२५ श्रावण २०७९, बुधबार
१७ जेष्ठ २०७९, मंगलवार १७:५४

सुर्ती छाड्ने १०३ कारण


सुर्तीले हरेक वर्ष ८० लाख मानिसको ज्यान लिन्छ। धूमपान नगर्नेको तुलनामा धूमपान गर्नेहरूमा कोभिड—१९ रोग झनै गम्भीर हुने प्रमाणहरू बाहिर आएसँगै लाखौं मानिसमा सुर्ती छोड्ने चाहनालाई बढायो  सुर्ती छोड्ने कुरा चुनौतीपूर्ण हुनसक्छ, विशेषगरी यो महामारीले उत्पन्न गराएको थप सामाजिक र आर्थिक तनावमा त झनै चुनौतीपूर्ण हुन्छ। तर सुर्ती छोड्ने धेरै कारण छन्।

सुर्ती छाड्दाका फाइदाहरू चाँडै देखिन्छन्। धूमपान छाडेको केवल २० मिनेटपछि तपाईंकाे मुटुको धड्कनको दर घट्छ। १२ घण्टाभित्र तपाईंको रगतमा भएको कार्बनमोनोक्साइड स्तर घटेर सामान्य हुन्छ। २ देखि १२ हप्ताभित्र तपाईंको रक्तसञ्चारमा सुधार आउँछ र फोक्सोले गर्ने कार्य थप प्रभावकारी बन्छ। १ देखि ९ महिनाभित्र खोकी लाग्ने र स्वाँस्वाँ हुने अवस्था घट्छ। ३ देखि १५ वर्षभित्र तपाईंको स्ट्रोकको जोखिम घटेर धूमपान नगर्नेहरूकै स्तरमा आइपुग्छ। १० वर्षभित्र फोक्सोको क्यान्सरबाट मृत्यु हुने दर धूमपान गर्नेको तुलनामा घटेर आधा आउँछ । १५ वर्षभित्र तपाईंको मुटु रोगको जोखिम घटेर धूमपान नगर्नेहरूको स्तरमा आइपुग्छ । यति मात्र होइन, सुर्ती छोड्न यहाँ अन्य केही कारणहरू छन्।

१. धूमपान गर्नेहरूमा कोभिड—१९ रोग झनै गम्भीर हुने र मृत्यु हुने अधिक जोखिम हुन्छ।

सुर्तीले तपाईंको व्यक्तित्वमा तत्काल प्रभाव पार्छ ।

२. हरेक कुरा गन्हाउँछ-तपाईंको छाला, पूरै घर, लुगा र औँलाहरू अनि सास सबैकुरा गन्हाउँछन्।

३. सुर्तीले तपाईंको दाँत पहेँलो हुन्छ र दाँतको वरिपरि धेरै फोहर (दन्तेलेउ) बढाउँछ।

४. धूमपान र धूँवारहित सुर्तीको सेवनले सास गन्हाउने हुन्छ ।

५. सुर्तीले तपाईंको छालामा चाउरीपन आउँछ, उमेरभन्दा चाँडै बुढो देखाउँछ । सानै उमेरबाट धूमपान गर्दा छालाको प्रोटिनमा ह्रास हुने र यसले गर्दा छालाको लचकता हराउँदै जाने, यसमा हुने भिटामिन ए कमी हुने र रगतको प्रवाहमा अवरोध आउने हुन्छ ।

६. चाउरीपन ओठ र आँखा वरिपरि धेरै देखिन्छ, अनि सुर्तीले छालालाई खस्रो र सुख्खा पनि बनाउँछ।

७. धूमपानले सङ्क्रामक नहुने तर छाला चिलाउने र शरीरभरि रातो धब्बाहरू उत्पन्न गराउने रोग सोरायसिसको जोखिम बढाउँछ ।

सुर्तीले तपाईंको मात्र नभएर तपाईंका साथी र परिवारको स्वास्थ्यलाई पनि जोखिममा पार्छ ।

८. अरुले गरेको धूमपानको असरले हरेक वर्ष १० लाखन्दा बढी मानिसको मृत्यु हुने गरेको छ ।

९. धूमपान नगर्ने तर अरुले गरेको धूमपानको सम्पर्कमा आउने व्यक्तिहरूमा फोक्सोको क्यान्सर हुने जोखिम बढ्छ ।

१०. आगलागीका घटना र त्यसबाट मृत्यु हुने एउटा प्रमुख कारण चुरोट पनि हो ।

११. ई–सिगरेटहरूले पनि छेउछाउमा रहेका धूमपान नगर्ने अन्य व्यक्तिमा निकोटिन र हानिकारक रसायनको सञ्चार गर्दछ ।

१२. अरुले गरेको धूमपानको सम्पर्कमा आउँदा यसले क्षयरोगको सुसुप्त सङ्क्रमणलाई सक्रिय रोगको रूपमा विकास हुने जोखिम बढाउँछ ।

१३. अरुले गरेको धूमपानको सम्पर्कमा आउँदा यसले टाइप २ मधुमेह विकास गराउँछ।

बालबालिकाको वरिपरि धूमपान गर्दा वा ई–सिगरेट पिउँदा यसले उनीहरूको स्वास्थ्य र सुरक्षाका लागि जोखिम निम्त्याउँछ

१४. धूमपान गर्नेका छोराछोरीको फोक्सोको कार्य क्षमता कमजोर हुन्छ र वयस्क अवस्थामा पुगेपछि उनीहरूलाई श्वासप्रश्वाससम्बन्धी दीर्घ समस्याले सताउँछ।

१५. बालबालिका ई–सिगरेटको तरल पदार्थको सम्पर्कमा आउँदा यसले उनीहरूमा गम्भीर जोखिम बढाउन सक्छ । ई–सिगरेट पिउने प्रयोग गरिने उपकरणबाट चुहावट हुने वा बालबालिकाले उक्त तरल पदार्थ निल्ने जोखिम रहन्छ ।

१६. ई–सिगरेटहरूले गम्भीर चोटपटक गराउन सक्छ। यसले आगो चाँडो समात्ने वा विष्फोट हुने हुँदा तपाईंलाई पोल्ने वा डढ्ने जोखिम हुन्छ।

१७. अरुले गरेको धूमपानको सम्पर्कमा आउने विद्यालय जाने उमेरका बालबालिका दम रोग लाग्ने, सास लिने मार्गदेखि फोक्सोसम्म सूजन हुने जोखिममा हुन्छन्।

१८. घरमा अरुले गरेको धूमपानको सम्पर्कमा आउने २ वर्षभन्दा कम उमेरका बालबालिकामा मध्य–कानको रोग लाग्ने र यसले श्रवणशक्ति घटाउने तथा बहिरोपन गराउने जोखिम रहन्छ ।

१९. आमाबुबाले धूमपान छोड्दा धूमपानको धुवाँबाट बालबालिकामा हुने श्वासप्रश्वास रोगहरू (जस्तै दम) र कानको सङ्क्रमण जस्ता धेरै रोगको जोखिम घटाउँछ ।

सुर्ती सेवनले नकारात्मक सामाजिक परिणामहरू निम्त्याउँछ

२०. आफ्नो छोराछोरी, साथी र आफन्त÷प्रियजनहरूको लागि तपाईं उदाहरण बन्न चाहानुहुन्छ ।

२१. सुर्ती सेवनले सामाजिक अन्तरक्रिया र सम्बन्धहरूमा नकारात्मक असर पार्छ ।

२२. सुर्ती छोड्नु भनेको जुनसुकै ठाउँ पनि तपाईंका लागि खुला हुनु हो – तपाईंले एक्लिएको महसुस गर्नुपर्दैन वा धूमपानको बाहिर दौडनु पर्दैन, र सामाजिक रूपमा सहजै घुलमिल हुन सक्नुहुन्छ ।

२३. सुर्ती छोड्दा यसले तपाईंलाई थप उत्पादक बनाउँछ – पहिले जस्तो जतिबेला धूमपान गर्नकै लागि भनेर गरिरहेको काम रोक्नुपर्दैन ।

यो महङ्गो छ – तपाईंले आफ्नो पैसा अरु महत्वपूर्ण कुराहरूमा खर्चन सक्नुहुन्थ्यो

२४. धूमपान गर्नेहरूले विश्वभर दैनिक औसतमा १४ लाख अमेरिकी डलर व्यक्तिगत खर्चमा (चुरोट किन्न, औषधिउपचार गर्न) उडाउँछन् । धूमपानले तथा अरुले छोडेको धुवाँको असरले रोग उत्पन्न हुँदा आम्दानीमा पनि प्रभाव पार्छ भन्ने कुरा एक अध्ययनले देखाएको छ ।

२५. सुर्ती सेवनले कामदारको स्वास्थ्य र उत्पादकत्वमा असर गर्छ । यसबाट उत्पन्न असरले उनीहरू काममा जान नसक्ने हुन्छन्।

२६. सुर्ती सेवनले घरको खाना र आवास जस्ता आधारभूत आवश्यकतामा खर्च गर्नुपर्ने पैसालाई सुर्तीमा खर्च भएर गरिबी बढाउँछ ।

२७. सुर्ती सेवनले विश्व अर्थतन्त्रमा भार बढाउँछ । विश्वभर वर्षको करिब १४ खर्ब अमेरिकी डलर सुर्तीले उत्पन्न गरेका रोगहरूको औषधि उपचारमा खर्च हुन्छ भने यसबाट उत्पन्न रोग र मृत्युले मानव पूँजीमा क्षय गराउँछ ।

धूमपानले प्रजनन क्षमता घटाउँछ

२८. धूमपान गर्नेहरूमा बाँझोपन हुने सम्भावना धेरै हुन्छ । धूमपान छोड्दा गर्भवती हुनका लागि देखिने कठिनाइ, परिपक्व नभइकन बच्चा जन्मने, कम तौलको बच्चा जन्मने र गर्भपात हुने जस्ता समस्या घटाउँछ ।

२९. धूमपानले लिङ्ग उत्तेजित नहुने समस्या निम्त्याउँन सक्छ । धूमपानले लिङ्गमा हुने रक्तसञ्चारमा अवरोध पु¥याउँछ र लिङ्ग उत्तेजित हुन नसक्ने गराउँछ । धूमपान गर्नेमा लिङ्ग उत्तेजित नहुने अवस्था धेरै सामान्य हो र मानिसले जीवनको पूर्वाधमा नै धूमपान बन्द नगरे यो स्थायी समस्या बन्न सक्छ ।

३०. धूमपानले शुक्रकीटको संख्या, गतिशीलता क्षमता र आकारमा ह्रास गराउँछ ।

सबै प्रकारका सुर्तीजन्य पदार्थहरू घातक छन्

३१. विश्वमा हरेक वर्ष ८० लाखभन्दा बढी मानिसको मृत्यु सुर्तीको कारण हुन्छ ।

३२. सुर्ती सेवन गर्नेहरूमध्ये आधाको ज्यान सुर्तीले नै लिन्छ । सुर्तीको प्रकार जुनसुकै भएता पनि, यसको सेवनले तपाईंको स्वास्थ्य कमजोर गराउँछ र रोगहरू बढाउँछ ।

३३. हुक्का पिउनु पनि अन्य सुर्तीजन्य पदार्थहरूको सेवन जस्तै हानिकारक हुन्छ ।

३४. सुर्ती (खैनी) चपाउनाले मुखको क्यान्सर, दाँत खिइने, दाँत पहेँलो हुने, गिजामा सेतो दाग र रोग निम्त्याउँछ ।

३५. धुवारहित सुर्तीमा हुने निकोटिन चुरोट पिउँदाको भन्दा धेरै सजिलै अवशोषित हुन्छ र यसको लत बढ्ने सम्भावना धरै हुन्छ ।

सुर्तीको खरिद गर्दा तपाईंले किसान तथा बालबालिकाको शोषण र रोग तथा मृत्युलाई बढाउने उद्योगलाई आर्थिक सहयोग गर्दै हुनुहुन्छ ।

३६. सुर्ती खेती गर्नेहरू निकोटिन छालाबाट छिर्ने र अत्यधिक कीटनाशक तथा सुर्तीका धुलोसँग सम्पर्कमा आउँदा उत्पन्न हुने कमजोर स्वास्थ्यको जोखिममा हुन्छन् ।

३७. केही मुलकहरूमा बालबालिकालाई सुर्ती खेतीमा काम लगाइएको हुन्छ । यसले उनीहरूको स्वास्थ्यमा मात्रै असर नगरेर विद्यालय जान सक्ने क्षमतालाई पनि असर गर्छ ।

३८. सुर्ती सेवनले गरिबीलाई झनै बढाउँछ । सुर्ती सेवन गर्नेहरू बिरामी हुने र सुर्तीका कारण हुने क्यान्सर, मुटु रोग, श्वासप्रश्वाससम्बन्धी रोग र अन्य रोगहरूबाट अल्पायुमा नै ज्यान गुमानउने उच्च जोखिममा हुन्छन् । यसले परिवारको अति आवश्यक पर्ने आम्दानीबाट परिवारलाई वञ्चित गराउँछ र स्वास्थ्य उपचारको लागि अतिरिक्त खर्च बढाउँछ ।

३९. समग्र सुर्ती क्षेत्रमा रोजगार भएकाहरूमध्ये अधिकतरले धेरै कम कमाउँछन् भने ठूला सुर्ती कम्पनीहरूले अत्यधिक नाफा कमाउँछन् ।

तताइने सुर्तीजन्य पदार्थहरू (Heated Tobacco Products) स्वास्थ्यको लागि हानिकार हुन्छन्

४०. तताइने सुर्तीजन्य पदार्थहरूबाट उत्पन्न हुने विषाक्त तत्वहरूसँग यसका प्रयोगकर्ताको सम्पर्क रहन्छ जसमध्ये धेरैले क्यान्सर गराउँछन् ।

४१. तताइने सुर्तीजन्य पदार्थहरू पनि सुर्ती भएकै पदार्थ हुन् । तसर्थ परम्परागत सुर्तीजन्य पदार्थ छोडेर तताइने सुर्तीजन्य पदार्थ सेवन गर्नु भनेको सुर्ती पूरै छोडेको होइन ।

४२. परम्परागत चुरोटको तुलनामा तताइने सुर्तीजन्य उत्पादन कम हानिकारक हुन्छ भन्ने दाबीलाई समर्थन गर्ने पर्याप्त प्रमाण उपलब्ध छैनन् ।

ई–सिगरेटहरू स्वास्थ्यको लागि हानिकारक छन् र सुरक्षित छैनन्

रहस्य प्रष्ट छ – सुर्ती उद्योगहरूले कमजोर वर्गलाई लक्षित गर्दछ

४३. ई–सिगरेट पिउने बालबालिका र किशोरकिशोरीहरूले पछि गएर चुरोट पिउने सम्भावना कम्तीमा दुई गुणा हुन्छ ।

४४. ई–सिगरेटको सेवनले तपाईंमा मुटु रोग र फोक्सोको समस्याको जोखिम बढाउँछ ।

४५. ई–सिगरेटमा हुने निकोटिन अत्यधिक लत बसाउने लागूऔषध हो जसले बालबालिकाको विकास हुँदै गरेको मष्तिष्कमा क्षति गर्छ ।

सुर्ती सेवन र त्यसमा पनि विशेषगरी धूमपानले तपाईंको प्राणवायु लैजान्छ

४६. क्यान्सरबाट विश्वभर हुने मृत्युको २५ प्रतिशत मृत्युको कारण सुर्ती हो ।

४७. धूमपान नगर्नेभन्दा धूमपान गर्नेलाई जीवनकालमा फोक्सो क्यान्सर हुने सम्भावना २२ गुणा बढी हुन्छ । विश्वभर फोक्सोको क्यान्सरबाट हुने कुल मृत्युमा दुई तिहाइ मृत्यु धूमपानले गराउँछ ।

४८. धूमपान गर्ने पाँचमध्ये एक जनामा श्वास फेर्न कठिन हुने, फोक्सोको दीर्घ रोगको लाग्ने हुन्छ । विशेषगरी बाल्यकाल र किशोरावस्थामा धूमपान सुरु गर्नेमा यो जोखिम बढी हुन्छ, किनकि धूमपानले फोक्सोको वृद्धि र विकासलाई धेरै सुस्त बनाउँछ ।

४९. धूमपानले वयस्क मानिसमा दम बढाउँछ, उनीहरूको क्रियाकलापलाई सीमित पार्छ, अपाङ्गता बढाउँछ र आपतकालीन उपचार चाहिने गम्भीर दम रोगको जोखिम बढाउँछ ।

५०. धूमपानले क्षयरोग सुसुप्त अवस्थाबाट सक्रिय अवस्थामा परिणत हुने जोखिम दुई गुणाभन्दा धेरैले बढाउँछ, र यसले रोगको प्राकृतिक वृद्धि गतिलाई प्रभावित पार्दै झनै तीव्र बनाउँछ । विश्वका करिब एक—चौथाइ जनसङ्ख्यामा सुसुप्त क्षयरोग रहेको छ ।

सुर्तीले मुटु फुटाउँछ

५१. दिनको केही खिल्ली चुरोट, कहिलेकाहीँको धूमपान वा अरुले गरेको धूमपानसँगको सम्पर्कले मुटु रोगको जोखिम बढाउँछ ।

५२. धूमपान गर्नेमा स्ट्रोक हुने जोखिम दुई गुणा धेरै र मुटु रोग हुने जोखिम चार गुणा धेरै हुन्छ ।

५३. धूमपानले मुटुको धमनीहरूलाई क्षति गर्छ, रगतमा बोसो बढ्ने र ढिक्का बढ्ने हुन्छ, र यसले रक्त सञ्चारमा कमी ल्याउँछ र अन्ततः हृदयघात र स्ट्रोकहरू गराउँछ ।

५४. निकोटिन र सुर्तीजन्य पदार्थहरूको सेवनले मुटु तथा रक्तनली रोगको जोखिम बढाउँछ ।

सुर्तीले २० प्रकारका क्यान्सर गराउँछ

५५. धूमपान र धुवाँरहित सुर्तीको सेवनले मुखको क्यान्सर, ओठको क्यान्सर, घाँटीको क्यान्सर र अन्ननलीको क्यान्सर गराउँछ ।

५६. घाँटीमा क्यान्सर भएको भागको शल्यक्रियाबाट हटाउँदा बनाउन घाँटीबाट श्वासनलीमा सानो प्वाल ट्राकियोस्टोमी गर्नुपर्ने हुनसक्छ ।

५७. धूमपान गर्नेहरूमा गम्भीर म्येलोइड लुकिमिया (myeloid leukaemia), नाक तथा नाकको भित्री भाग (nasal and paranasal sinus cavities) को क्यान्सर, कोलोरेक्टल (colorectal), मिर्गाैला, अग्न्याशय (Pancreas), पेट र पाठेघरको क्यान्सर, र तल्लो मुत्रनलीको (मुत्राथैली, मुत्रवाहिनी नली र रेनल पेल्भिस) क्यान्सर विकास हुने उच्च जोखिम हुन्छ ।

५८. केही अध्ययनले धूमपान र स्तन क्यान्सरको बढ्दो जोखिमबीच पनि सम्बन्ध हुने देखाएका छन् । विशेषगरी, अत्यधिक धूमपान गर्ने र पहिलो गर्भधानअघि नै धूमपान गर्ने महिलाहरूमा यस्तो जोखिम हुन्छ ।

५९. धूमपानले हुमन पापिलोमाभाइरसबाट सङ्क्रमित महिलामा पाठेघरको मुखको क्यान्सर हुने जोखिम पनि बढाउँछ ।

धूमपान गर्नेमा दृष्टि क्षमता र श्रवण शक्ति हराउने जोखिम धेरै हुन्छ

६०. धूमपानले आखाँको रोगहरू निम्त्याउँछ, र ती रोगको उपचार नगरिएमा दृष्टि क्षमता पूर्ण रूपमा गुम्न पनि सक्छ ।

६१. धूमपान नगर्नेभन्दा धूमपान गर्नेमा उमेरसँगै आखाको नानीको म्याकुला पातलो हुँदै जाने गति तीव्र हुन्छ र पछि गएर दृष्टि पूर्ण रूपमा गुम्ने हुन सक्छ ।

६२. धूपमान गर्नेमा मोतीबिन्दुको जोखिम उच्च हुन्छ । यो भनेको आँखाको लेन्सको धमिलोपन बढेर उज्यालो छेक्ने समस्या हो । मोतीबिन्दुले दृष्टि क्षमतामा हानि गर्छ र दृष्टि फर्काउने एकमात्र विकल्प भनेको शल्यक्रिया हो।

६३. केही प्रमाणहरूले धूमपानबाट ग्लाउको नामक आँखाको रोग लाग्ने देखाएका छन् । यो भनेको आँखामा दबाब बढाउने एउटा अवस्था हो र आँखाको ज्योतिमा क्षति गर्न सक्छ ।

६४. धूमपान गर्ने वयस्कहरूले श्रवणशक्ति गुमाउन सक्ने सम्भावना बढी हुन्छ ।

सुर्तीले शरीरका लगभग सबै अङ्गमा हानि गर्छ

६५. जीवनभर धूमपान गर्नेहरूको जीवन आयु औसतमा १० वर्ष छोटो हुन्छ ।

६६. चुरोटको प्रत्येक सर्कोसँगै टक्सिन र कार्सिनोजेनहरू शरीरमा प्रवेश गर्दछ । हालसम्मका अध्ययनले कम्तीमा ७० वटा केमिकलले क्यान्सर गराउँछन् भन्ने देखाउँछ ।

६७. धूमपान गर्नेहरूमा मधुमेह हुने जोखिम उच्च रहेको छ ।

६८. धूमपान डिमेन्सियाको जोखिम कारक तत्व हो । डिमेन्सिया भनेको दिमागी÷मानसिक अवस्था खस्काउँदै लैजाने समस्याहरूको समूह हो ।

६९. डिमेन्सिया समूहको अल्जाइमर्स रोग सबभन्दा धेरै देखिने रोग हो । विश्वभर १४ प्रतिशत अल्जाइमर्सको केसहरू धूमपानका कारणले भएको अध्ययनले बताउँछ ।

७०. धूमपान गर्ने महिलामा महिनावारीको समयमा बढी पीडा हुन सक्छ र महिनावारी रोकिने लक्षणहरू पनि धेरै गम्भीर देखिन्छन् ।

७१. धूमपान गर्ने महिलाहरूमा १ देखि ४ वर्ष छिटो महिनावारी बन्द हुन्छ किनकि धूमपानले डिम्बाशयमा डिम्बको उत्पादन घटाउँछ, प्रजनन कार्य हराउँछ र इस्ट्रोजेनको स्तर पनि न्यून हुन्छ ।

७२. सुर्तीको धुवाँले बच्चाको तन्तुहरूमा अक्सिजनको प्रवाहलाई घटाउँछ ।

७३. सुर्तीको सेवनले रक्त सञ्चारलाई सीमिम बनाउँछ, र यसलाई उपचार नगरिए शरीरको तन्तुहरूको मृत्यु (ग्याग्रीन) हुनसक्छ र प्रभावित भागहरू काटेर फाल्नुपर्ने पनि हुनसक्छ ।

७४. सुर्ती सेवनले दाँत तथा गिजामा लाग्ने रोगको जोखिम बढाउँछ । यो भनेको दीर्घ सुजन हुने रोग हो, जसले गिजालाई खियाउँछ, र बङ्गाराको हाडलाई नष्ट गर्छ र दाँत झर्ने गराउँछ ।

७५. धूमपान नगर्नेहरू भन्दा धूमपान गर्नेहरू शल्यक्रियापछिका जटिलताहरूको बढी जोखिममा हुन्छन् ।

७६. धूमपान गर्नेहरूलाई मेकानिकल भेन्टिलेसनबाट हटाउन कठिन हुन्छ । यसो हुँदा उनीहरूको सघन उपचार कक्ष (आईसीयु) र समग्र अस्पतालको बसाइ लामो हुन जान्छ र अन्य सङ्क्रमणप्रतिको जोखिम पनि बढाउँछ ।

७७. धूमपान गर्नेहरूले पेट तथा आन्द्राको समस्याको अनुभव धेरै गर्ने हुन्छन्, जस्तै पेटको अल्सर, आन्द्रा सुन्निने, पेट बाउँडिने, निरन्तर झाडापखाला चल्ने, ज्वरो आउने र मलद्वारबाट रगत बग्ने, पेट तथा अन्द्राको क्यान्सर हुने ।

७८. धूमपान गर्नेमा हाडको घनत्व घट्दै जाने, सजिलै भाँच्चिने चर्किने र गम्भीर जटिलताहरू अनुभव गर्ने (ढिलो निको हुने वा निको नहुने) सम्भावना बढी हुन्छ ।

७९. सुर्तीमा हुने तत्वहरूले रोगप्रतिरोधी क्षमता कमजोर बनाउँछन्, र धूमपान गर्नेहरूमा फोक्सो सङ्क्रमणहरूको जोखिम बढाउँछ ।

८०. स्वरोगप्रतिरक्षा (अटोइम्युन) प्रणालीमा खराबी देखिने वंशाणुगत समस्याको जोखिम भएकाहरूले धूपमान गरेमा उनीहरूमा धेरै रोगहरूको जोखिम रहन्छ, जस्तै जोर्नीहरूमा हुने बाथ, क्रोहन्स रोग, ब्याक्टेरियल मेनिन्जाइटिस, शल्यक्रिया पछिको सङ्क्रमण र क्यान्सर ।

८१. धूमपानले रोग प्रतिरक्षा कमजोर (इम्युन कम्प्रोमाइज्ड) भएका व्यक्तिहरूलाई (जस्तै सिस्टिक फिब्रोसिस, मल्टिपल स्कलेरोसिस वा क्यानसर भएकाहरू) रोगसँग सम्बन्धित सह–रूग्णताहरू र अल्पायु मृत्युको उच्च जोखिममा राख्छ ।

८२. सुर्तीको रोगप्रतिरक्षा दबाउने प्रभावहरूले एचआईभी भएका मानिसमा एड्स हुने जोखिम धेरै हुन्छ । एचआईभी पोजेटिभ धूमपान गर्ने व्यक्तिहरूले औसतमा १२.३ वर्ष जति आयु गुमाउँछन्, यो भनेको धूमपान नगर्ने एचाईभी पोजेटिभको भन्दा दुई गुणा बढी हो ।

This image has an empty alt attribute; its file name is 1649484250235_typhoid-message.gif

सुर्ती र निकोटिन सेवनले तपाईंको बच्चालाई हानि गर्छ

८३. गर्भावस्थामा सुर्ती सेवन र सुर्तीको धुवाँसँगको नियमित सम्पर्कले भु्रणको मृत्यु हुने जोखिम बढाउँछ ।

८४. गर्भावस्थामा धूमपान गर्ने वा अरुले गरेको धूमपानको सम्पर्कमा आउने महिलाहरूमा गर्भपात हुने जोखिम धेरै हुन्छ ।

८५. सुर्तीको धुवाँमा हुने कार्बनमोनोअक्साइड र धुवाँ आउने तथा धुवाँरहित सुर्तीमा हुने निकोटिनको कारण भु्रणमा अक्सिजन नपुग्दा र सालनाल बिग्रदा मृतजन्म (गर्भमै मृत्यु भएको भ्रुणको जन्म) हुनु पनि सामान्य भएको छ ।

८६. धूमपान गर्नेहरूमा गर्भ असामान्य स्थानमा गएर बस्ने उच्च जोखिम हुन्छ । यो भनेको भु्रण पसिसकेको निषेचित डिम्ब पाठेघरभन्दा बाहिर गएर बस्नु हो र यसले आमाको लागि घातक जटिलता निम्त्याउँछ ।

८७. प्रजनन उमेरका महिलाले गर्भवती हुने योजना बनाउँदा वा गर्भवती हुँदा धूमपान छोड्ने र आफूलाई अरुले गरेको धूमपानको सम्पर्कमा हुनबाट बचाउनु जरुरी हुन्छ ।

८८. ई–सिगरेट सेवनले गर्भवती महिलालाई धेरै जोखिम हुन्छ, किनकि यसले बढ्दै गरेको भ्रुणलाई क्षति गर्न सक्छ ।

८९. धूमपान गर्ने, धुवाँरहित सुर्ती सेवन गर्ने वा गर्भावस्थामा अरुले खाएको चुरोटको धुवाँको सम्पर्कमा आउने महिलाबाट जन्मने बच्चा अपरिपक्व जन्मने र कम तौलको जन्मने उच्च जोखिममा हुन्छन् ।

सुर्तीले वातावरणलाई प्रदूषित गर्दछ

९०. सरकार र स्थानीय निकायले सुर्तीको फोहर सफा गर्न पैसा तिर्छन्, सुर्ती कम्पनीहरूले तिर्दैनन् । वातावरण जोगाउन सुर्ती छोड्नुहोस् ।

९१. चुरोटका ठूटा विश्वभर सबभन्दा धेरै फ्यालिने फोहरमध्ये पर्दछ र यी विश्वभरि समुद्रका किनार एवम् पानीका धारहरूबाट धेरै बारम्बार उठाइने फोहर वस्तु हुन् ।

९२. चुरोटका ठूटाहरूमा अति जोखिमपूर्ण पदार्थहरू पाइन्छन् – यसमा आर्सेनिक, शीशा, निकोटिन र फर्मालिन हुन्छन् । यी पदार्थहरू फ्यालिएका ठूटाबाट जलीय वातावरण र माटोमा पुग्दछ ।

९३. सुर्तीको धुवाँले सहरको वायु प्रदूषण स्तर वृद्धिमा योगदान गर्दछ ।

९४. अधिकतर चुरोटहरू सलाइ वा ग्यास भरिएको लाइटरको प्रयोग गरी जलाइन्छन् । उदाहरणको लागि, यदि दुईवटा सिगरेट जलाउन एउटा काठको सलाइको प्रयोग गरिन्छ भने विश्वभर हरेक वर्ष ६० खर्ब चुरोट पिइन्छ र ३० खर्ब सलाइ उत्पादन गर्न ९० लाख रुख काट्नुपर्छ ।

९५. ई–सिगरेट र तताइने सुर्तीजन्य सामग्रीमा ब्याट्रीहरूको प्रयोग हुने गर्छन्, तर उक्त ब्याट्रीका साथै त्यसका केमिकल, प्याकेजिङ र नसड्ने अन्य सामग्रीहरूको छुट्टै विसर्जन गर्नुपर्ने हुन्छ ।

९६. हाल धेरैजसो प्लास्कि ई–सिगरेट लिक्वीड कार्टिजहरू पुनः प्रयोग गर्न वा पुनःचक्रण गर्न नमिल्ने प्रकृतिका हुन्छन् – बहुराष्ट्रिय कम्पनीहरूले एकपटक प्रयोग गरेर फ्याँक्न मिल्ने कार्टिजहरू बेच्ने गरेका छन्, शायद दोहोरिने ग्राहक मार्फत् बिक्रीलाई बढाउन ।

९७. सुर्तीजन्य उत्पादनबाट हुने उत्सर्जनहरू ३० लाख अन्ध महासागर वारिपारि गर्ने उडानहरू बारबार हुने अनुमान गरिन्छ ।

९८. सुर्तीको धुवाँमा तीनप्रकारका हरितगृह ग्यास हुन्छन् – कार्बनडाइअक्साइड, मिथेन र नाइट्रस अक्साइड । यसले घरिभत्रका बन्द र घरबाहिरका खुला वातावरणलाई प्रदूषित पार्दछ ।

९९. विश्वभर, सुर्तीको खेती र प्रशोधन गर्न हरेक वर्ष २ लाख हेक्टर वन फडानी गरिन्छ ।

१००. सुर्ती खेतीको लागि वन फडानी गर्दा यसबाट धेरै गम्भीर वातावरणीय परिणामहरू निम्त्याउछन् । यसमा जैविक विविधताको ह्रास, भूक्षय, माटोको गुणस्तरमा कमी, जलप्रदूषण र वायुमण्डलमा कार्बनडाइअक्साइडको मात्रामा वृद्धि लगायत नकारात्मक परिणाम पर्दछन् ।

१०१. सुर्ती खेतीमा केमिकलको धेरै प्रयोग हुन्छ । यसमा कीटनाशक, रसायनिक र सुर्तीको बुटालाई बढाउने पदार्थहरूलगायत पर्दछन् । सुर्ती खेती गरिने क्षेत्रबाट बहने रसायनयुक्त पानीले खानेपानीको स्रोतलाई असर गर्छन् ।

१०२. उत्पादित हरेक ३०० सिगरेटको लागि (अन्दाजी १.५ कार्टुन) सुर्तीको पातलाई मात्र प्रशोधन गर्न एउटा रुख आवश्यक पर्दछ ।

This image has an empty alt attribute; its file name is Expo-2022.jpg

१०३. वार्षिक रूपमा उत्पादन गरिएका ६० खर्ब सिगरेटको लागि करिब ३०० अर्ब प्याकेजहरू (एउटा प्याकमा २० सिगरेट हुने अनुमान गर्दा) सुर्ती उत्पादनहरूको लागि मात्र बनाइन्छन् । प्रत्येक खाली प्याक ६ ग्रामको हुने अनुमान गर्दा, यसको परिमाण १८ लाख टन प्याकेजिङ फोहर बराबर हुन्छ, यसमा कागज, मसी, सिलोफन, फोइल र ग्लु आदिको मिश्रण हुन्छ । वितरण र प्याकेजिङ्गको लागि प्रयोग हुने कार्टुन र बक्सहरू प्रयोगपछि फोहरको रूपमा फ्ल्याल्दा यो कम्तीमा वर्षको २० लाख टन हुन्छ ।

स्राेत-विश्व स्वास्थ्य स‌ंगठन नेपाल


प्रतिक्रिया दिनुहोस !