14.4c Kathmandu, Nepal

Sunday, December 7, 2025
४ हप्ता अगाडि

जिल्ला अस्पताल बर्दिया फेरि पनि पहिलो, प्रदेशस्तरीय मूल्यांकनमा उत्कृष्ट प्रदर्शन

लुम्बिनी प्रदेश सरकारको आव २०८१ /८२ को प्रदेशस्तरीय मूल्यांकनमा जिल्ला अस्पताल बर्दिया यस वर्ष पनि पहिलो स्थानमा रहन सफल भएको छ । स्वास्थ्य कार्यक्रमहरूको सफल कार्यान्वयन र विभिन्न सूचकहरूको आधारमा गरिएको मूल्यांकनमा बर्दिया अस्पतालले प्रदेशका जिल्लास्तरीय अस्पतालहरूबीच उत्कृष्ट प्रदर्शन गर्दै पहिलो स्थान हासिल गरेको हो ।

यस वर्षको प्रदेशस्तरीय वार्षिक समीक्षा कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेम सारु, लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव दुर्गालक्ष्मी श्रेष्ठ लगायतले अस्पतालका प्रमुख डा.सुवास पाण्डेलाई प्रथम स्थानको प्रमाणपत्र प्रदान गर्नुभएको हो ।

अस्पतालका प्रमुख डा.सुवास पाण्डेले टिम वर्क र पारदर्शिताको कारणले बर्दिया अस्पतालले यो उत्कृष्टता हासिल गर्न सफल भएको बताउँदै निरन्तरको सफलताका लागि अस्पतालका सम्पूर्ण स्वास्थ्यकर्मी तथा कर्मचारीहरूलाई धन्यवाद व्यक्त गर्नुभएको छ। डा.पाण्डेले अनेक समस्याका बाबजुद अस्पताल प्रदेशमा पहिलो भएकोमा खुसी समेत व्यक्त गरे ।

अस्पताल गत आर्थिक वर्षमा समेत प्रदेशभरका १३ अस्पतालहरुमध्य पहिलो भएको थियो । यस वर्ष ७०.२४ प्रतिशत अंकका साथ बर्दिया अस्पतालले प्रथम स्थान हासिल गर्दा ६९.७४ प्रतिशत अंकंका साथ अर्गाखाची अस्पताल दृतिय र ६८.७४ प्रतिशत अंकका साथ लुम्बिनी प्रादेशिक अस्पताल तेस्रो स्थान प्राप्त गर्न सफल भएका छन् ।

मूल्यांकन १२ वटा प्रमुख सूचक (ranking indicators) का आधारमा गरिएको हो । ती सूचकहरूमा अस्पतालहरूको सेवा, पारदर्शिता, वित्तीय प्रगति र प्रतिवेदन प्रणालीमा आधारित कार्यक्षमता लगायत समावेश छन् ।