहेको संसारकै एक नमूना आर्किटेक्टलाई समेत खरानी बनाएको छ।

हाल रामशाहपथमा रहेको स्वास्थ्य मन्त्रालय रहेको भवन नेपालको स्वास्थ्य क्षेत्रको मुटु मात्रै थिएन यो एक नमूना आर्किटेक्ट पनि थियो। पिल्लरको प्रयोग नगरी ‘वाल सिस्टम’मा उक्त भवनको संरचना बनेको थियो।

नेपालको उक्त भवनसहित विश्वमा केवल नेपाल, पाकिस्तान र श्रीलंकामा मात्र यस्तै डिजाइनका भवन बनेका थिए। यो भवनलाई डिजाइन गर्ने व्यक्ति साधारण थिएनन्। फ्रान्सका विश्वप्रसिद्ध भवन डिजाइनर लुई कान थिए।

एउटै हल बनाए पनि हुने, छुट्टा-छुट्टै कोठा बनाए पनि हुने स्टाइलको इन्जिनियरिङमा उक्त भवन बनेको थियो। पछि फर्निचरको प्रयोग गरेर कोठाहरू छुट्याइएको थियो। 

एउटै पनि पिल्लरको प्रयोग नगरी बनाइएको हुँदा आर्किटेक इन्जिनियर पढ्ने विद्यार्थीहरू उक्त भवनको अध्ययन गर्न वेलावेलामा आउने गरेका थिए।

विशेषगरी यो भवनको इन्जिनियरिङ अध्ययनका लागि स्वीटजरल्याण्ड, डेनमार्क, अष्ट्रिया, नेदरल्याण्डलगायतका देशबाट विद्यार्थीहरू आउने गर्थे।

मुण्डाजस्तो रहेको माथिको डिजाइनमा वि.सं. २०५५/५६ सालतिर भौतिक संरचना थप गरेपछि भवनको मुख्य केही स्वरुप अलि हराएको थियो। 

यही कारण काठमाडौँ महानगरपालिका र सर्वोच्च अदालतले माथि थपिएको भाग भत्काउन भनेको थियो तर भत्काइएको थिएन। उक्त भवनबाट कुनै अर्को स्थानमा जान गाह्रो हुने खालको थिएन भने फर्निचरको प्रयोग गरेर कोठाहरू छुट्याइए पनि एक कोठाबाट गरिएको कुराकानी अर्को कोठामा सुनिँदैन थियो।

वि.सं. २०४५ र २०७२ सालको भूकम्पमा पनि यो भवनमा खासै क्षति भएको थिएन जसले गर्दा पिल्लर नरहेको यो ६० वर्ष पुरानो भवन अहिलेसम्म पनि उस्तै ठडिएको छ। तर गत भदौ २४ गतेको आगलागीका कारण उक्त भवन अब पूर्णरुपमा जलेर खरानीमा उडेको छ।

मन्त्रालयको इतिहास मात्रै होइन अहिले भएका कागजी डकुमेन्टहरू पनि खरानी भएपछि मन्त्रालय विभागको सहयोगमा काम गरिरहेको स्वास्थ्य सचिव डा. विकास देवकोटाले बताए।

‘अहिले मन्त्रालयको भवन र यहाँ रहेका हाम्रो कुनै पनि डकुमेन्टहरू छैन त्यसैले यहाँ भएका केही मिल्दा डकुमेन्टहरू विभागमा पनि हुने हुँदा विभागको सहयोग पनि लिएका छौँ भने हालका लागि मन्त्रालयकै परिसरमा रहेको स्वास्थ्य अनुसन्धान परिसरको भवनबाट काम चलाइरहेका छौँ’, सचिव डा. देवकोटाले भने।

पहिला परिवार नियोजन संघको भवनपछि भयो स्वास्थ्य मन्त्रालय

अमेरिकी सहयोग संस्था युएसआईडीको सहयोगमा बनाइएको उक्त भवन वि.सं. २०२३ सालमा उद्घाटन गरिएको थियो। सुरुमा यो भवन परिवार नियोजन तथा मातृ शिशु कल्याण योजनाका लागि बनाइएको भवन थियो।

 वि.सं. २०३९/४० देखि भने हाल टेकुस्थित स्वास्थ्य सेवा विभागमा रहेको स्वास्थ्य मन्त्रालय रामशाहपथमा रहेको हालको स्वास्थ्य मन्त्रालयको उक्त भवनमा सरेको थिय तर पुरै क्षेत्र भने मन्त्रालयले प्रयोग गरेको थिएन।

वि.सं. २०५० सालसम्म यो भवनको एक तलाबाट मात्रै मातृ शिशु कल्याण योजना चलेको थियो। पछि यो कार्यक्रम अन्तै सरेपछि भने यो भवनको पुरै क्षेत्र स्वास्थ्य मन्त्रालयले प्रयोग गर्दै आएको थियो।

सिंहदरबार बाहिर रहेको र एउटा नमुना इतिहास बोकेको उक्त मन्त्रालयले ७२ सालको भूकम्प, त्यसपछि देखिएको स्वास्थ्य समस्या  र शताब्दीकै डरलाग्दो महामारी मानिएको कोरोना महामारी यही भवनबाट सामना गरेको थियो।

यस्तै कोरोना महामारीभन्दा केही समय अघि विश्व स्वास्थ्य संगठनको सहयोगमा मन्त्रालयकै परिसरमा स्वास्थ्य आपतकालीन तथा विपद व्यवस्थापन इकाई (एचईओसी)को छुट्टै भवन बनाइएको थियो। जहाँबाट जस्तो सुकै आपतकालीन समय/बन्द हडताल/महामारी लगायतको समयमा पनि स्वास्थ्यकर्मीहरू त्यहीँ बसेर काम गर्थे।

२४ गतेको आन्दोलनको दिन पनि दिउँसो ३ बजेसम्म स्वास्थ्यकर्मीहरू एचईओसीको उक्त भवनमा बसेर अघिल्लो दिन भएको आन्दोलनका घाइतेहरूको उपचार र व्यवस्थापन गरिरहेका थिए तर त्यसको केही समयमा नै भवन पनि जलेर नष्ट भएको थियो।

हाल एचईओसीको भवन जलेरपछि स्वास्थ्यकर्मीहरू वीर अस्पतालको एउटा कोठाबाट काम गरिरहेका छन्। एचईओसीमा कार्यरत डा नवराज जोशीले भने, ‘२४ गते पनि हामीले दिनभर जसो त्यहीँ बसेर काम गरिरहेका थियौँ, बेलुका जलेर नष्ट भयो, अहिले वीर अस्पतालको एउटा कोठाबाट काम गरिरहेका छौँ।’