१० माघ २०७८, सोमबार
४ पुष २०७८, आईतवार १६:०६

चिरफार नगरी ‘न्यूरो सर्जरी’ गर्ने डाक्टर


डा. सुवास फुँयाल।

चिरफार नगरी मस्तिष्कको नसा सम्बन्धी समस्याको सजिलो, छिटो र सुरक्षित उपचार हुने न्यूरो इन्टरभेन्सन पद्धतिबाट नेपालमा धेरै बिरामीले उपचार पाएका छन्, जसमा डा. सुवास फुँयालको भूमिका अग्रणी छ।

एक दशक अघिसम्म चिरफार विनै मस्तिष्कको शल्यक्रिया गर्नु नेपाल मात्र नभई विश्वकै लागि कल्पनाको विषय थियो। तर, यो कल्पना अहिले चिकित्सा विज्ञानमा फड्को मारिसकेका देशसँगै नेपालमा समेत यथार्थमा परिणत भइसकेको छ। अहिले यो प्रविधिबाट मस्तिष्कको नसा सम्बन्धी जटिल किसिमको शल्यक्रिया पनि नेपालमै हुन्छ, जसका कारण जीवनभर पक्षाघात भएर बस्नुपर्ने अवस्थामा पुग्न सक्ने धेरै बिरामीले राहत पाएका छन्।

शल्यक्रिया विना हात या खुट्टाको नसाबाट तार (क्याथेटर) छिराएर समस्याग्रस्त मस्तिष्कको नसाको उपचार गर्ने प्रविधिलाई न्यूरो इन्टरभेन्सन सर्जरी भनिन्छ। 

बन्द भएको मस्तिष्कको नसा खोल्ने, नसा सुन्निएर फुटे बन्द गर्ने र नसा च्यातिएर ‘ह्यामरेज’ भए भित्रबाटै सिलाउन सकिने यो प्रविधिबाट नेपालमा हालसम्म सात सयभन्दा बढीले सेवा लिइसकेका छन्।

यसरी शल्यक्रिया गर्ने नेपालका पहिलो डीएम न्यूरो इन्टरभेन्सनिस्ट चिकित्सक हुन्, डा. सुवास फुँयाल।

काठमाडौं बाँसबारीस्थित न्यूरो अस्पतालमा हामी पुग्दा डा. फुँयाल शल्यक्रियाकै तयारीमा थिए। त्यो दिन ६४ वर्षीया एक महिला ‘ब्रेन ह्यामरेज’ भएर अस्पताल भर्ना भएकी थिइन्। दिमागको नसामा बग्नुपर्ने रगत नसा च्यातिएर बाहिर निस्किएपछि ती महिलालाई समस्या देखिएको थियो।

नसा च्यातिएको ठाउँ, नसाको प्वालको अवस्था र बिरामीलाई हुन सक्ने जोखिमको पहिचान गरेपछि डा. फुँयाल अपरेशनका लागि क्याथ ल्याब छिरे। करीब २० मिनेटमा खुट्टाबाट सानो तार (क्याथेटर) छिराउँदै नसाको माध्यमबाट मस्तिष्कमा पुर्‍याइयो। उक्त प्रक्रिया क्याथ ल्याब बाहिरको मनिटरमा प्रष्ट देखिएको थियो।

मस्तिष्कमा सानो तार पुगेपछि त्यहाँ केही समय नसामा परेको प्वाल टाल्ने र सिलाउने काम भयो। केही समयको अन्तरालमै उक्त क्याथेटर झिकियो। डा. फुँयाल सहितको टोली अपरेशन सफल गरेर निस्कियो। बिरामीलाई अपरेशन थिएटरबाट पोस्ट-अपरेटिभ वार्डमा सारियो।

न्यूरो इन्टरभेन्सन प्रविधि नहुँदो हो त मस्तिष्कको शल्यक्रिया गर्न यति सजिलो, छिटो र सुरक्षित नहुने डा. फुँयाल बताउँछन्। नेपालका अब्बल न्यूरो इन्टरभेन्सनिस्ट डा. फुँयालले मस्तिष्कको चिरफार विना शल्यक्रिया गरेर धेरै बिरामीलाई सहज महसूस गराएका छन्। उनका अनुसार, न्यूरो इन्टरभेन्सन विधिमा दिमागमा रगत पुर्‍याउने नसा सम्बन्धी रोगहरूको मस्तिष्क नखोली उपचार गरिन्छ। मस्तिष्कघात, एन्युरिज्म (नसा सुन्निएर फुट्ने)को उपचार यस विधिबाट गरिने उनी बताउँछन्। 

यो प्रविधिमा चिरफार नगरी शल्यक्रिया गरिने भएकाले ठूलो घाउ हुँदैन। चिरफारबाट उपचार गर्दा बिरामी सघन उपचार कक्ष (आईसीयू)मा बस्नुपर्ने समय बढ्नेदेखि उपचारको जटिलता समेत बढ्छ। त्यही समस्या समाधान गर्न चिरफारको विकल्पमा न्यूरो इन्टरभेन्सन प्रविधि विकास भएको उनको भनाइ छ।

न्यूरो इन्टरभेन्सन विकासको कथा

जसरी सिटी स्क्यान मार्फत दिमागभित्र के भइरहेको छ भन्ने थाहा पाउन सकिन्छ, त्यसरी नै दिमागको नसाको कुरा न्यूरो इन्टरभेन्सन विधिबाट थाहा हुन्छ। डा. फुँयालका अनुसार, यो प्रविधिमा सबैभन्दा पहिला खुट्टा या घाँटीका नसाहरूबाट तार (क्याथेटर) छिराएर दिमागको नसामा के भइरहेको छ भन्ने हेर्न सकिन्छ।

सन् १९६०/७० ताका दिमागको नसाको अध्ययनका लागि मात्रै न्यूरो इन्टरभेन्सनको शुरूआत भएको थियो। मस्तिष्कको नसाको गतिविधि हेर्न सकिन्छ भने भित्रबाटै त्यसको उपचार पनि गर्न सकिन्छ कि भन्ने विषयमा चिकित्सा वैज्ञानिकहरूले अनुसन्धान गर्न थाले।

सन् १९८०/९० को दशकमा आएर यस विधिबाट उपचार गर्न सकिने निष्कर्ष सहित उपचारका तरीकाहरू खोजिन थाले। त्यसका लागि उनीहरूले प्रविधि र औजारको विकास गर्दै लगे।  सन् २००० को शुरूआतमा केही देशमा नसा सुन्निएका समस्याहरूको उपचारमा न्यूरो इन्टरभेन्सन विधि अपनाइयो।

बन्द भएको नसालाई पनि यो विधिबाट उपचार गर्न सकिने देखिएपछि २०१० मा नयाँ उपचार पद्धति र उपकरण बन्न थाल्यो। तर, यो विधिलाई सबै देशले अपनाएका थिएनन्। सन् २०१५ मा अमेरिकन स्ट्रोक एसोसिएशन र हार्ट एसोसिएशनले कुनै पनि ठूलो नसा बन्द भएको समस्याका लागि न्यूरो इन्टरभेन्सन सबैभन्दा उपयुक्त र पहिलो उपचार विधि भएको घोषणा गर्‍यो। “त्यसपछि यो विधिलाई धेरै देशहरूले अपनाए, त्यही वेला नै मैले यो प्रविधिको विषयमा बुझेर पढ्ने मनसाय बनाएको हुँ,” डा. फुँयाल भन्छन्।

नेपालमा न्यूरो इन्टरभेन्सन विधिबाट सन् २०१९ फेब्रुअरीमा उपचार शुरू भएको हो। पहिलो पटक ग्रान्डी अस्पतालमा यो उपचार सेवा थालिएको थियो।

डा. फुँयालका अनुसार, मस्तिष्कघात हुँदा दिमागको नसा बन्द हुन्छ। शरीरको चाल बिग्रिनु, एउटा वा दुवै आँखाले धमिलो देख्नु, मुख एकातिर बाङ्गिनु वा बोली लरबराउनु मस्तिष्कघातको लक्षण हो। यस्ता लक्षण भएका बिरामीको मस्तिष्कको नसा तार या औषधिबाट तत्कालै खोल्न मिल्ने हुन्छ। ६ घण्टाभित्र बिरामी अस्पताल पुगेमा तारबाट नसा खोल्न सकिन्छ। मस्तिष्कको नसा धेरै क्षतविक्षत नभएका कतिपय बिरामीलाई भने ६ घण्टापछि अस्पताल पुर्‍याउँदा पनि उपचार हुन्छ। तर, यस्ता बिरामी अपवादमा मात्र भेटिने डा. फुँयालको अनुभव छ।

“दिमागको नसा च्यापिएर या फुटेर रगत छरिएको हुन्छ, त्यस्तो अवस्थामा तार मार्फत च्यातिएको नसा सिलाउने र बन्द भएको रगतलाई खोल्ने काम नै न्यूरो इन्टरभेन्सन हो,” डा. फुँयाल भन्छन्।

अन्य देशमा न्यूरो इन्टरभेन्सन प्रविधिले फड्को मारिसके पनि नेपालमा भने धेरै काम गर्न बाँकी रहेको उनको भनाइ छ। यकिन तथ्याङ्क नभए पनि यहाँका धेरै बिरामीलाई चिरफार विनै मस्तिष्कको जटिलभन्दा जटिल शल्यक्रिया गर्न सकिन्छ। तर, समस्या के छ भने अझै पनि अधिकांश चिकित्सक टाउको चिरेरै शल्यक्रिया गर्न सिफारिश गर्छन्। 

एकातिर चिकित्सकहरू नयाँ प्रविधिमा अभ्यस्त छैनन्, यस्तै धेरै बिरामीलाई नयाँ उपचार विधिबारे थाहा छैन। जसका कारण धेरैजसो बिरामी टाउको चिरेर उपचार गर्ने चिकित्सककहाँ पुग्ने फुँयाल बताउँछन्। उनी एक उदाहरण दिन्छन्, “पहिला पित्तथैलीको शल्यक्रिया चिरफार गरेर गरिन्थ्यो, अहिले दूरबिनबाट गरिन्छ। तर, अझै पनि पित्तथैलीका बिरामी सर्जरी गर्ने डाक्टरकोमा पुगे भने चिरेर नै गर्छन्, न्यूरोको क्षेत्रमा पनि त्यही भएको छ।” 

समयमै अस्पताल पुर्‍याए जोगिन्छ ज्यान

चिकित्सकहरूका अनुसार, मस्तिष्कघात मानिसको दिमागमा रक्त सञ्चारको कमीले हुने गर्छ। दिमागको नसामा रगतको सञ्चारमा कमी भएमा २ मिनेटमा २० लाख कोषिका मर्ने गर्छन्। मस्तिष्कघात हुने बित्तिकै मानिसको मृत्यु  नभए पनि मानिसहरू जीवनभर चल्न नसक्ने गरी अपाङ्ग हुन्छन्। 

डा. फुँयालका अनुसार, विश्वव्यापी रूपमा मानिसमा अपाङ्गताको पहिलो र मृत्युको चौथो कारण मस्तिष्कघात हो। नेपालमा भने अपाङ्गताको पहिलो र मृत्यु हुनुको तेस्रो ठूलो कारण मष्तिष्कघात हो। यस्तो हुनुमा बिरामीलाई अस्पताल पुर्‍याउन लाग्ने समयले निकै ठूलो भूमिका खेल्छ, त्यसैले बिरामीलाई यस्तो कुनै पनि लक्षण देखिएमा समयमै अस्पताल लैजानुपर्ने डा. फुँयाल बताउँछन्। बिरामीलाई समयमा अस्पताल ल्याउन सकियो भने जिन्दगीभर अपाङ्गताको अवस्था नआउने उनको भनाइ छ। 

“न्यूरो इन्टरभेन्सन सेवा भएका अस्पतालमा बिरामीलाई २४ घण्टाभित्र पुर्‍याउन सके अपाङ्ग र मृत्यु हुने दुवै सम्भावनाबाट बचाउन सकिन्छ,” डा. फुँयाल भन्छन्। 

निकै सफल उपचार विधि भए पनि न्यूरो इन्टरभेन्सन विधि धेरै महँगो छ। खास गरी शुरूमै एकमुष्ठ रूपमा धेरै खर्च गर्नुपर्ने हुन्छ। डा. फुँयालका अनुसार, यो उपचार विधिबाट बन्द भएको नसा खोल्न मात्रै दुई लाखदेखि पाँच लाख रुपैयाँसम्म लाग्छ। त्यस्तै, नसा सुन्निएर फुट्दा दुई/तीन लाखदेखि उपचार हुन्छ भने कुनैमा आठदेखि दश लाखसम्म खर्च हुन्छ।

“चिरफारबाट शल्यक्रिया गर्दा आईसीयूमा बस्दाको र दीर्घकालीन लाग्ने खर्चसँग तुलना गर्दा न्यूरो इन्टरभेन्सन धेरै महँगो त होइन, तर शुरूमा महँगो पर्छ,” उनी भन्छन्। 

सन् २००४ सम्म पक्षाघात भएका बिरामीलाई ४/५ घण्टामा अस्पताल पुर्‍याउँदा बन्द भएको नसा खोल्न रगतको ढिक्का पगाल्ने औषधि दिइन्थ्यो। जुन उपचार पद्धतिले बिरामी अपाङ्ग हुनबाट जोगिन्छ वा जोगिंदैन भन्ने यकिन थिएन। तर, सन् २०१५ पछि अपनाइएको न्यूरो इन्टरभेन्सनले बिरामीलाई पक्षाघात भएको २४ घण्टापछि ल्याउँदा पनि सफल उपचार भएको सङ्ख्या धेरै रहेको डा. फुँयाल बताउँछन्।  

“विश्वमा उपचारका नयाँ विधि आइसके पनि नेपालमा थाहा नहुनु दु:खद छ, अझै पनि बिरामीलाई समयमै र न्यूरो इन्टरभेन्सन प्रविधि नभएको अस्पताल पुर्‍याउँदा अपाङ्गताको समस्या हुने धेरै छन्,” उनी भन्छन्।

अकस्मात् मोडिएको बाटो

पढाइमा सानैदेखि मेधावी झापा सुरुङ्गाका फुँयालले आईएस्सी पढ्दासम्म मेडिकल क्षेत्रमा आउँछु भन्ने सोचेका थिएनन्। विज्ञान पढ्दै गर्दा बुबाले डाक्टर बन्नुपर्छ भनेपछि एमबीबीएसको प्रवेश परीक्षाको तयारीमा जुटेको बताउने उनी आफ्नो भन्दा ज्यादा परिवारको रहरले चिकित्सक भएको बताउँछन्। 

प्रवेश परीक्षामा नाम निकालेर धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट एमबीबीएस सकेपछि उनले भारतको पोस्ट-ग्राजुएट इन्स्टिच्यूट अफ मेडिकल एजुकेशन एन्ड रिसर्च इन्स्टिच्यूट (पीजीआई चण्डीगढ)मा रेडियोलोजी पढ्न नाम निकाले। त्यस वेला रेडियोलोजी पढ्न सार्क सदस्य राष्ट्रका लागि वर्षमा दुईदेखि तीन सीट मात्र छुट्याइन्थ्यो। त्यही सीमित सीटमा छानिन सफल फुँयाल रेडियोलोजी पढ्न थाले। त्यस वेलासम्म उनले रेडियोलोजी विधामा नै करिअर बनाउने सोचेका थिए।

सन् २०१५ मा अमेरिकन स्ट्रोक एसोसिएशन र हार्ट एसोसिएशनले दिमागको नसा बन्द भएको अवस्थामा पनि तार छिराएर खोल्ने उपचार सम्बन्धी निर्देशिका बनाए। जुन समयमा न्यूरो इन्टरभेन्सन प्रविधि संसारभर व्यापक विस्तार भइरहेको थियो। त्यति वेला उनी पीजीआई चण्डीगढमा एमडीको अन्तिम वर्षमा थिए।

उनले अध्ययन गरिरहेको अस्पतालमा पनि मस्तिष्कको नसामा समस्या भएका बिरामीहरू आउँथे। उनका अग्रज चिकित्सकले इन्टरभेन्सन विधिबाट मस्तिष्कको रक्तनसा खोली बिरामीलाई हिंड्न, बोल्न सक्ने बनाएर पठाउन थालिसकेका थिए। त्यसपछि उनलाई रेडियोलोजी भन्दा न्यूरो इन्टरभेन्सनमा चाख बस्यो। 

“यो उपचार पद्धतिले एकाएक मलाई तान्यो र यो विषय पढेर नेपालमा उपचार शुरू गर्छु भन्ने सोच बनाएँ,” डा. फुँयाल भन्छन्।
“यो उपचार पद्धतिले एकाएक मलाई तान्यो र यो विषय पढेर नेपालमा उपचार शुरू गर्छु भन्ने सोच बनाएँ,” डा. फुँयाल भन्छन्।

एमडी अध्ययन सकेर नेपाल फर्किएपछि उनले ग्रान्डी अस्पतालमा कामको अवसर पाए। त्यहाँ मस्तिष्कघात भएका धेरै बिरामी आउँथे। त्यसले उनलाई न्यूरो इन्टरभेन्सन पढ्न झन् उक्सायो। त्यसपछि उनी यो विषयमा तीन वर्षको डीएम कोर्स गर्न भारतको अल इन्डिया इन्स्टिच्यूट अफ मेडिकल साइन्सेस (एम्स) अस्पताल गए। उक्त अवधिमा उनले इन्टरभेन्सन प्रविधिबारे राम्रो ज्ञान र सीप हासिल गरे। त्यस वेला भारतका धेरै अस्पतालमा काम गर्ने अवसर पाएका उनी अध्ययनपछि नेपाल फर्किए।

आफ्नै देशमा न्यूरो इन्टरभेन्सन शुरू गर्ने सोच त थियो, सन् २०१९ फेब्रुअरीदेखि ग्रान्डी अस्पतालमा सिङ्गल क्याथ ल्याबबाट यो सेवा शुरू गर्न उनलाई सोचे जस्तो सजिलो भएन। त्यस वेला उनले विभिन्न अस्पतालका चिकित्सकहरूलाई भेटेर ‘स्ट्रोकले नसा बन्द भएको अवस्थामा न्यूरो इन्टरभेन्सन पद्धतिबाट नसा खोल्न मिल्छ, म गर्न सक्छु’ भन्दै हिंड्नुपर्‍यो। त्यति नगरे नयाँ उपचार पद्धतिमा बिरामी पाउन मुश्किल थियो।

अप्रिलको अन्त्यतिर नर्भिक अस्पतालका डाक्टर पंकज जलानले एकजना बिरामी पठाए। उक्त बिरामीको नसा पूरै बन्द थियो भने पक्षाघात भएर एकातिरको हातगोडा नचल्ने भइसकेको थियो। डाक्टर फुँयालको टीमले क्याथ ल्याबमा लगेर नसा खोल्यो। दुई-तीन दिनमा बिरामी हिंड्न र बोल्न सक्ने भए। 

पहिलो पटक र पहिलो प्रयासमै न्यूरो इन्टरभेन्सनबाट उपचार सफल भएपछि धेरै न्यूरो चिकित्सकको ध्यान यस प्रविधिमा तानियो।  उनीहरूले आफूकहाँ आएका जटिल बिरामी डा. फुँयाललाई रेफर गर्न थाले। उनले त्यो वेला ग्रान्डी अस्पतालमा एक वर्षमा मस्तिष्कघातका दुई सयभन्दा बढी बिरामीको सफल उपचार गरे।

काठमाडौं बाँसबारीस्थित न्यूरो अस्पतालको क्याथ ल्याब।
यस्तो उपचारमा भ्याइनभ्याई भइरहेका वेला उपेन्द्र देवकोटा मेमोरियल न्यूरो अस्पतालले न्यूरो इन्टरभेन्सन सम्बन्धी उच्च गुणस्तरको ‘बाइप्लेन क्याथ ल्याब’ भित्र्यायो। त्यसयता उक्त अस्पतालमा काम गर्दै आएका डा. फुँयालले न्यूरो इन्टरभेन्सन प्रविधिबाट सात सयभन्दा बढी बिरामीको उपचार गरिसकेका छन्।

नयाँ नयाँ उपचार पद्धति भित्रिंदैमा सबैको पहुँच हुन सकेन भने धेरै बिरामीलाई बचाउन सकिंदैन। त्यसका लागि उपचार शुल्क सबैले धान्न सक्ने हुनैपर्छ। सरकारी अस्पताल होस् या निजी, न्यूरो इन्टरभेन्सन विधिबाट उपचार गर्न जटिलताको आधारमा रु.५० हजारदेखि २० लाखसम्म खर्च लाग्छ। तर, सरकारले उपकरण आयातमा कर हटायो भने यो शुल्क सस्तिन सक्ने डा. फुँयाल बताउँछन्। मस्तिष्कघात र पक्षाघात भई न्यूरो इन्टरभेन्सन उपचार चाहिने बिरामीका लागि स्ट्रोक फाउन्डेसन बनाउन सके गरीब एवं विपन्न बिरामीले सस्तोमा उपचार पाउन सक्ने उनको भनाइ छ। साथै, सरकारी अस्पतालहरूमा सरकारले यस्तो सेवा विस्तार गरेमा धेरै बिरामी लाभान्वित हुने उनी देख्छन्।

“उपचारको नयाँ प्रविधि र पद्धति शुरू भएर नेपालमा धेरै बिरामीले जीवनदान त पाएका छन्, तर यो सँगै तीतो यथार्थ के हो भने यस्ता प्रविधि र उपचार पद्धति सरकारी अस्पतालमा विस्तार नगर्दासम्म बचाउन सकिने धेरै बिरामीहरू अकालमै मर्ने या आजीवन अपाङ्ग हुने दरमा कमी आउँदैन,”

उनी भन्छन्।



प्रतिक्रिया दिनुहोस !