१३ असार २०७९, सोमबार
४ चैत्र २०७८, शुक्रबार २१:५४

निद्रामा घुर्ने र सास रोकिने रोग के हाे?


के तपाईंलाई निद्रामा घुर्ने समस्या छ?

के सुतेको बेला सास रोकिएर उकुसमुकुस हुँदै बारम्बार बिउँझने गर्नुहुन्छ?

के दिउँसो धेरै निद्रा लाग्ने गर्छ?

के निद्रामा हात-खुट्टा धेरै चलाउने, छट्पटिने समस्या छ?

यदि छ भने तपाईंलाई निद्रामा घुर्ने र सास रोकिने रोग ‘स्लीप एप्निया’ ( अब्सट्रक्टिभ स्लीप एप्निया) भएको हुन सक्छ।

स्लीप एप्निया के हो र कसरी हुन्छ?

डा राजु पंगेनी

यो निद्रासम्बन्धी एउटा रोग हो। साधारण घुराई र यो रोगका कारण हुने घुराईमा भिन्नता छ। साधारण घुराई मोटोपन हुनेहरु अथवा अन्य स्वस्थ मानिसलाई पनि हुन सक्छ। तर यसमा ‘स्लीप एप्नियामा’ जस्तो सास रोकिने वा अक्सिजनको मात्रा घट्ने हुँदैन। स्लीप एप्निया हुनेहरुलाई निदाएको बेला गर्धनभित्रको श्वास-नली साँघुराे भई केहीबेरका लागि बन्द हुन्छ, जसका कारण शरीरमा अक्सिजनको मात्रा घट्न थाल्छ, मुटुको चाल अनि प्रेसर बढ्न थाल्छ। यसको केही समयपछि छोटो समयका लागि बिरामीको निद्रा खुल्छ। अनि फेरि श्वासप्रस्वास सुचारु हुन्छ।

यो बेला हात खुट्टा फाल्ने, कोल्टे फर्कने, चिच्याउने आदि हुन सक्छ। ‘घुर्ने, सास रोकिने, ब्युँझिने, सास खुल्ने, फेरि घुर्ने’ यो क्रम रातभरि चल्छ जसका कारण बिरामीको निद्राको गुणस्तर (क्वालिटी) एकदम कम हुन्छ। धेरै जसो अवस्थामा बिरामीलाई निद्रामा हुने यी घटनाहरुको त्यति सम्झना रहँदैन। बिरामीलाई भन्दासँगै सुत्ने पार्टनरलाई यी कुराहरु बढी थाहा हुन सक्छ। यसको अल्पकालीन (मुटुको चाल गडबड हुने तथा हार्ट अट्याक) देखि लिएर दीर्घकालिन (शारीरिक तथा मानसिक) असरहरु हुन सक्ने भएकाले शंका लाग्ने बित्तिकै डाक्टरको परामर्श लिनु उचित हुन्छ।

यो रोगका असरहरु के हुन सक्छन?

यो रोग हुनेहरुलाई हार्ट अट्याक, मुटुको चालमा गडबडी, प्यारालाइसिस , मानसिक समस्या, थकान, सडक दुर्घटना, प्रेसर, मधुमेह, यौन समस्या आदि हुने सम्भावना धेरै हुन्छ। अत्यधिक घुराईको कारण पारिवारिक तथा पेशागत सम्बन्धमा पनि ह्रास आउन सक्छ। अत्यधिक आलस्यपन तथा निद्राका कारण मोटोपन झन् बढ्दै जान सक्छ। यसको समयमै निदान तथा उपचार गरेमा माथि उल्लेखित समस्याहरुबाट जोगिन सकिन्छ।

स्लीप एप्निया भए-नभएको कसरी पत्ता लगाउन सकिन्छ?

यसका लागि निद्रासम्बन्धी जाँच गर्नु पर्ने हुन्छ। यसलाई पोलिसोम्नोग्राफी (POLYSOMNOGRAPHY) पनि भनिन्छ। यो जाँच गर्नका लागि एक रात अस्पतालको बेडमा भर्ना भई सुत्नुपर्नेछ। यो जाँचले निदाएका बेला घुर्ने, सास रोकिने तथा अक्सिजनको मात्रा कम हुने एवं अन्य निद्रासम्बन्धी रोगहरु भए-नभएको किटान गर्न सहयोग गर्नेछ। निदाएको बेला शरीरमा टाँसिएका तार वा सेन्सरहरुले निद्राको अवस्था, घुराइको मात्रा, अक्सिजनको मात्रा, सासको गति, मुटुको चालको निगरानी तथा भिडियोको माध्यमबाट निद्राका गतिविधिहरु परीक्षण गरिन्छ। सेन्सरहरु टाँस्न प्रयोग हुने क्रिमको एलर्जी तथा रोगकै कारण हुन सक्ने भवितव्य बाहेक यो जाँचका कारण शरीरमा अन्य कुनै नराम्रो असर हुँदैन। कहिलेकाही आवस्यकता हेरी घरमै गई तथा CPAP मेसिन जोडेर पनि यो जाँच गर्नु पर्ने हुन सक्छ। ह्याम्स अस्पतालमा हरेक दिन यो जाँच हुन्छ। डाक्टरसँग परामर्श लिइसकेपछि टेक्निसियनसँग समन्वय गरी बेडको उपलव्धता र बिरामीकाे अनुकूलता हेरी निद्रा जाँचका लागि समय दिइनेछ।

निद्राको जाँच हुने दिन:

१) घरबाट खाना खाइवरी समयमै आई रिसेप्सनलाई जानकारी गराउनु पर्ने हुन्छ।

२) कपालमा कुनै किसिमको तेल, जेल, स्प्रे प्रयोग गर्नुहुन्न। पुरुषले दारी काटेर आए सेन्सर टाँस्न सजिलो हुन्छ।

३) सजिलो तथा खुकुलो लुगा लिएर जानुपर्छ। सुत्ने, ओढ्ने र ओछ्याउने चिजहरु ल्याउनु पर्दैन।

४) एक जना साथीसँगै हुनुपर्छ।

This image has an empty alt attribute; its file name is spark-health-home-ad.gif

५) जाँच गर्ने दिन दिउँसो सकेसम्म नसुत्नु होला, साथै कफी, चिया, कोक, रक्सी जस्ता पेय पदार्थ नपिउनु होला।

६) सुगर, प्रेसर आदिको औषधि साबिक बमोजिम खान सकिन्छ।

७) गफ होहल्ला नगरी, निदाउन सहज हुने वातावरण बनाउनु होला। कुनै किसिमको मनोरंजनका साधनहरु मोबाइल, रेडियो, ल्यापटप आदिको प्रयोग नगर्नु होला।

कुनै समस्या आइपरे कोठा बाहिर रहेका टेक्निसियन, सिस्टर, ड्युटी डाक्टर अथवा रिसेप्सनमा खबर गर्न सकिन्छ।

यो रोग लागेको रहेछ भने उपचारको विधि के हुन्छ?

माथि उल्लेख गरिएको जस्तै स्लीप एप्निया (OBSTRUCTIVE SLEEP APNEA) रोग लागेको रहेछ भने निदाएका बेला तपाईंकेा सासको नलीमा अवरोध आउने हुँदा यसबाट  शरीरमा अक्सिजनको मात्रा घट्नुका साथै निद्राको गुणस्तरलाई समेत असर पार्दछ। यो रोगको मुख्य उपचार भनेको सिप्याप (CPAP) प्रविधिको प्रयोग गर्नु हो। सासको नली बन्द हुन नदिनका लागि राति नियमित रुपमा नाक वा मुख छोप्ने खालको ‘बिशेष मास्क’ प्रयोग गरी सुत्नुपर्ने हुन्छ। यो मास्क सिप्याप (CPAP) मेसिनसँग जोडिएको हुन्छ। यो मेसिनले मास्कको माध्यमबाट बिरामीकाे स्वास-नलीमा चाप पैदा गरी यसलाई बन्द हुन दिँदैन र अक्सिजनको मात्रा घटबढ हुनबाट जोगाउछ। यसले गहिरो निद्रा लगाउन सहयोग गर्छ तथा रोगका कारण हुने अरु समस्याहरुबाट समेत बचाउछ।

This image has an empty alt attribute; its file name is ivf-banner-1c.gif

माथि उल्लेखित CPAP प्रविधिका साथसाथै अरु विधिहरु पनि अपनाए उपचार सहज हुन्छ। जस्तै वजन कम गर्ने, सुत्ने बेला कोल्टे फर्केर मात्र सुत्ने, गर्धनका मांशपेशीहरुको कसरत गर्ने, नाक-कान-घाँटीको समस्याको उपचार गर्ने, जाड-रक्सी जस्ता अन्य निद्राको औषधि प्रयोग नगर्ने, आदि। साधारण स्लीप एप्निया (MILD TO MODERATE OBSTRUCTIVE SLEEP APNEA) हुनेहरुलाई मुखमा लगाउने यन्त्रहरु तथा कहिलेकाहीं घाँटीको शल्यक्रियाले पनि फाइदा हुन सक्ने हुन्छ। निन्द्राको जाँच गरिसकेपछि रोगको अवस्था हेरि डाक्टरले यी विकल्पका बारेमा उचित परामर्श दिनेछन्।

एमडी, डीएम/छाती रोग विशेषज्ञ, ह्याम्स अस्पताल (याे सामग्री ह्याम्स अस्पतालकाे वेबसाइटबाट लिइएकाे हाे)


प्रतिक्रिया दिनुहोस !