२५ श्रावण २०७९, बुधबार
३१ जेष्ठ २०७९, मंगलवार १७:२४

एउटा स्वास्थ्य संस्था, जसले ३४ वर्षदेखि बिरामीलाई निःशुल्क सेवा दिइरहेकाे छ


काठमाडौं–२०४२ सालतिर मिसन अस्पताल शान्त भवन सानेपामा रहँदासम्म स्थानीयबासी ढुक्क थिए। उपचार सुविधा टोलमै पाइन्थ्यो। तर सरकारले अस्पताल पाटनमा सारेपछि सामान्य उपचारका लागि टाढा धाउनुपर्ने पिरलो भयो। स्थानीय अगुवाहरुले सल्लाह गरे–टोलमा एउटा स्वास्थ्य संस्था खोलौं।

प्रारम्भिक उद्धेश्य थियो–अरु केही नभए पनि घाउचोटका ड्रेसिङसम्मको सुविधा स्थानीयबासीलाई दिलाउने।

‘टोलबासीबाट २० रुपैयाँदेखि दुई सय रुपैयाँसम्म उठाइयो। त्यसक्रममा करिब १८ सय रुपैयाँ संकलन भयो। त्यसबाट सार्वजनिक जग्गामा दुई कोठाको भवन बन्यो।

संस्थापक सदस्य एवं हाल सानेपा स्वास्थ्य संस्थाका अध्यक्ष रहेका विश्वदास अमात्य सम्झन्छन्, ‘त्यसपछि स्वास्थ्य सेवा दिनका लागि टोलका डाक्टरहरुलाई आग्रह गरियो। डाक्टरहरु सेवा दिन तयार पनि भए। हामीले त साधारण उपचारमात्र दिन खोजेका थियौं। तर डाक्टरहरु तयार भएपछि बिहान निःशुल्क क्लिनिक थालियो।’

बिरामीसँग टिकटको २० रुपैयाँ लिने गरी क्लिनिक सञ्चालन गरियो। बिस्तारै बिरामीहरुको संख्या थपिँदै गए। सुरुमा ड्रेसिङमात्र भनिए पनि सबै खालका स्वास्थ्य समस्याका बिरामी आउन थालेपछि संस्थाको भवनको तला थपियो। त्यतिले नपुगेपछि अर्को तला पनि थपियो।

संस्था ३४ वर्षको वयस्क भइसकेको छ। यो क्रममा संस्थाले साढे ५ लाख बिरामीलाई सेवा दिइसकेको छ। डाक्टरहरुले निरन्तर निःशुल्क सेवा दिइरहेका छन्। नर्स दुई जना र सफाइ कर्मचारी एक गरी तीन जनाबाहेक अरु सबैले स्वयंसेवा गरिरहेका छन्।

संस्थाले दिएको स्वास्थ्य सेवाले स्थानीयहरु खुसी छन्। अध्यक्ष अमात्य भन्छन्, ‘हामीले दिनरात नभनी सेवा दिइरहेका छौैं। कुनै बेला राति दुर्घटना पर्‍यो भने त्यस्तो अवस्थामा राति डाक्टर खोजेर भए पनि उपचार गर्छौं। झाडापखालाको समस्या भएका बिरामीलाई टेकु लानै पर्दैन। हामी रातभर बसेर भए पनि सलाइन दिनेलगायतका आवश्यक उपचार गर्छौं।’

३४ वर्षको अवधिमा बिरामी आउन कम भएको कोरोनाकालमा मात्र हो। नत्र भने सहरका महंगा अस्पतालमा उपचार गर्न नसक्नेहरुको भरोसाको केन्द्र बनेको उनको भनाइ छ।

‘अब हामीले माथिल्लो तलामा योगा सिकाउने तयारी गरेका छौं, आजभोलि सबैलाई सुगरप्रेसर हुन्छ, मानिसहरुका घर–घरमा गएर सुगर प्रेसर चेक गर्ने, आवश्यक सरसल्लाह दिने, कसैलाई आवश्यक परेको अवस्थामा अस्पताल पठाइदिने व्यवस्था तत्कालै सुरु गछौं,’ उनले भने।

पूराना सम्झना
स्थापनादेखि हालसम्मको अवस्थामा आउन स्वास्थ्य संस्थाले थुप्रै आरोह–अवरोह भोग्नु परेको छ। स्थापनाको सुरुमा तत्कालीन ललितपुर नगरपञ्चायतले वर्षको ५ सय रुपैयाँ सहयोग गर्थ्याे, जुन रकम अहिले आएर ८५ हजार रुपैयाँ पुगेको छ। ‘त्यतिबेला त्यो ५ सय रुपैयाँले पनि धेरै सघाउ पुग्थ्यो, किनभने त्यतिबेला औषधि सस्तो थियो, त्यसबाहेक अरु चन्दादाताले गर्ने सहयोग त छँदैथियो,’ अमात्य भन्छन्।

यस्तै, ललितपुर २ नम्बर वडाका अघिल्ला जनप्रतिनिधिले औषधि किन्न २ लाख रुपैयाँ सहयोग गरेका थिए भने भवनको रंगरोगनका लागि अलग्गै बजेट दिएको थियो।

संस्थाले सानेपाका बासिन्दाबाहेक अरु मानिसलाई पनि स्वास्थ्य सेवा दिने गरेको छ। अध्यक्ष श्रेष्ठका अनुसार पहिला संस्थाले काठमाडौंबाहिर स्वास्थ्य शिविर लैजाने गर्थ्याे। एक पटक पालुङटारमा पहिरो जाँदा राहत सामग्रीसहित गएर तीन दिन सेवा गरेको उनी सम्झन्छन्।

अझ सिन्धुपाल्चोकको डडुवा गाउँमा शिविर लिएर गएको बेलाको घटना त निकै रोचक छ। घटना २०–२५ वर्षअघिको भएकाले उनले ठ्याक्कै सम्झन सकेनन्। भन्छन्, ‘त्यतिखेर डाक्टर कस्ता हुँदारहेछन् भनेर मानिसहरु हेर्न आए। किनभने त्यहाँका बासिन्दाले त्यतिन्जेलसम्म डाक्टर नै देख्न पाएका रहेनछन्। अनि त्यो गाउँमा दुई समूह रहेछ । एउटा समूह बाटो बनाउने पक्षको रहेछ भने अर्को पक्षले यहाँ आउने गाडीलाई नै काटिदिन्छु भनेर कुरेर बस्ने।’

त्यतिबेला संस्थाका पूर्वअध्यक्ष प्रेमविक्रम हमाल र उनी त्यो शिविर लिएर गएका थिए। अनि उनले सडकको विरोधमा रहेको समूहका नेतालाई फकाएर स्वयंसेवा गर्न लगाए। पछि विरोधी समूहका सबै जना स्वयंसेवा गर्न आए पनि। मानिसहरुको भीड यति भयो कि बेलुका उनीहरुलाई शिविर सक्न गार्‍हो भयो। अनि गाडीबाट जीवनजल र सिटामोल फालेर भाग्नु परेको उनी सम्झन्छन्। घर आइपुग्दा राति ११ बजेको थियो। सो शिविरबाट ५ जना मोतियाबिन्दुका बिरामी ल्याएर अपरेशन पनि गरिएको थियो।

उनी त्रिविको लेखा शाखामा जागिरे थिए। २०५० सालमा राजीनामा दिए। त्यसयता पूरै समय यही स्वास्थ्यलाई समय दिइरहेका छन्। बीचमा वडाको सदस्य पनि भए। उनका पिता पनि टोलमा स्वयंसेवा गर्थे। बागमती भजन मण्डलीका अध्यक्ष थिए। मानिसहरुर्लाइ केही परे उनैलाई सम्झन्थे। भन्छन्, ‘त्यही गुण ममा सर्‍यो होला।’

संस्थाका आगामी योजना
संस्थाकी सल्लाहकार रानी राज कक्षपती अहिलेसम्म बिहानको एक समय क्लिनिक सञ्चालन हुँदै आएकोमा अब समय बढाउने योजनामा रहेको बताउँछिन्। कुनै डाक्टर हप्ताको एक दिनमात्र आउँदा बिरामीलाई समस्या पर्ने भएकाले त्यसो हुन नदिन फोन च्याट, फेसबुक या जुममार्फत् डाक्टरसँग सम्पर्क गराई सेवा दिने व्यवस्था गर्ने उनले बताइन्।

यस्तै, घरदैलो गरेर ज्येष्ठ नागरिकको स्वास्थ्य उपचारको व्यवस्था मिलाउने योजना रहेको पनि उनको भनाई छ। ‘वृद्धवृद्धा, स–साना बालबालिका, कुनै कारणवश घरमै बसिरहेका मानिसहरु, गृहिणीहरुलाई स्थानीय अस्पताल तथा क्लिनिकहरुसँगको समन्वय र स्रोतको बढीभन्दा बढी उपयोग गरी जतिसक्दो निःशुल्क सेवा दिन्छौं,’ उनले भनिन्।

शनिबार स्वास्थ्य संस्थाको ३४ औं वार्षिकोत्सवमा शुभकामना दिन पुगेकाहरुले पनि यस्तो स्वास्थ्य संस्था बिरलै हुने भन्दै प्रशंसा गरे। ‘समाजमा खरिद गर्न सक्ने र नसक्ने दुई खालको स्वास्थ्य संस्था भइरहेको अवस्थामा यसले निःशुल्क स्वास्थ्य सेवा दिनु ठूलो कुरा हो,’ ऊर्जा तथा सिँचाइ मन्त्री पम्फा भुसालले भनिन्।

सल्लाहकार कक्षपती भन्छिन्, ‘सबैसँग आत्मीयता यो संस्थाको विशेषता हो, जुन अन्यत्र पाइँदैन। त्यही आत्मीयताले बिरामीलाई निको पार्न सहयोग गर्छ, सबैजना मिलेर काम गर्न ऊर्जा प्रदान गर्छ, पैसामात्रै सबैथोक होइन, यसले नै यो संस्थालाई अरुभन्दा भिन्न बनाएको छ।’
ठूला अस्पताल जान नसक्ने निम्नवर्गीय नागरिकलाई यो संस्थाले सहयोग गर्दै आएको उनले बताइन्।

ललितपुर २ का वडाध्यक्ष राजेश महर्जनले वडाको बजेटबाट संस्थालाई सहयोग गर्न पनि तयार भएको बताए।

अध्यक्ष अमात्यका अनुसार संस्थाले स्थापनायता नाक, कान, घाँटी, छाती, हड्डी, नसा, दाँत, मुटु र सामान्य सर्जिकल सेवा, खोपको कार्यक्रम, अस्थायी परिवार नियोजनलगायतका माध्यमबाट ५ लाख ५० हजारभन्दा बढी बिरामीलाई स्वस्थोपचार र औषधि वितरण गरिसकेको छ। हाल प्रत्येक महिनाको १ र १५ गते बालबालिकालाई खोप सेवा पनि दिँदै आएको छ।

संस्थामा डा जगतनारायण गिरी, डा मनोहर गुप्ता, डा प्रेमलकुमार जोशी, डा फिलिप्स श्याम रन्जित, डा अविशेषकुमार ठाकुर, डा यमुना सुवाल, डा हरिहर खनाल, डा विपीन चटौतले सेवा दिइरहेका छन्।


प्रतिक्रिया दिनुहोस !