
नेपाल औषधि उत्पादक संघ (एपोन)को आयोजनामा १० औं नेपाल फर्मा एक्स्पो २०२६ काठमाडौँमा हुने भएको छ ।
संघका अध्यक्ष विप्लव अधिकारीले फर्मा एक्स्पो मार्च १२, १३ र १४ (फागुन २८, २९ र ३०) गते भृकुटीमण्डप, काठमाडौंमा आयोजना गरिने तय भएको जानकारी दिनुभयो ।
उहाँका अनुसार एक्स्पो (प्रदर्शनी)मा घरेलु तथा अन्तर्राष्ट्रिय कम्पनीहरूलाई आफ्नो नयाँ उत्पादन, प्रविधि र सेवाहरू प्रदर्शन गर्ने अवसर प्रदान गर्ने छ ।
कार्यक्रम संयोजक तथा एपोनका महासचिव सन्तोष बरालले फर्मा एक्स्पोले देशको औषधि उद्योगलाई नयाँ प्रविधि र अन्तर्राष्ट्रिय स्तरका साझेदारीसँग जोड्ने मञ्च प्रदान गर्ने जानकारी दिदै औषधि उद्योगको सुदृढिकरणमा समेत टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले सहभागिताका लागि बुकिङ प्रक्रिया तत्काल सुरु गर्ने जनाएको छ। सहभागीलगायतका लागि प्रदर्शनी स्थलको नक्सा, शुल्क दर र अन्य प्राविधिक विवरणहरू क्रमशः उपलब्ध गराइने बताइएको छ।
प्रदर्शनी हरेक दुई वर्षमा आयोजना हुँदै आइरहेको छ । यसले औषधि उद्योगका उत्पादक, चिकित्सक, अनुसन्धानकर्ता र व्यवसायीहरूलाई एकै ठाउँमा ल्याई सहकार्य र नवप्रवर्तनका अवसर सिर्जना गर्ने उद्देश्य राखेको छ।