१० माघ २०७८, सोमबार
१४ पुष २०७८, बुधबार २०:१७

इच्छाराज तामाङलाई पुर्पक्षका लागि थुनामा राख्न अदालतको आदेश


काठमाडौँ — ठगी मुद्दामा मुछिएका व्यवसायी तथा पूर्वसांसद इच्छाराज तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउन काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ ।

बुधबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालाको इजलासले तामाङ र केशवलाल श्रेष्ठलाई थुनामा पठाउन आदेश दिएको काठमाडौं जिल्ला सहकारी कार्यालयका प्रमुख गंगाप्रसाद पौडेलले जानकारी दिए ।

सिभिल ग्रूपका पूर्वअध्यक्ष तामाङसहितका प्रतिवादीहरूलाई ५ अर्ब ६७ करोड ५५ लाख २४ हजार ३ सय ७९ रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले पक्राउ गरेको थियो ।

मुद्दाको अन्तिम टुंगो नलागेसम्म तामाङ थुनामै रहनेछन् । तर उनले जिल्ला अदालतको आदेशलाई पाटन उच्च अदालतमा चुनौती दिनसक्ने कानुनी व्यवस्था छ । तामाङ, उनकी पत्नी र छोरीसहित ४२ जनाविरुद्ध ठगी मुद्दा दायर भएको थियो।

सिभिल सेभिङ एवं क्रेडिट को–अपरेटिभमा बचतकर्ताहरूको रकम हिनामिना गरेको भन्दै सिआइबीले असोज १८ गते तामाङलाई पक्राउ गरेको थियो । तामाङ दोस्रो संविधान सभामा एमालेको तर्फबाट सांसदसमेत भएका थिए ।


प्रतिक्रिया दिनुहोस !