४ असार २०७८, शुक्रबार
३१ असार २०७७, बुधबार १२:२०

पाठेघरको मुखको क्यान्सर पत्ता लगाउन प्याप स्मेयर


प्याप स्मेयरकाे परिचयः-

यो पाठेघरको मुखको क्यान्सरको संक्रमण भए नभएको पत्ता लगाउने सामान्य तर जति नै प्रभावकारी विधि हो । यसमा पाठेघर र त्यसको मुखबाट निस्कने स्राव परीक्षण गरी संक्रमणको अवस्था पत्ता लगाउन सकिन्छ ।  यो परीक्षण सस्तो र छरितो पनि भएकाले नियमित रूपमा परीक्षण गरी समयमै रोगको बारेमा जानकारी पाउन सकिन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार महिलाहरूलाई सबैभन्दा बढी देखिने क्यान्सरहरूमध्ये पाठेघरको मुखको क्यान्सर दोस्रो नम्बरमा पर्दछ । नेपालमा हालसम्म पाठेघरको मुखको क्यान्सर भएका महिलाहरूको यकिन तथ्यांक उपलव्ध नभए तापनि भक्तपुर क्यान्सर अस्पतालको तथ्यांकअनुसार सो अस्पतालमा उपचारको लागि आउनेमध्ये २० प्रतिशतमा पाठेघरको मुखको क्यान्सर फेला पर्ने गरेको छ । अर्को तथ्यांकअनुसार विश्वमा हरेक वर्ष यो रोगबाट पाँच लाखभन्दा बढी महिलाहरू पीडित हुने गरेका छन् । तीमध्ये दुई लाखभन्दा बढीको मृत्यु हुने गरेको छ जसमध्ये ८५ प्रतिशत बिरामी नेपालजस्ता विकासोन्मुख मुलुकहरूमा रहेको अनुमान गरिएको छ ।

पाठेघरको मुखको क्यान्सर महिलाहरूमा हुने क्यान्सरमध्ये सबैभन्दा खतरनाक भए तापनि अरू क्यान्सरको तुलनामा सजिलै पत्ता लगाउन सकिने रोग हो । पाठेघरको मुखको क्यान्सर विशेषतः  हुमन पपिलोमा भाइरसको संक्रमणबाट हुने गर्दछ । यो भाइरस धेरैजनासँग यौन सम्पर्क सुरु गरेका महिलाहरू तथा सानै उमेरमा विवाह गरी बच्चा पाएका महिलाहरूमा बढी सक्रिय भएको देखिन्छ । त्यस्तै शरीरको प्रतिरोधात्मक क्षमता कमजोर भएका, धूमपानको लत बसेकामा यो भाइरसले संक्रमण बढी गरेको पाइन्छ । लामो समयसम्म (पाँच वर्षभन्दा बढी) हर्मोनयुक्त परिवार नियोजनका अस्थायी साधनहरू प्रयोग गर्ने महिलाहरूमा पनि यो क्यान्सरको खतरा हुन सक्दछ ।  त्यसैले हर्मोनयुक्त परिवार नियोजनका साधनहरू तीनदेखि चार वर्षको बीचमा केही समय रोकेर पुनः प्रयोग गर्नु राम्रो हुन्छ ।

कहिले गर्नुपर्दछ  ?

१. ३५ देखि ६० वर्ष उमेर पुगेका महिलाले वर्षको कम्तीमा एक पटक अनिवार्य रूपमा यो जाँच गर्नु पर्दछ ।

२. यो परीक्षण महिला ६ महिनाको फरकमा तीन पटक गर्नुपर्दछ । तीनै पटक परीक्षणमा  नेगेटिभ देखिएमा फेरि एक वर्षपछि परीक्षण गर्नुपर्दछ ।

महिनावारी रोकिइसकेपछि पनि नियमित रूपमा प्याप स्मेयर जाँच गर्नु आवश्यक छ । ६५ वर्षभन्दा माथिको महिलाहरूमा यदि अघिल्ला तीन वा सोभन्दा बढी जाँच नकारात्मक  छन् भने पोप टेस्ट रोक्न सकिन्छ । पछिल्लो समयमा सानो उमेरमा युवतीहरूमा यो क्यान्सर देखिन थालेकोले  २१ वर्षको उमेरदेखि नै यो जाँच गर्न प्रभावकारी देखिएको छ ।  यदि क्यान्सरबाहेकका अन्य कारणहरू जस्तै फाइवरोइव अटेरसको कारणसहित पाठेघर निकाल्ने अपरेसन गरिएको छ भने यी महिलाको नियमित रूपमा प्याप स्मेयर  जाँच गर्नु पर्दैन । तर क्यान्सरको कारणबाट पूरा अपरेसन गरिएको हो भने ती महिलाले नियमित रूपमा (वार्षिक रूपमा) आफ्नो प्याप स्मेयर टेस्ट गर्न आवश्यक हुन्छ ।

कसरी तयारी गर्ने ?

यो जाँचको नतिजा प्रभावकारी रूपमा पाउनको लागि गर्नुपर्ने महिलाले निम्न कुरामा ध्यान पु¥याउनु आवश्यक छ ।

  • यो जाँच गर्नुभन्दा ठीक दिन अगाडिदेखि यौन सम्पर्क गर्नु हुँदैन । योनीमा कुनै औषधि क्रिम, परिवार नियोजनको अस्थायी साधनको रूपमा प्रयोग गरिने क्रिम प्रयोग गर्नु हुँदैन ।
  • महिनावारी भइरहेको समयमा यो जाँच गर्नु हुँदैन ।
Tags :

प्रतिक्रिया दिनुहोस !