३१ आश्विन २०७८, आईतवार
५ आश्विन २०७८, मंगलवार ११:४५

के गर्छौ नेपालमा डाक्टर बनेर!


Attractive female doctor in front of medical group

डा. शम्भु खनाल 

२०७८ भदौ १९ गते

स्वास्थ्य मन्त्रालयको प्रशासन शाखाबाहिर सेवाग्राहीको लागि भनेर एउटा सोफा राखिएको छ। पहिले-पहिले काठको कुर्सी हुन्थ्यो। अचेल भुइँ, भित्ता र फर्निचर सबै उन्नत भएछन्। समग्र देशको स्वास्थ्य मात्रै होला उन्नति नभएको! एउटा उपन्यास हातमा लिएर बसेको छु, कुर्ने समय बिताउनलाई। दुई-चार पाना पढ्छु।

फेरि भित्र हेर्छु। कतै मेरै काम पो गर्न लागेका छन् कि भन्ने आशमा! तुकविना कुर्नु निकै पीडादायक हुन्छ। त्यो छट्पटी काम गर्न नपाउँदा खट्पटी हुने व्यक्तिले राम्ररी बुझ्नसक्छ। सधैंजस्तो कर्मचारी आउनेजाने क्रम चलिरहन्छ। कसैका हातमा फाइल छन्। कसैको हात रित्तो छ। चिनेको कोही छैन।  सबैका घाँटीमा परिचयपत्र झुन्डिएको छ। त्यसले नाम, वतन र पोस्टको परिचय आधिकारिक दिन्छ। तर, व्यवहारको परिचय भने दिँदैन त्यसले।

त्यस्तैमा एकजना चिनेजस्तो लाग्ने भर्खर जुँगाको रेखी बसेको दुब्लो जीउडालको युवक मेरो नजिक आइपुग्छ। मेरो छेउमा बस्न इशाराले अनुमति माग्छ। र, थचक्क बस्छ। मास्कभित्रको अनुहार ठम्याउन अचेल धौ-धौ नै हुन्छ। म चिन्न सक्दिनँ उसलाई।

बोल्न सुरु गर्छ ‘दाइ, मलाई हजुरले पक्कै चिन्नुभएन। म हजुरको छिमेकी कृष्ण अंकलको छोरा हुँ। म यसो बुझ्न आएकोमात्रै हो। अनि हजुर किन यहाँ यसरी उपन्यास पढ्दै हुनुहुन्छ त?’  बल्ल चिनेँ अमर रहेछ भनेर। धेरै वर्षपछि भेट्दा खुसी लाग्छ।

अमरको ठाउँमा अरु कोही भएको भए घाउमा नुन छर्किएकोमा मलाई रिस उठ्ने थियो। तर, दु:ख प्रदायक मन्त्रालयको रिस निर्दोष भाइलाई पोख्न उचित मानेन मेरो विवेकले।

म भन्छु, ‘उपन्यास पढ्नु मेरो सोख हो। काम नहुँदा समय बिताउनलाई पढ्ने कोसिस गर्छु। छोटकरीमा भन्दा मेरो जागिर नै यही हो। हा…हा…’ उ पनि गलल्ल हाँस्छ।

तर, उसलाई चित्त नबुझेजस्तो भावमा उत्तर दिन्छ,  ‘दाइ! तपाईं त एमडी पढिसकेको हैन र? त्यस्तै सुनेको थिएँ। तपाईं यसरी दिउँसो सोफामा बसेर उपन्यास पढेको त खासै राम्रो मानिन त।’

मैले भनेँ, ‘पढेको हैन अमर। पढ्नुपरेको हो, समय कटाउनलाई।’

भाइले अझै देश बुझ्न फुर्सद पाइसकेको रहेनछ भन्ने लाग्छ मलाइ। मोटोमोटो चस्मा लगाएको र शीरदेखि पाउको हुलिया हेर्दा नै सबैको मानसिक शब्दकोषमा रहने पढन्तेको परिभाषा हुबहु मिल्ने रहेछ। सानो छँदा पनि उस्तै पढाकु नै थियो। किताब र पुस्तकालयबाट फुर्सद भनेको अन्तर्राष्ट्रिय फुटबल खेल हेर्न मात्रै निकालेको हुनुपर्छ। हुन त देशको समाचार सुनेर हर्ष हुने ठाउँ पनि त हुनुपर्यो।

मैले जवाफ दिएँ, ‘पढेर मात्रै कहाँ हुन्छ र! पढ्नु र प्रयोगमा ल्याउनुमा भिन्नता हुन्छ…’ मेरो फोन आउँछ। साथीको फोन रहेछ। अचेल कता काम गर्दै छु भनेर बुझ्नलाई फोन गरेको रहेछ। मैले हेल्थपोस्टसरहको प्राथमिक स्वास्थ्य केन्द्रमा काम गर्दैछु भनेर भनेको, भाइको ध्यानमा परेछ। त्यसैले उसले सोधिहाल्छ, ‘दाइ! तपाईंले अहिले के काम गर्नुहुन्छ त हेल्थपोस्टमा?’

मैले भने, ‘भाइ! पढेको पनि हो। एमडी उत्तीर्ण गरेको पनि हो। जात्रा नै छ यहाँ…’ म बीचमै रोकिन्छु। उ विस्मयमा पर्छ।

उसलाई धेरै कुरा भन्न मन हुन्छ सायद। पूरै दिनचर्या नै भन्न मन हुन्छ। तर, त्यो भनेर के नै उपलब्धी हुन्छ र!

बिहान १० बजे प्राथमिक स्वास्थ्य केन्द्रमा पुग्छु। हाजिर गर्छु। मन नलागी नलागी ओपिडी को भाँचिन लागेको कुर्सीमा बस्छु। साथमा अर्को एमबिबिएस सकेर छात्रवृत्ती बोन्ड पूरा गर्न बसेको भाइ पनि बस्छ। एकआपसमा भलाकुसारी गर्छौं। नाक, कान, घाँटीका र छालाका बिरामी धेरै आउँछन्। बालबच्चा र स्त्रीरोगका बिरामी पनि हुन्छन्। मैले पढ्न त फिजिसियनको काम गर्ने भनेर पढेको हो। तर, ती सबै बिरामी हेर्छौं। वास्तवमै हेर्छौं मात्रै। खासै केही गर्न सक्दैनौं।

आफूले पढ्दा बेलाको कार्य सम्झेर अहिले  दिक्दारी हुन्छ। ती अधिकांश बिरामी नि:शुल्कमा सप्लाई हुने सिटामोल, खोकीको झोल आदि लिने मनसायले आएका हुन्छन्। टेस्ट गर्न पैसा हुन्न। टेस्ट पनि उपलब्ध छैनन्। औषधि किन्न पैसा छैन। स्वास्थ्य सामाग्री माग फाराममै सीमित हुन्छन्। खरिद गर्न बजेट हुन्न। डाक्टर सर्वसुलभ हुनु स्वास्थ्य क्षेत्रको प्रगति र भाषणसामाग्री होला भनेर निर्क्यौल गर्छौं।

यति धेरै कुरा भन्न मन लागे पनि मुस्कान फिजारेर, ‘म हाजिर गर्छु भाइ’ भनेर चुप लाग्छु। उसले केवल मुस्कान मात्रै देख्छ। मनभित्रको दु:ख कसले नै देख्छ र!

उसले हाँस्दै भन्छ, ‘दाइ पनि मजाक गर्नुहुन्छ।’

मैले  हाँस्दै भन्छु, ‘मजाक त मेरो भैरहेको छ। म के मजाक गर्न सक्छु र, अमर बाबु। स्थानीयमा समायोजन भएको डाक्टरले जुन लेभल पढे पनि फर्केर त्यही हेल्थपोस्टमै काम गर्नुपर्ने बाध्यता छ। अहिलेको कानुनले फुकाउँदैन रे! केवल जाँक्दिन्छ, फुस्किन दिन्न। चक्रव्यूह नै हो। त्यसैले अस्पतालसम्म गएर बिरामी हेर्न पाइने केही उपाय बुझ्न भनेर समयसमयमा मन्त्रालय धाउने गर्छु। सचिवदेखि सुब्बासम्मलाई घुमीघुमी भेट्ने काम गर्छु। मलाई फनफनी घुमाइरहन्छन् नि त! बुझ्यौ।’ उसले सबै कुरा नबुझे पनि बुझेजस्तो गरी टाउको हल्लायो।

उसले भन्छ, ‘दाइ, मेरो नाम छात्रवृत्तीमा एमबिबिएसमा निस्केको छ। अब मैले केके कुरामा ध्यान दिनुपर्छ भनेर हजुरसँग सल्लाह गर्न आएको हो। हजुर स्वास्थ्य मन्त्रालयको कुरुवा कक्षमा भेटिनुहुन्छ भनेर थाह पाएर आएको हुँ।’

म सोध्छु, ‘तिमी पक्कापक्की छौ यो विषय पढ्नलाई? भविष्यमा के आश गरेका छौ नि?’

उसले भन्छ, ‘हजुर दाइ। डाक्टर बन्ने ठूलो रहर हो। नेपालमै बस्ने र राम्रो गर्ने हो।’

फेरि पनि भन्न त मन हुन्छ, ‘पढ्नु राम्रो नै हो। रहर पनि राम्रो हो। तर, यहाँको सिस्टमले तिमीलाई आजित बनाउँछ। पलायनको मानसिकता विकास हुन्छ नै। रहर पनि कहर बन्न सक्छ। देशमा केही राम्रो गर्ने मन पनि कुन्ठित हुन्छ। पढेर सकेपछि यस्तै मन्त्रालयमा घनचक्कर खानुपर्छ। तिम्रो सम्मान कसैले गर्दैनन्। आदर्श मात्रै छाँट्छन्। मन्त्रालयका भित्ता, कुर्सीहरू नै यो दैनिक चर्तिकला देखेर दयावान हुन्छन् होला। तर, मन्त्रालय हो कि दु:ख दिने यन्त्रालय हो। यो अरुलाई दु:ख दिएर नै सुखभोग गर्छ…!’ तर, केही भन्दिनँ।

मनकै कुरो सुनेजस्तो गरी हठात् उसले भन्छ, ‘छोड्दिनु न त यो जागिर। टन्टै साफ।’

मैले भन्छु, ‘हो बाबु! राम्रो आइडिया दियौ।’

भावनात्मक बाटो, जुन देख्दा राम्रो देखिने र सुन्दा राम्रो सुनिन्छ। त्यस्तो बाटो पहिल्याउन सकेकोमा उसलाई तारिफ गर्नै पर्‌यो। अध्ययन गरेको पाँच वर्ष पूरा नगरे त नेपाल सरकारले अगेनाको खरानीसम्म खोजेर तिराउँछ भनेर भन्दा उसको कलिलो मस्तिष्कले नबुझ्ला भनेर भनिनँ।

देशलाई त होनहार डाक्टरको सधैं आवश्यकता छ। यस्तो पढ्न नै रुचि भएको र देशको सेवा गर्ने मनसाय भएको भाइलाई सत्यतथ्य भन्नुहुँदैन। देशलाई घाटा हुन सक्छ। सबै भन्न लागेका कुराहरू मनमै खर्लप्पै निल्छु। त्यसैले भन्छु, ‘बधाई छ भाइ। राम्रोसँग पढ। निरन्तर पढ। स्वागत छ।’

कुरा गर्दैगर्दा सचिवसँग भेट्ने समयको जनाउ घडी बज्छ।


प्रतिक्रिया दिनुहोस !