14.4c Kathmandu, Nepal

Monday, September 14, 2026
१० महिना अगाडि

वडा–वडामा आँखा जाँच : मोतियाबिन्दु भएका ३२ को शल्यक्रिया

मदाने गाउँपालिकामा सञ्चालन भएको आँखा उपचार शिविर ।

रेसुङ्गा (गुल्मी), मङ्सिर ६ गते । गुल्मीको मदाने गाउँपालिका, नेपाल नेत्रज्योति संघ आँखा उपचार तथा शल्यक्रिया केन्द्र तम्घास र मदाने आँखा उपचार केन्द्र पुर्कोटदहको संयुक्त आयोजनामा तीन सय जनाको आँखाको जाँच गरिएको छ । मदाने आँखा उपचार केन्द्र पुर्कोटदहले वडा–वडामा आँखा जाँच गरेको थियो । जसमा ३२ जना मोतियाबिन्दुको समस्याहरुको निःशुल्क शल्यक्रिया पनि गरिएको छ ।

आर्थिक अभावको कारण उपचार गर्न नसकेर मोतियाबिन्दुको समस्या झेलेर घरमै बसिरहेका मदाने गाउँपालिकाका नागरिकलाई गाउँमै उपचारको व्यावस्था गर्न शिविरको आयोजना गरिएको मदाने गाउँपालिकाका स्वास्थ्य संयोजक तिर्थराज पन्थीले जानकारी दिनुभयो । यो गाउँपालिकाको नियमित कार्यक्रमअन्तर्गत गरिएको हो ।

आयोजकको तर्फबाट बिरामीलाई बस्ने ठाउँ र शल्यक्रियापछि घर जाने यातयातको व्यवस्था गरेको थियो । आँखा जाँच तथा शल्यक्रियाको काम लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान भैरहवामा कार्यरत नेत्र विशेषज्ञ डा. सविता मर्हजनको नेतृत्वमा नेपाल नेत्रज्योति संघ आँखा उपचार तथा शल्यक्रिया केन्द्र, तम्घासको टोलीले गरेको नेपाल नेत्रज्योति संघ आँखा उपचार तथा शल्यक्रिया केन्द्रका सूचना अधिकारी बिरबहादुर कार्कीले जानकारी दिनुभयो ।

मदाने आँखा उपचार केन्द्रले वडा–वडामा ३०० बढि नागरिकको आँखा जाँच गरेको कार्कीले बताउनु भयो । शिविरको समापन कार्यक्रममा मदाने गाउँपालिका प्रमुख महेन्द्र बहादुर कुवँर, उपप्रमुख सरिता खड्का, प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद पाण्डे, नेपाल नेत्र ज्योति सघ गुल्मीका अध्यक्ष अखिलेश्वर प्रसाद पाण्डे, सचिब पदम पाण्डेय, मदाने आँखा उपचार केन्द्रका अध्यक्ष सुनिल थापा लगायतको सहभागिता रहेको थियोे ।