14.4c Kathmandu, Nepal

Sunday, April 12, 2026
५ महिना अगाडि

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टंक बाराकोटीले स्वास्थ्य सेवाबाट दिए राजीनामा

काठमाडौं- स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टंक बाराकोटीले स्वास्थ्य सेवाबाट राजीनामा दिएका छन्। उनले स्वास्थ्य र पारिवारिक कारण देखाउँदै शुक्रबार राजीनामा दिएका हुन्। 

उनले भने,  ‘स्वास्थ्य र पारिवारिक कारण राजीनामा दिएको छु। मन्त्रिपरिषद्को स्वीकृत कुरिरहेको छु।’

अतिरिक्त सचिवका रुपमा कार्यरत उनले गत फागुनमा महानिर्देशकको जिम्मेवारी सम्हालेका डा. बाराकोटीले झण्डै ९ महिना विभागमा रहे। उनीभन्दा अघि उक्त पदमा रहेका डा. विकास देवकोटा स्वास्थ्य सचिवमा बढुवा भएपछि विभाग प्रमुखको पद खाली भएको थियो। सोही पदमा मन्त्रालयले डा. बाराकोटीलाई पठाउने निर्णय गरेको थियो।

२५ वर्षभन्दा बढी समय सरकारी सेवामा बिताएका डा. बाराकोटी बालरोग विशेषज्ञका रूपमा परिचित छन्। उनले आफ्नो पेशागत जीवनको अधिकांश समय झापा र विराटनगर क्षेत्रका अस्पतालमा सेवा प्रदान गर्दै बिताएका थिए। 

तेह्रथुममा जन्मिएका र बाल्यकाल झापामा बिताएका डा. बाराकोटीले ल्याब टेक्निसियनबाट सुरु भएको आफ्नो यात्रा मेहनत र इमान्दारिताको प्रतिफलका रूपमा महानिर्देशकसम्म पुर्याएको बताउँदै आएका छन्। उनले चिकित्सा अध्ययन संस्थान (न्याम्स)बाट बालरोगमा एमडी गरेका हुन् र मेची अस्पतालका मेडिकल सुपरिटेन्डेन्टका रूपमा लामो समय काम गरेका थिए।

उनको कार्यकालमा विभागमा नीति र सेवाको कार्यान्वयनमा स्थिरता देखिएको स्वास्थ्य मन्त्रालयका स्रोतहरू बताउँछन्। महानिर्देशकका रूपमा पनि उनले ‘इमान्दार प्रशासनिक सेवा र यथार्थमा आधारित निर्णय’लाई प्राथमिकता दिएको बताएका थिए।