जनस्वास्थ्यविद्हरूका अनुसार फैलिँदो नसर्ने रोगहरूका कारण जनस्वास्थ्य प्रणालीमाथि नै चुनौती थपिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुख्यतः नसर्ने १० रोगहरूमा तीव्र गतिमा वृद्धि भइरहेको छ; जसमा मधुमेह, क्यान्सर, सीओपीडी, दम (दम), पुरानो मिर्गौला रोग, बाथ मुटु रोग, स्ट्रोकका केसहरू, हृदयघात र थाइरोइडजस्ता रोगहरू छन् ।
नेपालमा गत आर्थिक वर्ष २०८१/८२ मा मात्रै २६ लाख ७९ हजार ९८१ जनामा यी १० रोग देखियो । मन्त्रालयको तथ्यांकलाई केलाउँदा पछिल्लो समय सबैभन्दा धेरै उच्च रक्तचाप (ब्लडप्रेसर) पाइएको थियो ।
गत आव ०८१/८२ मा मात्रै १६ लाख ९२६ जनामा उच्च रक्तचाप देखिएको छ । गत आव २०८१/८२ मा दोस्रो नम्बरमा मधुमेहका बिरामी छन् । जसको संख्या ३ लाख १२ हजार ३७० जना छ ।
तेस्रोमा क्यान्सरका बिरामी (७६ हजार ३८४) छन् । त्यस्तै ३ लाख १० हजार ५२१ जनामा श्वासप्रश्वाससम्बन्धी सीओपीडी देखिएको छ । क्रमशः २ लाख ३० हजार जनामा दम, ४६ हजार ६६९ जनामा पुरानो मृगौला रोग, २२ हजार ५६९ जनामा बाथ मुटु रोग, ५ हजार ५५१ स्ट्रोकका केसहरू, ४ हजार २८२ जनामा हृदयघात र १ लाख ६७९ जनामा थाइराइड देखिएको छ ।
‘साइलेन्ट किलर’को रूपमा फैलिएका नसर्ने यो रोग बढ्नु चिन्ताको विषय भएको शहीद गंगालाल हृदय केन्द्रका पूर्वनिर्देशक तथा मुटु रोग विशेषज्ञ डा. चन्द्रमणि अधिकारी बताउँछन् । नसर्ने रोगबारे काम गरिरहेको संस्था नेपाल एनसीडी एलाइन्सका डा. मनिता प्याकुरेल भने नसर्ने रोगहरूमध्ये करिब ८० प्रतिशत रोकथाम गर्न सकिने खालका हुने बताउँछिन् । तर जीवनशैलीमा ध्यान नदिँदा समस्या जटिल बनेको उनको भनाइ छ ।

रहनसहन अर्थात् अस्वस्थ जीवनशैलीका कारण नसर्ने रोगहरूले डेरा जमाइरहेको जनस्वास्थ्यविद्हरू बताउँछन् ।
उच्च रक्तचाप
अघिल्लो वर्ष साढे चार लाख बढी उच्च रक्तचापका बिरामी थपिएका थिए । मन्त्रालयका अनुसार ०८०/८१ मा ११ लाख ४५ हजार ९२६ जनामा उच्च रक्तचाप देखिएको थियो, जुन बढेर ०८१/८२ मा १६ लाख नाघेको हो । मन्त्रालयका अनुसार ०७९/०८० मा यो रोगबाट ६ लाख ३० हजार २९९ जना पीडित थिए ।
मुटु रोग विशेषज्ञ डा. रिजु मानन्धर बदलिँदो जीवनशैली, अस्वस्थकर खानपान र बढ्दो तनावका कारण उच्च रक्तचापका बिरामी बढेको सुनाउँछन् । ‘पहिले ४०–५० वर्षको उमेरपछि देखिने यो समस्या आजकल ३० वर्षको उमेरदेखि नै देखिन थालेको छ, जुन अत्यन्तै चिन्ताको विषय हो,’ उनी भन्छन् ।
आधुनिक जीवनशैलीले मानिसलाई बढी आरामदायी र निष्क्रिय बनाएको छ । पहिलेको जस्तो शारीरिक हिँडडुल र व्यायामको कमीले गर्दा शरीरमा आलस्य बढेको छ, जसले रक्तचाप बढाउन मद्दत गरेको उनको जिकिर छ ।
प्राकृतिक र अग्र्यानिक खानेकुराको ठाउँमा बजारमा पाइने ‘जंक फुड’ र प्रशोधित खानेकुराको प्रयोग बढेको छ । छिटो र मिठो हुने यस्ता खानेकुराले शरीरलाई आवश्यक पोषण दिनुको सट्टा मोटोपना र रक्तचापजस्ता समस्या निम्त्याइरहेको डा. मानन्धरले बताए ।
मधुमेह
यस्तै तीव्र गतिमा मधुमेह रोग देखापरेको छ । ०७९/८० मा ३ लाख १२ हजार ३७० जना यसबाट पीडित हुँदा ०८०/८१ मा थपिएर ५ लाख ८४ हजार ३५२ जना पुगेका छन् । ०८१/८२ मा फेरि १ लाख ७२ हजार ८३० जना थपिएर ७ लाख ५७ हजार १८२ पुगेका छन् ।

क्यान्सर
उच्च रक्तचाप, मधुमेहपछि तेस्रो नम्बरमा तीन वर्षयताको आँकडालाई केलाउँदा क्यान्सर रोग देखापर्छ । ०७९/८० मा ७६ हजार ३ सय ८४ जनामा यो रोग देखिएको थियो भने ०८०/८१ मा २१ हजार ३ जनाबढेर ९७ हजार ३८७ जना पुगेको छ । क्यान्सर रोगपीडितको संख्या ०८१/८२ मा अझ बढेर ९७ हजार ५८७ पुगेको छ ।
कागेश्वरी मनोहरा नगर अस्पतालका कार्यकारी निर्देशक रामप्रसाद पौडेलका अनुसार क्यान्सर, मुटु रोग, मृगौला रोग, मधुमेह, उच्च रक्तचाप र श्वासप्रश्वासका रोगी वृद्धि हुनुमा अहिलेको रहनसहन र खानपान नै हो ।
‘आनुवंशिक कारणले हुने रोगहरू त छँदै छन्, तर अहिले विशेषगरी सहरी क्षेत्रमा बढी देखिएका औषधि मिसाइएका फलफूल, खाद्यान्नमा हुने मिसावट, प्रदूषित वातावरण, व्यस्त जीवनशैली र अत्यधिक तनाव प्रमुख कारक हुन्,’ निर्देशक पौडेल बताउँछन् । तनाव व्यवस्थापन गर्न नसक्नु र अव्यवस्थित रहनसहनले रोगहरूलाई बढावा दिएको पौडेल बताउँछन् ।
पहलिा ४०–५० वर्षभन्दा माथिका परिपक्व उमेर समूहका व्यक्तिहरूमा बढी देखिने यो रोग हाल जुनसुकै उमेर समूहकालाई देखिन थालेको डा. प्याकुरेल बताउँछिन् ।‘अहिले त उमेर समूहको कुरा नै छैन भन्दा पनि हुन्छ, युवा तथा केटाकेटीहरूमा समेत यी रोगहरू देखिन थालेका छन्,’ उनले भनिन् ।
काठमाडौँको अवस्थाले देशभरका सहरी क्षेत्रको प्रतिनिधित्व गर्ने हुँदा यो चिन्ताको विषय भएको उनले उल्लेख गरिन् ।
नेपालमा क्यान्सरका बिरामीको संख्या निरन्तर बढिरहेको छ । पूर्वाञ्चल क्यान्सर अस्पतालका निर्देशक अंकोलोजिस्ट डा. वीरेन्द्र यादव पनि जीवनशैली, खानपान र वातावरणीय कारक नै यसका प्रमुख कारण मान्छन् ।
उनका अनुसार वंशाणुगत क्यान्सरको प्रतिशत निकै कम (१०–१५ प्रतिशत) हुने गर्छ । अधिकांश क्यान्सरहरू ‘स्पोराडिक’ प्रकृतिका हुने र जसको निश्चित कारण भन्न नसकिए पनि विभिन्न जोखिम कारक तत्त्वहरू रहेका उनको भनाइ छ ।
पश्चिमा जीवनशैलीको नक्कल, ढिलो विवाह, ढिलो सन्तान जन्माउने प्रवृत्ति, व्यायामको कमी, मदिरा र धुम्र्रपानको अत्यधिक सेवन (विशेषगरी महिलाहरूमा मदिरा सेवन) जस्ता कारणले क्यान्सर बढ्ने गरेको डा. यादव तर्क गर्छन् । स्तन क्यान्सरको मामिलामा भने ढिलो विवाह र ढिलो सन्तान जन्माउनु कारण भएको उनले सुनाए ।
डा. यादवका अनुसार अग्र्यानिकभन्दा पनि तयारी, प्रशोधित र फ्रिजमा लामो समयसम्म राखिएका खानेकुरा खाँदा क्यान्सरको जोखिम बढ्ने गर्छ । त्यस्तै केमिकल, अत्यधिक चिल्लोले आमाशय र आन्द्राको क्यान्सर गराउने डा. यादवले बताए ।
यस्तै, वातावरणीय प्रदूषण पनि क्यान्सर वृद्धिको कारक बनेको छ । वायु प्रदूषण, धुम्रपानले फोक्सोको क्यान्सर बढाएको त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानका सहायक डिन तथा छाती रोग विशेषज्ञ डा. सन्तकुमार दास बताउँछन् ।
उद्योग कलकारखानाको विकाससँगै बढेका पेसागत जोखिमहरूले पनि क्यान्सर रोग बढाएका उनले बताए । जस्तैः घर बनाउने क्रममा प्रयोग हुने सिलिकन, क्रसरमा काम गर्ने मजदुरहरूमा सास फेर्दा फोक्सोको क्यान्सर, पिसाब थैलीको क्यान्सरजस्ता रोग लाग्ने सम्भावना हुन्छ ।
सीओपीडी
यस्तै, नेपालमा भयावह रूपमा फैलिएको रोगमध्ये मन्त्रालयको तथ्यांकअनुसार क्यान्सरपछि सीओपीडी हो । ०७९/८० मा १ लाख ८५ हजार ८५७ जनामा यो रोग देखिएको थियो । ०८०/८१ मा यो बढेर २ लाख ५९ हजार ११० पुगेको छ । ०८१/८२ मा ५१ हजार ४११ जना बिरामी थपिएर ३ लाख १० हजार ५२१ पुगेको छ ।
दम
यस्तै दमका बिरामी पनि नेपालमा ह्वात्तै बढेका छन् । ०७९/८० मा १ लाख २९ हजार ५०५ दमका बिरामी थिए भने ०८०/८१ मा बढेर एक लाख ८१ हजार २२६ पुगे । त्यस्तै १८ हजार ८०४ थपिएर ०८१/०८२ मा दुई लाख ३० जना पुगेका छन् ।

फोक्सोसम्बन्धी रोगहरूको पनि भयावह वृद्धि हुँदै गएको छ । सन् २०३० सम्ममा प्रमुख मृत्युको कारण फोक्सोसम्बन्धी रोग बन्ने आकलन गरिएको छ ।
छाती रोग विशेषज्ञ डा. दासका अनुसार श्वासप्रश्वास सम्बन्धी दीर्घकालीन रोगहरू (दमखोकी, सीओपीडी लगायत) नेपालमा मात्र नभई विश्वव्यापी रूपमा चिन्ताजनक दरमा बढिरहेका छन् ।
हाल मुटु र स्नायुसम्बन्धी रोग मृत्युको प्रमुख कारण रहे पनि सन् २०३० सम्ममा फोक्सोका रोगहरू नै पहिलो स्थानमा आउने प्रक्षेपण गरिएको छ । अन्य नसर्ने रोगहरूको संख्या या त स्थिर छ वा घट्ने क्रममा छ, तर दमखोकीजस्ता रोगहरू भने निरन्तर बढिरहेका छन् ।
विश्व स्वास्थ्य संगठनको प्रक्षेपणले सन् २०३० सम्ममा फोक्सोका रोगहरू मृत्युको प्रमुख कारण बन्ने देखाएको छ जुन हाल मुटु र स्नायुसम्बन्धी रोगहरूको स्थानमा आउनेछ ।
रोग बढ्नुका प्रमुख कारणहरूमा वायु प्रदूषण रहेको चिकित्सक डा. दास बताउँछन् । नेपालमा मात्र नभई विश्वभर बढ्दो प्रदूषणले फोक्सोको स्वास्थ्यमा गम्भीर असर पारिरहेको छ । पहिले चुरोट सेवनलाई मात्र दमखोकीका कारण मानिन्थ्यो, तर अहिले चुरोट नखानेहरूमा पनि यो समस्या देखिन थालेको उनले बताए ।
‘यसमा ‘सेकेन्ड ह्यान्ड स्मोकर’ अर्थात् चुरोट खाने व्यक्तिको नजिक बस्ने वा उसको धुवाँको सम्पर्कमा आउने व्यक्तिहरू पनि उत्तिकै जोखिममा पर्छन् ।’
धुम्रपान गर्नेहरूको कुल संख्यामा खासै परिवर्तन नआए पनि, महिला धुम्रपान गर्नेहरूको संख्या बढेकोले उनीहरूमा दमखोकीको समस्या बढी देखिन थालेको डा. दास बताउँछन् । यस्तै, गर्भवती महिलाले धुम्रपान गर्दा जन्मेका शिशुहरूमा समेत पछि दमखोकी लाग्ने सम्भावना बढ्ने अध्ययनहरूले देखाएको छ । उनीहरू गर्भमा हुँदा धुम्रपान गरिएको भएर ती बच्चाले भविष्यमा चुरोट नखाए पनि दमखोकी लाग्ने सम्भावना रहन्छ ।
जनचेतनाको कमीका कारण श्वासप्रश्वासका रोग वृद्धिको कारण भएको उनले सुनाए । डा. दासका अनुसार धेरै मानिसले सामान्य खोकी वा मौसमी एलर्जीको रूपमा लिने गर्छन् र दमखोकीको प्रारम्भिक लक्षणहरूलाई बेवास्ता गर्छन् । दीर्घकालीन रोगमा परिणत नभएसम्म उपचारमा सरिक हुँदैनन् ।
यस्तै, घरभित्र प्रयोग गरिने धूपबत्ती जस्ता वस्तुहरूले पनि फोक्सोमा समस्या ल्याउन सक्ने उनले बताए । बालबालिकामा बारम्बार हुने निमोनिया र अन्य फोक्सोको संक्रमण तथा कुपोषणले गर्दा फोक्सोको राम्रो विकास हुन नपाउँदा उनीहरूमा पछि दमखोकीको जोखिम बढ्ने विशेषज्ञ डा. दासको जिकिर छ ।
प्रक्षेपणअनुसार सन् २०५० सम्ममा विश्वव्यापी रूपमा र नेपालमा समेत मृत्युका प्रमुख पाँच कारणहरू नसर्ने रोग नै हुनेछन् । हाल नेपालमा मुटु रोगबाट ३० प्रतिशत, क्यान्सरबाट ९ प्रतिशत, श्वासप्रश्वाससम्बन्धी रोगबाट १० प्रतिशत र मधुमेहबाट ४ प्रतिशत मृत्यु हुने गरेको छ । व्यक्तिगत स्तरमा स्वस्थकर खाना छान्ने, खानेकुराको लेबल पढ्ने बानी बसाल्ने र नियमित व्यायाम गर्ने हो भने यो भयावह अवस्थालाई नियन्त्रण गर्न सकिने उनको जिकिर छ ।
डा. प्याकुरेलले प्रशोधित, चिल्लो, बढी नुन र चिनीयुक्त खानेकुरा (जंक फुड) को अत्यधिक प्रयोग प्रमुख समस्या भएको सुनाइन् । विशेषगरी तेललाई बारम्बार तताएर प्रयोग गर्दा उत्पन्न हुने ‘ट्रान्स फ्याट’ मुटु रोगको लागि निकै हानिकारक मानिन्छ ।
‘आधुनिक जीवनशैलीले मानिसलाई डेस्क पोटेटो (दिनभरि कुर्सीमा बसेर काम गर्ने) र (घरमा सोफामा बसेर समय बिताउने) बनाएको छ । दैनिक कम्तीमा ३० मिनेट मध्यम किसिमको व्यायाम नगर्नुले रोगको जोखिम बढाएको छ,’ डा. प्याकुरेलले भनिन् ।
चुरोट तथा सुर्तीजन्य पदार्थको सेवनमा चुरोट, बिँडी, गुट्खा जस्ता सुर्तीजन्य पदार्थको सेवन र अरूले गरेको धुम्रपानको असर पनि उत्तिकै खतरनाक भएको उनको भनाइ छ ।
स्राेतः राताेपाटी डटकम