कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कसरी भइरहेको छ उपचार ?

हिजो रातिदेखि देशका अधिकांश क्षेत्रमा वर्षा भइरहेको छ । हिमाली र उच्च पहाडी भू–भागमा हिमपात भइरहेको छ । उच्च पहाडी क्षेत्रमा पर्ने कर्णालीको जुम्लामा पनि हिमपात भएको छ ।
अहिले जुम्लाको तापक्रम माइनस १ डिग्री सेल्सियस तापक्रम छ। जुम्लाको जनजीवन कष्टकर रहेको स्थानीयले बताएका छन् । हिजैबाट जुम्लामा हिउँ पर्न सुरु भएको थियो । जुम्लिास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान हिउँले पूरै ढाकिएको छ ।
हिउँले उपचारसमेत प्रभावित भइरहेको प्रतिष्ठानका अस्पताल निर्देशक डा.राजीव शाहले जानकारी दिनुभयो ।

उहाँका अनुसार अहिले पनि हिमपात जारी छ । प्रतिष्ठानमा अन्य व्यक्तिहरु समेत आएर पनि हिउँसँग रमिरहेका छन् ।
हिमपात भएपछि प्रतिष्ठानमा ओपिडिमा आउने नयाँ बिरामी छन् । फलोअप र अपरेशन तथा आकिस्मक उपचार पर्ने बिरामीहरु मात्रै प्रतिष्ठानमा छन् ।
थोरै संख्यामा पुगेका नयाँ बिरामीहरुमा चिसोका कारण हुने समस्याहरु देखिएका छन् । अहिले ओपीडीामा फलोअपका बिरामीहरु मात्रै धेरै रहेको डा. राजीवले बताउनु भयो ।
जाडोयाममा दिनहुँ २५० जनासम्म नयाँ बिरामी पुग्ने गरेको प्रतिष्ठानमा चिसो बढेपछि त्यो संख्या घटेर १०० मा झरेको उहाँले जानकारी दिनुभयो ।
डा. राजीवका अनुसार हाल अस्पतालमा करिब ९० जना बिरामी भर्ना छन् । हिटरको प्रयोग गरी न्यानो बनाएर उनीहरुको उपचार चलिरहेको छ ।
प्रतिष्ठानमा ७२ जना विशेषज्ञ, २६ जना मेडिकल अफिसरसहित हाल ३६० जना स्वास्थ्यकर्मी कार्यरत छन् । स्वास्थ्यकर्मी सबै चिसोलाई छिचोल्दै बिरामीको उपचार गरिरहेका छन् ।
यो वर्षको जाडोयाममा जुम्लामा हिँउ परेको यो तेस्रो पटक हो । प्रतिष्ठानमा एमबीबीएस देखि एमडीसम्मको अध्ययनसमेत भइरहेको छ ।