१० माघ २०७८, सोमबार
१७ पुष २०७८, शनिबार १९:०५

सन् २०२१ फर्केर हेर्दा : कोरोनाबाहेक यी भाइरसले निम्त्याए विश्वमा ठूलो विनाश


काठमाडौं – सन् २०२२ सुरु भइसकेको छ। सन् २०२१ ले हामीमाझ तितामिठा यादहरु छोडेर गएको छ। कोरोना महामारीले पनि २०२१ मा विश्वलाई नराम्ररी प्रभावित पार्यो। करोडौं मानिस संक्रमित हुँदा लाखौंले ज्यान गुमाए।

सन् २०२१ ले विश्वलाई कोरोनाबाट मात्र होइन अन्य खतरनाक भाइरसबाटसमेत प्रभावित बनायो। कोरोनाले नराम्ररी गाँजेको हाम्रो जीवनलाई अन्य खतरनाक भाइरसको आक्रमणले अझ कष्टमय बनायो। जसका कारण धेरैले ज्यान गुमाए। यो पीडा जनताले वर्षौंसम्म भुल्न सक्ने छैनन्।

२०२१ मा ठूलो विनाश निम्त्याएका कोरोनाबाहेक अन्य भाइरस

नोरोभाइरस

यो भाइरस सर्वप्रथम सन् १९६८ मा अमेरिकाको नोर्वाल्कको एक स्कुलमा फेला परेको थियो। अचानक पखाला लाग्नु र उल्टी हुनु यो सङ्क्रमणको लक्षण हो। त्यसबाहेक उच्च ज्वरो र शरीरमा दुखाइ पनि यसको लक्षण हो। सङ्क्रमित भएको एकदेखि दुई दिनपछि लक्षणहरू देखा पर्छन्।

यो भाइरस निकै तीव्र गतिमा फैलिन्छ। सङ्क्रमित व्यक्तिबाट भाइरसका करोडौँ कण निस्किन सक्ने र अरूलाई सर्न केही कण मात्रै पर्याप्त हुने बताइएको छ। सङ्क्रमित व्यक्तिसँग संसर्ग भए वा थुकबाट यो भाइरस फैलिन सक्ने सम्भावना रहन्छ।

यो भाइरसलाई अङ्ग्रेजीमा ‘विन्टर भमिटिङ बग’ पनि भनिन्छ। यसको सङ्क्रमण हुँदा मानिसलाई उल्टी र पखाला लाग्छ। नोरोभाइरस जनावरबाट मानव शरीरमा सर्छ। यो अतिसङ्क्रामक हुन्छ। विज्ञहरूले यसलाई “भाइरसको संसारको फरारी” को सङ्ज्ञा दिने गरेका छन्।

इङ्ग्ल्यान्डमा गत वर्षको जुलाई महिनामा १५४ जनामा नोरोभाइरस सङ्क्रमण भएको पुष्टि भएको थियो भने भारतको केरलस्थित वायनाड जिल्लाको विथिरनजिकै रहेको पुकोडेस्थित एक पशुचिकित्सा क्याम्पसका १३ जना विद्यार्थी नोरोभाइरसबाट सङ्क्रमित भएका थिए।

अनुसन्धानकर्ताहरूले ४० वर्षदेखि नोरोभाइरस सङ्क्रमणको उपचार खोजिरहेका छन्। तर यसका विरुद्ध कुनै उपाय पनि प्रभावकारी देखिएको छैन।

चिकित्सकहरूका अनुसार यो भाइरसबाट जोगिन पटकपटक साबुन र तातो पानीले हात धुनुपर्छ। कपडा र शौचालय सफा राख्नुपर्छ र पानीमा ‘ब्लीच’ हालेर घरको सफाइ गर्नुपर्छ। अल्कोहलले कोरोनाभाइरसलाई मारे पनि नोरोभाइरसलाई मार्न सक्दैन। तर ६० डिग्री तापमानमा कपडा धुँदा भने यो भाइरस मर्न सक्छ।

जिका भाइरस

जिका भाइरस विशेष गरी लामखुट्टेको टोकाइबाट सर्ने एक किसिमको भाइरस हो। यो भाइरसको पहिलो केस युगाण्डामा देखा परेको थियो। यो भाइरस दिउँसो धेरै सक्रिय हुने एडिस लामखुट्टेको टोकाइबाट सर्छ । गर्भवती भएको बेला यो भाइरस संक्रमित आमाबाट बच्चामा सर्न सक्छ । संक्रमितसँगको असुरक्षित यौन सम्पर्कबाट र संक्रमित व्यक्तिको रगत लिँदा वा अंग प्रत्यारोपण गर्दा पनि यो भाइरस सर्न सक्छ।

जिका भाइरस संक्रमित धेरै व्यक्तिहरूमा कुनै पनि लक्षण नदेखिन सक्छ । संक्रमित लामखुट्टेले टोकेको तीनदेखि १४ दिनभित्र केही लक्षणहरू देखिन पनि सक्छ। ज्वरो आउने, आँखा रातो हुने वा सुन्निने, अत्यधिक जोर्नी दुख्ने (विशेष गरी हात र खुट्टा), शरीरमा बिमिराहरू देखिने हुन्छ। यस्तै, संक्रमित हुँदा मांसपेशी, टाउको, पेट वा आँखा दुख्ने र थकान महसुस हुनेजस्ता लक्षणहरू पनि देखिन सक्छन्।

भारतको राजधानी नयाँ दिल्ली, केरला र उत्तर प्रदेश राज्यमा जिका भाइरसको संक्रमण व्यापक देखियो। भारतमा संक्रमण बढेपछि नेपालमा पनि सावधानी अपनाइएको थियो। नेपालमा पनि थुप्रैलाई यसको संक्रमण देखिएको थियो।

विश्व स्वास्थ्य संगठनका अनुसार सन् १९४७ मा बाँदरमा जिका भाइरस देखिएको थियो। पछि १९५२ मा युगान्डा र युनाइटेड रिपब्लिक अफ तान्जानियामा मानिसमा देखिएको थियो। त्यसपछि पहिलो लहर माइक्रोनेसियामा सन् २००७ मा देखिएको थियो।

रिफ्ट भ्याली फिभर

रिफ्ट भ्याली फिभर अफ्रिकाका धेरै देशहरूमा फैलिएको छ। यो रोग रिफ्ट भ्याली फिभर नामक भाइरसको कारणले हुन्छ। यो रोगमा रगत बग्ने र भ्रम सिर्जना हुने गर्छ। संक्रमण चाँडै कलेजोमा पनि पुग्छ। यो रोग धेरै घातक छ। रिफ्ट भ्याली फिभरबाट संक्रमित व्यक्तिमा रगत बग्न थाल्यो भने ५० प्रतिशतको मृत्यु हुने निश्चित हुन्छ।

This image has an empty alt attribute; its file name is norvic-01.gif

यो भाइरस पहिलो पटक केन्याको रिफ्ट भ्यालीमा सन् १९३१ मा पत्ता लागेको थियो। यसले मुख्यत: जनावरहरूलाई असर गर्छ तर, मानिसहरूलाई पनि संक्रमित गराउन सक्छ। धेरैजसो मानव संक्रमणहरू संक्रमित जनावरहरूको रगत वा अंगहरूसँगको सम्पर्कबाट र संक्रमित लामखुट्टेको टोकाइबाट सर्ने गर्छ। भाइरस मानवबाट मानवमा सर्ने प्रमाण फेला परेको छैन। यो भाइरसले पनि सन् २०२१ मा केही व्यक्ति पीडित बने।

निपाह भाइरस

सन् १९९९ मा मलेसियाबाट सुरु भएको निपाह भाइरसको प्रकोप आज विश्वका कैयन देशमा फैलिसकेको छ। यो भाइरस सुंगुरबाट मानिसमा आएको हो। भारत, बंगलादेश, कम्बोडिया, इन्डोनेसिया, मडागास्कर, फिलिपिन्स र थाइल्याण्डमा सन् २०२१ मा यो भाइरसको प्रकोप देखिएको थियो। भारतलगायत केही मुलुकमा संक्रमणले केहीको ज्यानसमेत लियो। यसबाट संक्रमण भएको दुई–तीन दिनमा बिरामी कोमामा जान्छन्। यसको संक्रमणबाट पीडित भएकामध्ये ५० देखि ७५ प्रतिशत मानिसहरु मर्छन्।

नेपालको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत भदौमा सूचना जारी गर्दै निपाह भाइरसको सङ्क्रमणप्रति सचेत रहन आग्रह गरेको थियो। मन्त्रालयले भारतमा यस प्रकारको भाइरसको संक्रमण देखिएकाले नेपालमा पनि फैलिन सक्ने भएकोले सचेत रहन आग्रह गरेको थियो।

निपाह भाइरस जनावरबाट जनावर, जनावरबाट मानिस र मानिसबाट मानिसमा सर्ने गर्दछ। संक्रमण चमेराबाट सुँगुर, गाई, गोरु जस्ता जनावर हुँदै मानिसमा सर्ने गर्दछ। यस्तै सङ्क्रमित पशुको संसर्गमा आएको फलफूल प्रयोग गरेमा, संक्रमित व्यक्तिको रगत, दिसा र पिसावसँग प्रत्यक्ष सम्पर्कमा आएमा पनि निपाह भाइरस सर्ने गर्दछ।

उक्त भाइरसका लक्षण ज्वरो आउने, रिङ्गटा लाग्ने, टाउको दुख्ने, मांसपेशी दुख्ने, वाकवाकी लाग्ने, श्वासप्रश्वासमा कठिनाइ हुने र टन्सिलाइटिस देखिने गर्दछ। यो रोग बढी संक्रामक पनि हुने गरेको छ। मानिस वा जनावरलाई यस बिरामीबाट निको बनाउन हालसम्म कुनै पनि औषधि वा सुई बनेको छैन।

मरवर्ग भाइरस

इबोला जस्तै मरवर्ग भाइरस पनि निकै खतरनाक छ। यसलाई इबोलाको दाइभाइ पनि भनिन्छ। यो रोग पहिलो पटक सन् १९६७ मा जर्मनी र सर्बियामा देखा परेको थियो तर, आज यो धेरै अफ्रिकी देशका लागि टाउको दुखाइ बनेको छ। डब्ल्यूएचओका अनुसार यसबाट संक्रमित बिरामीमध्ये झण्डै ८८ प्रतिशतको मृत्यु हुन्छ।

यस वर्ष गिनी र युगान्डामा मरवर्गका केसहरू रिपोर्ट गरिएको थियो। यसका संक्रमितलाई पखाला र बान्ता हुने हुन्छ। धेरैजसो बिरामीहरु रगत बग्नेबित्तिकै मर्छन्।

पहेंलो ज्वरो

पहेंलो ज्वरोको भाइरस एकबाट अर्को व्यक्तिमा छिटो फैलिन्छ। सन् २०२१ मा नाइजेरियामा पहेंलो ज्वरोका १ हजार ३१२ केसहरू रिपोर्ट गरिएको थियो। पहेंलो ज्वरो भाइरस बोक्ने एडिस एजिप्टाई लामखुट्टेको टोकाइबाट लाग्ने गर्छ। यो रोगमा कलेजो र मृगौला बिग्रन थाल्छ। ज्वरो आउने, बान्ता हुने, पेट दुख्ने, जन्डिस हुने जस्ता लक्षण देखिन्छन्।

This image has an empty alt attribute; its file name is viber_image_2021-09-15_13-19-11-782.gif

समयमै उपचार नगरे ७ देखि १० दिनभित्र बिरामीको ज्यान जान सक्छ। डब्ल्यूएचओका अनुसार अफ्रिकाका ४७ देश, मध्य अमेरिकाका ३४ र दक्षिण अमेरिकाका १३ देश यो रोगको चपेटामा छन्। तर, खोप लगाएर यो रोगबाट बच्न सकिन्छ।

इबोला

इबोला एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने खतरनाक रोग हो। यो इबोला भाइरसबाट फैलिन्छ। यो रोग लागेका करिब आधा बिरामीको मृत्यु हुन्छ। यो रोग लागेपछि बिरामीमा ज्वरो, थकान, मांसपेशी दुख्ने, घाँटी दुख्ने आदि लक्षण देखा पर्छन्, त्यसपछि पखाला र बान्ता हुन थाल्छ।

सन् २०२१ मा यो रोगले कंगोमा धेरै विनाश ल्यायो। सन् २०१४ देखि यो रोग महामारीको रुपमा देखा परेको छ। गिनी, सियरा लियोन र लाइबेरिया यस रोगका प्रमुख केन्द्र हुन्।

डब्ल्यूएचओले यस रोगलाई आगामी वर्षहरूमा विश्वव्यापी स्वास्थ्यका लागि सबैभन्दा खतरनाक १० रोगहरूको सूचीमा राखेको छ। सन् २०१६ सम्म ११ हजारभन्दा बढीको ज्यान लिइसकेपछि इबोलाको संक्रमण रोकिए पनि यस वर्ष भने यसले फेरि शिर उठाएको छ। डब्ल्यूएचओका अनुसार यस वर्ष गिनीमा इबोलाका कूल २३ वटा घटना सार्वजनिक भएका छन् जसमा १२ जनाको मृत्यु भएको छ।


प्रतिक्रिया दिनुहोस !