14.4c Kathmandu, Nepal

Monday, April 27, 2026
७ महिना अगाडि

‘नो पे नो वर्क’ भन्दै सेती अस्पतालका कर्मचारी आन्दोलित

कैलाली – सुदूरपश्चिम प्रदेशअन्तर्गतका दुई ठूला अस्पतालमा कार्यरत करार सेवाका कर्मचारी भत्ता नपाएपछि आन्दोलित भएका छन्। कैलालीस्थित सेती प्रादेशिक अस्पतालका करार कर्मचारीहरूले चाडपर्व भत्ता, पोसाक भत्ता र महङ्गी भत्ता नपाएको भन्दै आन्दोलन थालेका हुन्।

करार कर्मचारीहरूले सोमबार सामाजिक विकास मन्त्रालयको कार्यालय अगाडि धर्ना दिएका छन्। उनीहरूले आफूहरूले वर्षौँदेखि सेवा दिँदै आए पनि नियमित कर्मचारी सरह सुविधा नपाएको भन्दै असन्तुष्टि जनाएका छन्।

आन्दोलनमा सहभागी कर्मचारीहरूले ‘नो पे नो वर्क’, ‘चाडपर्व खर्च खोई’ लगायतका नारा लेखिएका प्लेकार्ड समेत बोकेका थिए। उनीहरूले भत्ता नपाइँकन काम गर्न नचाहने संकेत दिएका छन्।

यो समस्या केवल सेतीमा मात्रै होइन, प्रदेश मातहतकै महाकाली अस्पतालमा पनि छ। त्यहाँ कार्यरत करार कर्मचारीहरू पनि दसैंअघिदेखि नै आन्दोलित छन्। उनीहरूले माग पूरा नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिएका छन्।

आन्दोलनरत कर्मचारीहरूले दुबै अस्पतालमा समान नीति र समान सुविधा लागू गर्न माग गरेका छन्। उनीहरूका अनुसार नियमित कर्मचारीले सबै भत्ता पाउँदा करार सेवाका कर्मचारीलाई विभेद गरिँदै आएको छ।