14.4c Kathmandu, Nepal

Monday, April 27, 2026
६ महिना अगाडि

न्यूनतम सुविधाप्रति सिन्धुलीका नर्सको ऐक्यबद्धता

कात्तिक १३ गते । नेपाल नर्सिङ सङ्घको आह्वानमा भइरहेको आन्दोलनमा सिन्धुली जिल्लाको स्वास्थ्य संस्थामा कार्यरत नर्सहरुले बिहिबार दुई घण्टा काम रोकेर प्रदर्शन गरी ऐक्यबद्धता जनाएका छन् ।

जिल्लाकै सबैभन्दा ठूलो स्वास्थ्य संस्था ‘सिन्धुली अस्पताल’मा कार्यरत नर्सले बिहान १० बजेदेखि १२ बजेसम्म अत्यावश्यक बाहेकका काम रोकेर विभिन्न मागका हातमा प्लेकार्ड बोकी प्रदर्शन गरी ऐक्यबद्धता जनाएका हुन् । नर्सको न्यूनतम सुविधाको व्यवस्था हुनुपर्ने भन्दै नेपाल नर्सिङ सङ्घको आह्वानमा भएको आन्दोलनप्रति उनीहरुले ऐक्यबद्धता जनाएका हुन् ।  

आन्दोलनमा सहभागि नर्सहरुले ‘हाम्रो श्रम सस्तो छैन, हाम्रो श्रमको सम्मान गर’, ‘हाम्रो श्रमको मूल्य देउ,’ ‘सेवामा सधै अघि, सम्मानमा किन पछि’, हाम्रो मिहेनतको मूल्य चाहिन्छ’ जस्ता प्लेकार्ड सहित अस्पतालको प्राङ्गणमा धर्ना दिएका छन् । 

सिन्धुली अस्पताल विकास समितिका अध्यक्ष शतिषचन्द्र ढकालले केन्द्रको आह्वानमा भएको नर्सहरुको आन्दोलनले अस्पतालको सेवा प्रभावित भएको बताउनुभयो । नर्सहरुले बुधबारदेखि दुई घण्टा सेवा रोकेर आन्दोलन सुरु गरेको र उनीहरुको जायज मागप्रति सम्बन्धित निकायले सुनुवाई गरी पुरा गर्नु पर्ने बताउनुभयो ।

नर्सको श्रम शोषण भइरहेको हुँदा नेपाल नर्सिङ सङ्घको आह्वानमा देशभर आन्दोलन भएको र त्यसै अनुसार सिन्धुलीमा पनि आन्दोलन थालिएको अस्पतालमा कार्यरत नर्स समिक्षा देवकोटाले बताउनुभयो । अस्पतालमा कार्यरत सबै नर्सहरुले मङ्गलबारसम्म हातमा कालो पट्टी बाँधेर सेवा गरेको पनि उहाँले बताउनुभयो ।