भारतमा कोरोना संक्रमणको अवस्था डरलाग्दो : करिब साढे ३ लाख संक्रमित थपिए, ७०३ को मृत्यु

काठमाडौं – छिमेकी मुलुक भारतमा कोरोना संक्रमणको अवस्था भयावह रुपमा बढिरहेको छ। दैनिक संक्रमितको संख्या अब करिब साढे ३ लाख पुगेको छ। पछिल्लो २४ घण्टामा ३ लाख ४७ हजार २५४ संक्रमित थपिएका छन्। बिहीबारको तुलनामा शुक्रबार फेला परेका नयाँ संक्रमित ९ प्रतिशतले बढी हो। पोजिटिभ दर १६.४१ प्रतिशतबाट १७.९४ प्रतिशतमा पुगेको छ।
सोही समयमा २ लाख ५१ हजार ७७७ संक्रमित संक्रमणमुक्त भएका छन् भने ७०३ संक्रमितको मृत्यु भएको छ। धेरै समयपछि मृत्युको संख्या ७ सय माथि गएको हो। यसभन्दा पछिल्लो पटक २८ अक्टोबर २०२१ मा बढी मृत्यु भएको थियो। त्यसबेला ८०७ जनाले कोरोनाबाट ज्यान गुमाएका थिए। यसपछि केही दिनसम्म मृत्यु हुनेको संख्या ६ सय नाघेको थियो तर, त्यसयता पहिलो पटक ७ सय नाघेको छ।

भारतमा हाल सक्रिय संक्रमितको संख्या २० लाख १८ हजार ८२५ रहेको छ। अहिलेसम्म संक्रमणबाट मृत्यु हुनेको संख्या ४ लाख ८८ हजार ३९६ पुगेको छ।
भारतमा ओमिक्रोन संक्रमितको संख्या ९ हजार ६९२ पुगेको छ।