14.4c Kathmandu, Nepal

Monday, April 27, 2026
७ महिना अगाडि

स्वास्थ्यमन्त्री बन्दै डा.रामजी राम !

डा.रामजी राम स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्ने भएका छन् । अन्तरिम सरकारका प्रधानमन्त्री सुशिला कार्कीले तेस्रो पटक मन्त्रिपरिषद गर्नेक्रममा जेनजीको प्रतिनिधित्व हुनेगरी डा.रामजी रामलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी प्रदान गर्न लागेकी हुन् । डा.रामजी रामको सपथ सोमवार हुने छ । रामजी राम रौतहट जिल्लाकै चमार समुदायबाट पहिलो डाक्टर हुन् ।

रौतहटको गढीमाई नगरपालिका–९ का ३० वर्षीय रामजी राम चमार एक अत्यन्त साधारण र गरीब परिवारमा जन्मिए । बाल्यकाल खेतबारी र गरिबीको चपेटामा बित्यो, तर उनले बाल्यकालदेखि नै ठूलो सपना देखे – “हामी पनि कलम समात्न सक्छौं।”\

जातीय विभेद र आर्थिक अभावबीच उनले पढाइ जारी राखे । एसएलसीमा प्रथम श्रेणी, त्यसपछि विज्ञान विषय पढ्दै १८ घण्टा पढ्ने बानी बसाले । ट्युशन पढाएर खर्च जुटाए, कहिले पानीमा टाउको डुबाएर निद्रा भगाए ।

२०७० सालमा पहिलो पटक एमबीबीएस प्रवेश परीक्षामा असफल भए । दोस्रो र तेस्रो प्रयासपछि सरकारी छात्रवृत्तिमा एमबीबीएस अध्ययन गर्ने अवसर पाए । तर किष्ट मेडिकल कलेजले १५ लाख माग्दै उनलाई भर्ना गर्न मानेन । उनले सर्वोच्च अदालतसम्म गुहार गरे र नेशनल मेडिकल कलेज, वीरगञ्जमा भर्ना हुने आदेश पाए ।

तर समस्या त्यतिमा टुंगिएन— कलेजले बारम्बार शुल्क माग्दै परीक्षा फारम भर्नबाट रोक्यो । अन्ततः उनले ‘रुटिन अफ नेपाल बन्द’ नामक फेसबुक पेजमार्फत सहयोग मागे र २० लाख रुपैयाँ संकलन भयो । त्यसकै भरमा अध्ययन पूरा गरे ।

२०७९ सालमा उनले एमबीबीएस पास गरे र नेपाल मेडिकल काउन्सिलको लाइसेन्स परीक्षा सफलतापूर्वक उत्तीर्ण गरे । आज उनी रौतहटको चन्द्रनिगाहपुर अस्पतालमा सेवारत छन् – चमार समुदायका पहिलो डाक्टरका रूपमा ।

रामजी अहिले ‘समय शिक्षा अभियान’ सञ्चालन गर्दै रौतहटका सात गाउँमा ५०० भन्दा बढी बालबालिकालाई निःशुल्क ट्युशन दिइरहेका छन् । आफ्नो तलबको केही हिस्सा समाज सुधारमा खर्च गर्छन् । दुःख, पीडा र अभावसँग संघर्ष गर्दै डाक्टर बनेका उनै रामजी रामले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाउन लागेका हुन् ।