५ आश्विन २०७८, मंगलवार
२ श्रावण २०७८, शनिबार १०:३३

४० माइक्रोनभन्दा पातला प्लास्टिक झोला प्रयोगमा प्रतिबन्ध, झोला उद्योगलाई पुँजीगत अनुदान दिइने


Kathmandu, 2021 July 17

४० माइक्रोनभन्दा पातलो प्लाष्टिकका झोलाको प्रयोगमा घोषित प्रतिबन्ध आज (साउन १) बाट लागू भएको छ। 

यससँगै अब पातला प्लाष्टिक झोला आयात, उत्पादन र प्रयोग गर्न पाइने छैन। सपिङ मल तथा डिपार्टमेन्टल स्टोर लगायत सबै व्यापारिक प्रतिष्ठानमा प्लाष्टिकको झोलाको प्रयोगमा प्रतिबन्ध लागेको छ। वातावरण प्रदूषण कम गर्नका लागि प्लाष्टिक झोलाको सट्टा सुती, जुट वा कागजका झोला प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको छ।

निवर्तमान अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्षको बजेटमार्फत ४० माइक्रोनभन्दा पातलो प्लास्टिको झोला प्रयोगमा प्रतिबन्ध लगाइएको घोषणा गरेका थिए। बजेटको उक्त घोषणा साउन १ बाट लागू भएको हो। 

प्लाष्टिकजन्य पर्दाथबाट हुने वातावरणीय प्रदूषण न्यूनीकरण गर्न ४० माइक्रोनभन्दा पातलो प्लाष्टिकको उत्पादनमै रोक लगाएको वातावरण विभागका प्रवक्ता  इन्दुविक्रम जोशीले बताए। ‘यसले वातावरण प्रदूषण कम गर्न सघाउँछ,’ उनले भने। 

पातलो प्लाष्टिक झोला वा सीट उत्पादन गर्ने उद्योगले पुरानो मेशिनको पाटपूर्जा प्रतिस्थापन गरी नयाँ जडान गरेमा हुने थप लगानी बराबरको रकम पुँजीगत अनुदान उपलब्ध गराउने व्यवस्था सरकारले गरेको छ। यसका लागि उद्योगीसँग परामर्श गरिएको विभागले जनाएको छ। 

‘यसबारे प्लाष्टिक उद्योगीको संघसँग छलफल गरिसकेका छौं। पुँजीगत अनुदानको सुविधा दिइएको हुनाले उद्योगीहरु सकारात्मक छन्,’ जोशीले भने, ‘व्यवहारमा नियम प्रभावकारी हुन केही समय लाग्ला। तर आजबाट लागू भयो। सबैले मान्नै पर्छ। विभागले तोकेकोभन्दा कम माइक्रोनको पातलो झोला उत्पादन बन्द गरेका छन् छैनन् भनेर हामी उद्योगहरुमा अनुगमन पनि गर्छौं।’ 

पहिले उपत्यकाभित्र र बाहिरका जिल्लाहरुमा माइक्रोन घटी बढी थियो। उपत्यकामा ३० र बाहिर २० माइक्रोनभन्दा पातलो प्लाष्टिकको झोला प्रयोग नगर्न निर्देशन दिइएको थियो। जसले गर्दा ठाउँअनुसार कस्‍ता प्लाष्टिक उत्पादन र प्रयोगमा छन् भन्नेमा विभागलाई नै पूरा जानकारी थिएन।


प्रतिक्रिया दिनुहोस !