५ आश्विन २०७८, मंगलवार
१४ श्रावण २०७८, बिहीबार १५:१७

सरकारले निःशुल्क ताेकेकाे एन्टिजन परीक्षण भक्तपुर अस्पतालले लिन थाल्यो शुल्क


सरकारले नि:शुल्क भनेको एन्टिजेन परीक्षणमा अस्पतालले शुल्क लिएको पाइएको छ।

भक्तपुर जिल्लाकै सबैभन्दा ठूलो सरकारी अस्पताल भक्तपुर अस्पतालले शुल्क लिएर एन्टिजेन परीक्षण गरिरहेको पाइएको हो।

स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले भने एन्टीजेन परीक्षण सबैको लागि निःशुल्क रहेको बताए। तर, धेरै निजी तथा सरकारी अस्पतालले एन्टिजेन परिक्षणमार्फत शुल्क लिएको पाइएको भन्दै उनले यो कार्य गलत भएको बताए।

एन्टिजेन परीक्षण गराउन सक्ने अस्पतालहरुले स्वास्थ्य कार्यालयमार्फत निःशुल्क एन्टिजेन किट्स उपलब्ध गराइरहेको भन्दै उनले सेवाग्राहीले निःशुल्क पाउने कुरा पनि शुल्क लिएर सर्वसाधारणलाई दु:खमाथि अझ दु:ख थप्ने काम भइरहेको बताए।

भक्तपुर जनस्वास्थ्य सेवा केन्द्र च्याम्हासिंहका इन्चार्ज रत्नसुन्दर लासिँवाले आफूहरुले निःशुल्क एन्टिजेन परीक्षण गराइरहको जानकारी गराए। दैनिक दिउँसो १ बजे देखि २ बजेसम्म जाँच गर्ने गरेको इन्चार्ज लासिँवाले सुनाए। दैनिक ५० जनाको जाँच भइरहेको उनले बताए। लक्षण भएका र नभएका दुबैलाई निःशुल्क परीक्षण गराइरहेको उनले जनाए।

उनले हालसम्म करिब ३४ सयको एन्टिजेन विधिमार्फत परीक्षण गरिसकिएको जानकारी गराए। जसमध्ये २२५ जनामा पोजेटिभ देखिएको उनले बताए।

भक्तपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट सुमित्रा गौतमले एन्टिजेन परीक्षण शुल्क र निःशुल्क दुवै गर्ने गरेको बताइन्। गौतमले कोरोनाको लक्षण भएकाहरुलाई निःशुल्क र लक्षण नभएका स्वेइच्छाले जाँच गर्न आएकाहरुलाई शुल्क लिने गरेको सुनाइन्।

उनले परीक्षणका लागि आवश्यक किट बागमती प्रदेशको सामाजिक विकास हेटौडाबाट ल्याउने गरेको बताइन्। ‘हामीलाई एन्टिजेन किट्स स्वास्थ्य कार्यालयबाट आउँदैन’, उनले भनिन्। भक्तपुरको स्वास्थ्य कार्यालयबाट नआई बागमती प्रदेशबाट किट ल्याउनुपर्ने भएकाले शुल्क लगाउनुपर्ने भएको उनले सुनाइन्। तर, स्वास्थ्य कार्यालय भक्तपुरले भने सवैलाई निःशुल्क दिँदै आएको जनाएको छ


प्रतिक्रिया दिनुहोस !