२५ श्रावण २०७९, बुधबार
१७ श्रावण २०७९, मंगलवार ०९:२२

अटिजम स्कूलमा पढ्दै बालबालिकासँगै अभिभावक


भरतपुरमा अटिजम स्कूल खुलेपछि बालबालिकासँगै अभिभावक पनि कक्षा लिन थालेका छन्।

चितवनको भरतपुर महानगरपालिका-३ न्यूरोडकी सविता सिग्देल सात वर्षीय छोरासँगै स्कूल जान थालेकी छन्। उनी आफू पढ्न होइन, छोरालाई पढ्न सघाउन स्कूल जाने गरेकी हुन्। “बच्चालाई बिहानी प्रार्थनामा सहभागी गराउन, तालीमका सामग्री सँगसँगै खेल्न, कलम समात्न र कोर्न लगाउन स्कूल जान्छु,” सिग्देल भन्छिन्।

उनका दुई छोरा छन्। जेठो छोरा हुर्किएसँगै सजिलै स्कूल जान थाल्यो। कान्छो छोरा हुर्किंदै गर्दा उनले फरक बानीव्यहोरा पाइन्। “अरूले भनेको कुरा नबुझ्ने, खालि रिसाउने गर्थ्यो। किन यस्तो व्यवहार देखाउँछ भन्ने भइरहन्थ्यो,” उनले भनिन्। त्यसपछि उनले जाँच गराउन काठमाडौंको कान्ति बाल अस्पताल लगिन्। पाँच वर्ष नपुगेकाले ‘आईक्यू टेस्ट’ गर्न नमिल्ने भन्दै चिकित्सकले घर फर्काए।

त्यही वेला उनले अटिजमबारे पहिलो पटक सुनेकी हुन्। त्यति वेला उनलाई अटिजम र सुस्त मनस्थिति एउटै जस्तो लागेको थियो। पाँच वर्ष पुगेपछि उनले फेरि कान्ति बाल अस्पताल पुर्‍याइन्, ‘आईक्यू टेस्ट’ गर्दा अटिजम भएको निर्क्योल गरियो। “अटिजम भएको बच्चा सुस्त मनस्थितिको भन्दा बढी सक्रिय हुने रहेछन्,” सिग्देल भन्छिन्, “बाबु त हिंड्न, घुम्न र नाच्न खूब मन पराउँछ।”

अटिजम भएको थाहा पाएपछि उनले छोरालाई मन्टेश्वरीमा भर्ना गरेकी थिइन्। मन्टेश्वरीमा राख्दा स्थिर भएर बस्न नसकेपछि घरमै राखिन्। अहिले भरतपुर बालमन्दिर अटिजम विशेष विद्यालय स्थापना भएपछि छोरासँगै विद्यालय जान थालेको उनी बताउँछिन्।

त्यस्तै, भरतपुर-१५ शिवनगरकी माया कँडेल पनि छोरासँगै स्कूल जाने गरेकी छन्। उनले त घरमा छोराको हेरचाह गर्न भरतपुर आँखा अस्पतालको जागीर नै छोडिन्। उनले सात वर्षीय छोरा दृष्टान्तलाई छोरीसँगै मन्टेश्वरी पठाउने कोशिश पनि गरेकी थिइन्। “छोरीलाई केही समस्या छैन, छोरालाई सानो छँदा दम लाग्ने समस्या थियो,” कँडेलले भन्छिन्, “तीन वर्षको भएपछि मन्टेश्वरी पठाएँ, ६ महीनाजसो गएको थियो। पछि मन्टेश्वरी जान मानेन, घरमै हेरचाह गर्न जागीर छोडें।”

दृष्टान्तले एक पटक गैंडा देखेका थिए। पछि भने जति वेला पनि ‘गैंडा आयो भन्दै लठ्ठी लिएर लखेट्न खोज्ने, डराउने, स्कूल जानै नमान्ने’ भएको उनले बताइन्। त्यसपछि उनलाई कान्ति बाल अस्पतालमा लगिएको थियो। पूरै स्वास्थ्य जाँच गर्दा सामान्य पाएपछि ‘एन्जाइटी’ होला भनेर डर कम गर्ने औषधि दिइयो।

जब उनी पाँच वर्षका भए, फेरि कान्तिमै जाँच गरियो। “अटिजम भएको रहेछ,” उनी भन्छिन्। दुई वर्ष घरमै बसेर हेरचाह गरेकी उनी अहिले भने छोरासँगै अटिजम विद्यालय जान थालेको बताउँछिन्।

विद्यालय जान थालेपछि छोराको व्यवहारमा केही परिवर्तन आएको उनको अनुभव छ। “विद्यालयमा अरू बालबालिकासँग घुलमिल हुने र सिक्ने वातावरण मिलेको छ,” उनी भन्छिन्।

भरतपुर र आसपासका अटिजम भएका बालबालिकालाई भरतपुर महानगरपालिका-१० स्थित अटिजम विद्यालयले राहत दिएको छ। गत भदौमा स्थापना भएको यो विद्यालयमा अहिले ३० जना विद्यार्थी नियमितजसो आउने गरेका छन्। यो विद्यालयको ४० जना विद्यार्थी राखेर सिकाउने क्षमता छ।

अटिजम भएका बालबालिकाको क्षमता तथा अवस्था फरक फरक हुने भएकाले शुरूआतमै उनीहरूको लेखाजोखा गरेर कसरी सिकाउने भन्ने तय गर्नुपर्ने विशेष स्कूल तथा पुन:स्थापना केन्द्रकी संस्थापक एवं अध्यक्ष सविता उप्रेती बताउँछिन्। सामान्यको तुलनामा अटिजम भएका बालबालिकालाई सिकाउन धेरै समय दिनुपर्ने भएकाले सिकाउन धैर्य चाहिने उनको भनाइ छ।

यसका लागि अभिभावकले पनि तालीम लिनुपर्ने उनी बताउँछिन्। “अरू बच्चाहरू जस्तो पढ्न, लेख्न सिकाउने भन्ने हुँदैन। शिक्षक, अभिभावकले पनि तालीम लिनुपर्छ,” उप्रेती भन्छिन्, “शुरूमा आफ्नो सरसफाइ गर्ने जस्तो आफैं गर्नुपर्ने दैनिक क्रियाकलाप सिकाउनपर्छ। ती सबै दोहोर्‍याई, तेहर्‍याई सिकाउनुपर्छ।” त्यसैले पनि अभिभावक पनि बालबालिकासँगै स्कूल जाने गरेका छन्।

सहयोग माग्दा विद्यालय

अटिजम भएका बालबालिकाका अभिभावक मिलेर अटिजम केयर सोसाइटी स्थापना गरेका थिए। उनीहरूले भरतपुरमा घरभाडामा लिएर बालबालिकालाई सिकाउने, तालीम दिने गरिरहेका थिए। त्यसै क्रममा केही सहयोग लिन महानगर पुगेका थिए।

त्यही वेला विद्यालय स्थापनाका विषयमा छलफल भयो। “त्यो समयमा महानगरमा विद्यार्थी कम भएका विद्यालय नजिकका अर्को विद्यालयमा गाभ्ने कार्य शुरू गरिरहेका थियौं,” महानगरको शैक्षिक प्रशासन महाशाखा प्रमुख महेन्द्रप्रसाद पौडेल भन्छन्, “त्यही क्रममा बालमन्दिर आधारभूत विद्यालयलाई नारायणी नमूना माविमा गाभ्ने र त्यस ठाउँमा अटिजम विद्यालय स्थापना गर्ने एउटै निर्णयबाट विद्यालय स्थापना भएको हो।”

त्यसपछि नेपाल बाल संगठनसँग सम्झौता गरेर महानगरले यो विद्यालय सञ्चालन गरेको हो। अहिले विद्यालयमा दुई शिक्षक, एक आया र एक कार्यालय सहयोगी छन्।

अटिजम विद्यालय स्थापना भएपछि पुरानो भौतिक संरचनालाई मर्मतसम्‍भार गरिएको बाल संगठनका सभापति रविकिरण पौडेल बताउँछन्। विद्यालयको शौचालय अटिजम भएका बालबालिकाको आवश्यकता अनुसार बनाइएको छ।

कसरी हुन्छ पढाइ?

अन्य सरकारी विद्यालय जस्तै अटिजम विद्यालय पनि बिहान १० बजेबाट दिउँसो ४ बजेसम्म सञ्चालन हुन्छ। एक पटक विद्यार्थीलाई खाजा दिइन्छ। “सरकारले आधारभूत विद्यालयलाई दिने सुविधा यो विद्यालयमा पनि उपलब्ध छ,” सभापति पौडेल भन्छन्, “अरू बालबालिका जस्तो एक वर्षमा एउटा कक्षा सकिने भन्ने हुँदैन। सिकाइरहनुपर्ने र सिकाइ अलि लामो समयको हुनुका साथै अभिभावक पनि प्रत्यक्ष सहभागी हुनुपर्छ।”

सविता उप्रेती, विद्यालयकी अध्यक्ष।
त्यसैले बालबालिकालाई विद्यालयमा भर्ना गर्नुअघि अभिभावकसँगै साढे दुई महीना तालीम दिइन्छ। यसका लागि १० हजार रुपैयाँ  तिर्नुपर्छ। त्यस बाहेक अन्य केही शुल्क तिर्नु पर्दैन। तालीमका क्रममा बालबालिकालाई ध्यान केन्द्रित गराउने, पठनपाठनका सामग्री साथै खेलौना समात्न लगाउने गरिन्छ।

तालीम सकिएपछि ध्यान केन्द्रित गर्न सक्ने बालबालिकालाई कक्षाकोठामा राखेर पालैपालो गरी शिक्षिकले अक्षर कोर्न, रङ भर्न, उच्चारण गर्न सिकाउँछन्। एउटा बच्चालाई कति वर्षसम्म पढाइरहने, कस्तो पाठ्यक्रममा आधारित रहेर पढाउने भनेर कोर्स निर्माण गर्ने काम भइरहेको सभापति पौडेलले बताए।

बालबालिकालाई भर्ना गर्दा लेखाजोखा गरेर क्षमता, प्रतिभा, आवश्यकता अनुसार प्रत्येक बालबालिकाको व्यक्तिगत पाठ योजना तयार गरेर सिकाउनुपर्ने उप्रेती बताउँछिन्। यो विद्यालयमा पढाएपछि अटिजम भएका बालबालिका पनि अन्य बालबालिका जस्तै माथिल्लो कक्षमा अन्य विद्यालय पढ्न सक्ने हुन्छन्।

“कुनै बच्चाहरू चाँडै सिकेर, सुधार भएर ६ महीनामा नै मूलधारका विद्यालयमा गएर अरू बच्चासँगै पढिरहेका छन्। कुनै बच्चालाई धेरै समय लाग्ने गरेको छ,” आफ्नो अनुुभव सुनाउँदै उनी भन्छिन्, “जति सानो उमेरमा बच्चालाई ध्यान दिएर सिकाइन्छ, त्यति नै चाँडै सुधार भएको पाएकी छु।”

अटिजम भएका बालबालिकालाई घरमा अभिभावकले तालीम लिएर सिकाउने, विद्यालयलमा शिक्षकले सिकाउने र विशेषज्ञबाट थेरापीको माध्यमबाट उपचार गरेर सिकाउनुपर्ने उनी बताउँछिन्। कुनै बालबालिकालाई व्यक्तिगत रूपमै हेरचाहको आवश्यकता पर्ने भएकाले एकै शिक्षकले धेरै जना विद्यार्थीलाई सम्हाल्न र सिकाउन नसक्ने उनको अनुभव छ। शिक्षक र सहयोगी अलि बढी नै चाहिने भएकाले यस्ता विद्यालय राज्यले नै खोल्नुपर्ने उनी बताउँछिन्।

यससँगै विद्यालयमा पनि बालबालिकालाई सक्षम बनाउन सहयोग पुग्ने उनीहरूको सङ्ख्या अनुसारका पूर्वाधार, शिक्षक, सिकाइ सामग्री, शैक्षिक सामग्रीको व्यवस्था गर्नुपर्ने उनको भनाइ छ।

महानगरपालिका केन्द्रित गरेर स्थापना गरिएको विद्यालयमा अहिले अभिभावकले नै विद्यार्थी ल्याउने र लैजाने गर्नुपर्छ। विद्यालय स्थापना भएपछि अभिभावक पनि खुशी भएका छन्। अन्यत्रबाट पनि विद्यालयबारे बुझ्न अभिभावक सम्पर्कमा आउने क्रम बढेको छ।source- himalkhabar



प्रतिक्रिया दिनुहोस !