३० बैशाख २०७९, शुक्रबार
२६ मंसिर २०७८, आईतवार २१:००

मुस्ताङमा पनि लागू भयो स्वास्थ्य बिमा


मुस्ताङका ५ वटै स्थानीय तहमा स्वास्थ्य बिमा कार्यक्रम सुभारम्भ गर्दै सांसद महेन्द्रबहादुर थकाली।

जोमसोम : मुस्ताङका ५ वटै स्थानीय तहमा स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको छ । नेपालको संविधानले नागरिकको स्वास्थ्य बिमा सुनिश्चित गर्दै स्वाथ्य उपचारमा पहुँचको व्यवस्था मिलाउने प्रावधानअनुसार स्वास्थ्य बिमा बोर्डको समन्वयमा मुस्ताङमा बिमा कार्यक्रम सुभारम्भ गरिएको हो ।

annapurna post

नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्य अनुरुप लागू भएको बिमा कार्यक्रमअन्तर्गत मुस्ताङका ५ वटै स्थानीय तहमा बिमा फोकल पर्सन समेत परिचालन गरिएको छ ।

गण्डकी प्रदेशका सांसद महेन्द्रबहादुर थकालीले एक समारोहकाबीच बिहीबार मुस्ताङमा स्वास्थ्य बिमा कार्यक्रमको सुभारम्भ गरे ।सांसद थकालीले स्वास्थ्य उपचार खर्चमा सबै नागरिकको पहुँच पुग्न नसक्ने भएकाले सरकारले स्वास्थ्य बिमा कार्यक्रम लागू गरेको बताए ।

‘जटिल प्रकृतिका बिरामी आर्थिक भारका कारण अकालमा ज्यान गुमाउनुपर्ने अवस्था छ, सांसद थकालीले भने, ‘स्वास्थ्यको पहुँच सबै नागरिकमा पुर्‍याउन  र स्वास्थ्य सेवाको दायरा फराकिलो बनाउन बिमा कार्यक्रम प्रभावकारी हुनेछ।’

मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले सरकारले कार्यन्वयनमा ल्याएको बिमा कार्यक्रमले विपन्न जनतालाई राहत पुग्ने बताए । उनले बिमा कार्यक्रमलाई प्रभावकारि बनाउन प्रशासनिक निकायबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।

यस्तै,अस्पताल व्यवस्थापन समितिकी निमित्त कार्यबाहक अध्यक्ष शर्मिला गुरुङले नागरिकको स्वास्थ्य उपचारमा बिमा कार्यक्रमले निकै राहत पुर्‍याउने  बताइन् । उनले धेरैभन्दा धेरै नागरिकले स्वास्थ्य बिमा गुरुन् भन्ने हाम्रो अपेक्षा रहेको बताइन् । उनले जिल्ला अस्पतालमा न्युनतम स्रोत साधन उपलब्ध भएपनि जनशक्ति अभावले असप्तालले दिने सुविधा सेवामैत्री बन्न अप्ठ्यारो परेको उल्लेख गरिन् ।

सरकारले नागरिकको स्वास्थ्य उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले २०७२ साल चैत्र २५ गतेबाट बिमा कार्यक्रम लागू गरेको हो । तर,मुस्ताङमा चालु वर्षको जेठ महिनादेखि यस कार्यक्रम लागू भएपनि बिमा फोकल पर्सनको प्रशिक्षण तथा आवश्यक तयारीका लागि ६ महिनापछि मात्र कार्यान्वयनमा आएको हो ।

बिमा कार्यक्रममा सेवा प्रदायक संस्था, नेपाल सरकार मातहत र निजी क्षेत्रलाई समेत सहभागी गराइने जनाइएको छ । बिमा दर्ताका लागि सम्बन्धित जिल्लाका वडा/वडामा एजेन्ट अर्थात फोकल पर्सन खटाइने छ ।

बिमामा आवद्ध भएका नागरिकको सेवा एक्टिभ ३ महिनापछि मात्र सुरु हुन्छ । बिमामा ७० वर्ष कटेका ज्येष्ठ नागरिक तथा अति विपन्न परिवारलाई निशुल्क बिमाको व्यवस्था मिलाइएको छ ।

यस्तै, अपाङ्गता भएका वा स्वास्थ्य स्वयम सेविकालाई ५० प्रतिशत सहुलितमा स्वास्थ्य बिमाको व्यवस्था गरिएको छ। अन्यको हकमा ५ जना परिवार संख्या भएका नागरिकलाई वार्षिक  ३५ सय रुपैयाँ शुल्क तिरेपछि बिमामा आवद्धता गराइन्छ, सबैले यो सुविधा पाउँछन् । तर ५ जनाको संख्याभन्दा बढी भएमा थप शुल्क लाग्नेछ । सरकारले उपलब्ध गराउने बिमा सुविधा २ लाखसम्मको हुनेछ ।

annapurna post

मुस्ताङको जिल्ला अस्पताल जोमसोम र थासाङको लेते प्राथमिक केन्द्रबाट स्वास्थ्य बिमाको सेवा लिन सकिने छ । मुस्ताङबाट रिफर गरेको वा कुनै कारणबश अन्यत्र आकस्मिक स्वास्थ्य सेवा लिन परेमा पोखराको मनिपाल ,गण्डकी स्वास्थ्य बिज्ञान प्रतिष्ठान र जेएमसी अस्पतालमा उपचार गर्न सकिने जनाईएको छ ।

प्रत्येक नागरिकको परिवारले बिमा गर्दा त्यसको सम्झौता अवधि एक वर्ष रहने र त्यपछि पुन तोकिए बमोजिम नविकरण गर्नुपर्ने हुन्छ ।

जोमसोम अस्पतालको स्मारिका बिमोचन

बिमा कार्यक्रमका क्रममा जिल्ला अस्पताल जोमसोमले आफ्नो ३ वर्षीय कार्यअवधिको जानकारीमूलक स्मारिका पुस्तक बिमोचन गरेको छ । सांसद महेन्द्रबहादुर थकाली,प्रजिअ नेत्रप्रसाद शर्मा र अस्पताल व्यवस्थापन समितिकी निमित्त प्रमुख शर्मिला गुरुङले संयुक्तरुपमा पुस्ताक विमोचन गरेका हुन् ।

annapurna post

प्रतिक्रिया दिनुहोस !