१६ श्रावण २०७८, शनिबार
३ असार २०७८, बिहीबार १७:२७

चन्दा उठाएर एम्बुलेन्स सञ्चालन, विपन्न र सहाराविहीनलाई निःशुल्क


तनहुँ, असार ३ गते । तनहुँमा चन्दा अभियानबाट रकम सङ्कलन गरी एम्बुलेन्स सञ्चालनमा ल्याइएको छ । व्यास नगरपालिका–१० स्थित नेपाल रेडक्रस सोसाइटी दुम्सीकोट उपशाखाद्धारा बिहीबारबाट सञ्चालनमा ल्याइएको हो ।
चन्दाको रुपमा २९ लाख १४ हजार २१९ रुपियाँ सङ्कलन गरी सञ्चालनमा ल्याइएका उपशाखाका सभापति रामदत्त पौडेलले जानकारी दिनुभयो ।

‘असहज परिस्थितिमा पनि पुण्यदान, दुःखमा एम्बुलेन्स सेवा हाम्रो अभियान’ भन्ने नाराका साथ वि.सं ०७७ भदौ १९ गतेका नेपाल रेडक्रस दिवसको दिनबाट अभियान शुरु गरिएको अर्थ सङ्कलन समितिका सचिव श्रीकृष्ण आचार्यले जानकारी दिनुभयो । उपशाखाले १० महिनाको अवधिमा रकम सङ्कलन गरेको उपशाखाले जनाएको छ । एम्बुलेन्स सञ्चालनको लागि व्यास नगरपालिकाले ५ लाख र रेडक्रस केन्द्रीय कार्यालयले तीन लाख रुपियाँ सहयोग प्राप्त भएको छ ।

एम्बुलेन्सको व्यास नगरपालिकाका प्रमुख वैकुष्ठ न्यौपानेले उद्घाटन गर्नुभयो । सो अवसरमा नगर प्रमुख न्यौपानेले धेरै जनसंख्या भएको वडामा एम्बुलेन्स आवश्यक भएकाले उपशाखाले उदाहरणीय काम गरेको बताउनुभयो । कार्यक्रम उपप्रमुख मीरा जोशी, रेडक्रस केन्द्रीय सदस्य प्रदीप घिमिरे, जिल्ला अध्यक्ष कृष्णहरी वाग्ले, अर्थ संकलन समितिका अध्यक्ष इश्वर पौडेललगायतले क्षणिक समयको लागि मात्रै नभई लामो समयसम्म सञ्चालन गर्नुपर्ने दीर्घकालिन सञ्चालनको उपायको खोजी गर्न जरुरी रहेको कुरामा जोड दिनुभयो ।

उपशाखाका अनुसार जिल्लामा ऋषिङ गाउँपालिकास्थित कोतदरबार उपशाखा र देवघाट उपशाखाले यसअघि नै एम्बुलेन्स सञ्चालनमा ल्याई सेवा प्रदान गदै आएका छन् । कुनै स्वास्थ्य संस्थासँग सम्झौता गरी एक जना स्वास्थ्यकर्मी, अक्सिजनलगायतका मापदण्ड पूरा गरी बी ग्रेड किसिमको एम्बुलेन्स सञ्चालन गर्ने योजना रहेको नेपाल रेडक्रस सोसाइटी दुम्सीकोट उपशाखाले जनाएको छ ।

विपन्न र सहाराविहीन नागरिकको लागि निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरिने उपशाखाले जनाएको छ । उद्घाटन कार्यक्रमका अवसरमा नेपाल रेडक्रस सोसाईटी तनहुँ शाखाले अक्सिजन सिलिण्डरसहित स्वास्थ्य सामाग्री उपशाखालाई हस्तान्तरण गरिएको थियो । source gorkhapatra online


प्रतिक्रिया दिनुहोस !