
खोटाङ । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ की २७ वर्षीया रेस्मिका सिवा परियारको हत्याको आरोपमा एक जना पक्राउ परेका छन् । उनको हत्यामा संलग्न छिमेकी दिपक सार्की पक्राउ परेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
प्रारम्भिक अनुसन्धानका आधारमा ५–६ जनाको आपराधिक समूहले सहकारीमा काम सकेर घर फर्किंदै गरेकी रेस्मिकालाई सोमबार साँझ बाटोमै नियन्त्रणमा लिएर सामूहिक बलात्कार गरी हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक सुशान्त मिश्रले बताए ।
आरोपित दिपकले प्रहरीलाई बयान दिँदै घटनामा संलग्न अन्य व्यक्तिहरुको नामसमेत खुलाएका छन् । प्रहरीले फरार रहेकाहरुको खोजी गर्न थप टोली परिचालन गरिएकोले घटनामा संलग्न सबैलाई छिट्टै पक्राउ गरी कानुनी दायरामा ल्याइने प्रहरीको भनाइछ ।
स्थानीय अजम्बरी साना किसान कृषि सहकारी संस्थामा कार्यरत रेश्मिका बतासेको ह्याकुले र रमितेडाँडाको बीचमा पर्ने मार्से सामुदायिक वनमा भदौ–३० गते राति शङ्कास्पद अवस्थामा मृत फेला परेपछि प्रहरीले अनुसन्धानलाई अगाडि बढाएको थियो ।
रेस्मिकाको शवको मुचुल्का संकलन गरी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पोस्टमार्टम गरि बुधबार इटहरीको बुढिखोलामा दाह संस्कार गरिएको जनाएको छ ।