पहिलो पटक नेपालमा शल्यक्रियाविना मुटुको भल्भ प्रत्यारोपण

काठमाडौं–नेपालमा पहिलो पटक शल्यक्रियाविना मुटुको भल्भ प्रत्यारोपण गरिएको छ। सहिद गंगालाल हृदय केन्द्रमा शल्यक्रिया नगरीकनै ट्रान्सक्याथेटर एओर्टिक भल्भ रिप्लेसमेन्ट (टाभी) विधिबाट ८२ वर्षीया महिलामा भल्भ प्रत्यारोपण गरिएको हो। नेपालमै पहिलोपटक गंगालालमा यस्तो शल्यक्रिया गरिएको अस्पतालले शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ।
अस्पतालका चिकित्सकहरुले १६ फागुनमा ती महिलाको टाभी विधिमार्फत् मुटुको भल्भ प्रत्यारोपण गरेका थिए।
यो विधिअनुसार तिघ्राको धमनी फिमोरल आर्टरीबाट विशेष किसिमबाट निर्मित तार अर्थात क्याथरेटरद्वारा मानवनिर्मित भल्भ मुटुभित्र छिराएर रोग भएको एओर्टिक भल्भको स्थानमा प्रत्यारोपण गरिन्छ। प्रत्यारोपण गरिएको भल्भले तुरुन्तै काम गर्ने हुँदा बिरामीलाई चाँडै नै आराम महसुस हुने अस्पतालका निर्देशक डा। चन्द्रमणि अधिकारीले बताए।
‘बिरामीलाई बेहोस गरी छाती र मुटु चिरी शल्यक्रिया गर्नु नपर्ने भएकाले यो पद्धतिमा जटीलता कम हुने र बिरामीलाई चाँडै डिस्चार्ज गर्न सकिने हुन्छ,’ उनले भने, ‘शल्यक्रियाको तुलनामा यस पद्धतिको उपचार प्रभावकारी हुनुका साथै मृत्युदर पनि कम भएको विभिन्न अध्ययनले देखाएको छ।’
सन् २००२ मा यो पद्धतिमा पहिलो पटक फ्रान्समा उपचार गरिएको थियो। अन्य विकसित देशहरुमा पनि यो पद्धतिबाट उपचार हुँदै आएको छ। तर, नेपालमा भने पहिलो पटक उपचार भएको हो। बिरामी निको भएर शुक्रबार नै डिस्चार्ज भएकी छन्।