१० माघ २०७८, सोमबार
८ कार्तिक २०७८, सोमबार १५:५४

विचौलियाहरु राजदूत बन्ने नेताहरुको घरदैलो चाहार्दै,भागबण्डामै अल्झियो नियुक्ति


२०७८ कार्तिक ८, सोमबार

काठमाडौं । करिब एक महिना देखि २३ विदेशी कुटनीतिक नियोग नेतृत्व विहिन छन् । भारत,चीन,बंगलादेश लगायत २३ मुलुक राजदूतबिहीन रहेका हुन् । वर्तमान गठबन्धन सरकारले ११ राजदूतलाई असोज ५ गते फिर्ता बोलाउने निर्णय गरेको थियो ।सत्तारुढ दलहरु भागवण्डा गरेर राजदूत पठाउने गृहकार्यमा जुटेका छन् ।

भारत र अमेरिकामा कांग्रेस,चीनमा माओवादी केन्द्र, जापानमा एकिकृत समाजवादी र बेलायतमा जनता समाजवादीबाट राजदूत पठाउने सत्ता गठबन्धनमा प्रारम्भिक सहमति भएको छ।

सत्तारुढ दलहरुले योग्यभन्दा पनि भागवण्डामा वफादार व्यक्तिलाई राजदूत बनाउने प्रवृतिले कुटनीतिक सम्बन्ध प्रभावकारी बनाउने मामिला ओझेलमा पर्दै आएको छ।

carebub

विदेशी मुलुकसँग कुटनीतिक सम्बन्ध सुदृढ बनाउन पठाइने सरकारका प्रतिनिधि नियुक्तिमा दलीय स्वार्थ हावी हुँदा पटक पटक लामो समय राजदूत रिक्त रहने परिपाटी चल्दै आएको छ । यस्तो हुनुमा दल र नेताहरुनै जिम्मेवार मानिन्छन् ।

राजदूत नियुक्तिमा राजनीतिक सहमति आवश्यक ठानिए पनि मुलुकको हितका लागि योग्य पात्र छान्न पर्ने विज्ञहरुले सुझाव दिँदै आएका छन् । राजदूत भनेको देशको ऐना हो ।साथै नेपालको परराष्ट्र नीतिको अनुहार हो ।

मुलुकको विश्वासको प्रतिकलाई भागवण्डा लगाउने काम ठीक नभएको कुटनीतिक क्षेत्रका जानकारहरु बताउँछन् । विचौलियाहरुको समूह नै राजदूत बन्ने नेताहरुको दैलो धाईरहेका छन् ।

दलीय भागबण्डमा राजदूत नियुक्त हुँदा आफूहरु नपर्ने पिरलो कर्मचारी संयन्त्रमा देखिन्छ ।मुलुकको हित र कुटनीतिक दक्षता अनुसार काम गर्न सक्ने क्षमतावान राजदूत नियुक्तिको परम्परालाई संस्थागत गर्न आवश्यक छ।

अस्ट्रेलिया, अस्ट्रिया, ब्राजिल, बङ्गलादेश, बहराइन, चीन, डेनमार्क, इजिप्ट, भारत, इजरायल, जापान, मलेसिया, म्यानमार, ओमन, कतार, रसिया, श्रीलङ्का, दक्षिण अफ्रिका, साउदी अरेबिया, स्पेन, संयुक्त अधिराज्य र अमेरिकालगायतका देशहरुको राजदूत पद हाललाई रिक्त छ ।

निर्वतमान प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले राजनीतिक नियुक्त गरेका ११ सहित अन्य रिक्त रहेका राजदूतहरुको पदपूर्तिका लागि आन्तरिक तयारी भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !