14.4c Kathmandu, Nepal

Thursday, March 12, 2026
४ महिना अगाडि

स्वः पन्नालाल गुप्ताको जन्मजयन्तीमा पत्रकारहरुको ‘मुटु’ जाँच गरिँदै

बाँकेका पत्रकारहरुका लागि आज विहान निःशुल्क मुटु चेकजाँच शिविर आयोजना गरिएको छ । प्रेस स्वतन्त्रता सेनानी, नेपाल पत्रकार महासंघ बाँकेका पूर्व सभापति तथा नेपाल प्रेस युनियनका संस्थापनक अध्यक्ष स्वः पन्नालाल गुप्ताको ९७ औं जन्मजयन्तीको अवसरमा विहान साढे ७ बजे भेरी अस्पतालमा निःशुल्क मुटु चेकजाँच शिविर आयोजना गरिएको हो ।

नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजना, भेरी अस्पतालको प्राविधिक सहयोग तथा प्रेस युनियन बाँके शाखा र स्वः पन्नालाल गुप्ता प्रतिष्ठानको समन्वयमा शिविर आयोजना गरिएको महासंघ बाँके शाखा अध्यक्ष नवीन गिरीले जानकारी दिए ।

गुप्ताको जन्मजयन्ती भदौं २७ को अवसरमा शिविर राख्ने तयारी भएपनि मुलुकको विषम परिस्थितिका कारण अन्तिम समयमा आएर स्थगित हुन पुगेको थियो । अध्यक्ष गिरीले निःशुल्क मुटु चेकजाँच शिविरका लागि एक सय बढी पत्रकारले नाम दर्ता गराएका छन् । महासंघले त्यसका लागि शिविर अगाडि नै मुटु जाँचका लागि सार्वजनिक आव्हान गरेको थियो ।

पत्रकारहरू निरन्तर समाजका दुःख, समस्या र आवाजलाई बाहिर ल्याउने अग्रपंक्तिका योद्धा हुन्। तर धेरैजसोले आफ्नो स्वास्थ्यलाई बेवास्ता गर्ने गर्छन्। आजको शिविरले त्यही बेवास्ता कम गर्ने र स्वास्थ्य सचेतना बढाउन महत्वपूर्ण कदम चाल्ने अध्यक्ष गिरीले बताए ।

उनले भने-‘पत्रकारहरूको निःशुल्क मुटु स्वास्थ्य जाँच शिविर केवल स्वास्थ्य परीक्षणको कार्यक्रम मात्र नभएर बढ्दो नसर्ने रोगको प्रभाव न्यूनीकरणमा सचेतना जगाउने सन्देश दिन पनि हो ।’

‘गुप्ताले कुनै कठिनाइ वा दबाबका अगाडि नझुकी सत्य र जनताको पक्षमा कलम चलाउनु भएको थियो नेपाल पत्रकार महासंघ लुम्विनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाइँले भने-‘ जसले आजको स्वतन्त्र पत्रकारिताको जग बलियो बनाउन मद्दत गर्यो ।’

पत्रकारिताको क्षेत्रमा गुप्ताले देखाएको साहस, समर्पण र त्याग आजको पुस्ताका लागि प्रेरणाको स्रोत भएको प्रेस युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकालले बताए । नेपालगन्जको पत्रकारितामा छुट्टै पहिचान बनाएका गुप्ताले ‘किरण साप्ताहिक’को सम्पादक रहेर लामो समय पत्रकारिता गरेका थिए ।