४ असार २०७८, शुक्रबार
२२ जेष्ठ २०७८, शनिबार २०:४०

घर नपुग्दासम्म डर लाग्छ’


स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कारबाहीको माग गर्दै प्रदर्शनमा बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालका स्वास्थ्यकर्मी । तस्बिर :

छानबिन समितिको प्रतिवेदनमा महिला हिंसाबारे कतै सवाल नउठाइएको पीडितको गुनासो

बाँके — नेपालगन्जको भेरी अस्पतालमा एक साताअघि कुरुवाले आक्रमण गर्दा भागेर ज्यान जोगाएकी स्टाफ नर्स सदीक्षा गैरे अझै झस्किरहन्छिन् । आईसीयू कक्षमा खटिएका बेला त्यहाँ भर्ना भई उपचार गराइरहेका कोरोना संक्रमितको मृत्युपछि मृतकका आफन्तले स्वास्थ्यकर्मीमाथि आक्रमण गरेका थिए । शरीरमा ठूलो चोटपटक छैन । तर, घटनाभन्दा अगाडि जस्तो अस्पताल पुगेर निर्धक्क बिरामीको सेवा गर्न नसकेको गैरेले बताइन् ।

बिहान घरबाट अस्पताल आउँदा र फर्किंदासम्म उनको मनमा चिसो पसिरहन्छ । कसैले आएर केही गर्ने हुन् कि भन्ने डरले सताउँछ । उपचारका क्रममा बिरामीका आफन्तलाई केही प्रतिक्रिया दिइहाले धम्की आउने हो कि भन्ने त्रास छ । पछिल्लो समय घटनाले राजनीतिक रंग लिएपछि उनलाई झन् असुरिक्षत महसुस भएको हो । ‘घाँटी समाएको सम्झिँदा अझै पनि निसास्सिन्छु,’ उनले भनिन्, ‘घर, नपुग्दासम्म कसैले बाटोमा केही गर्ने हुन् कि भन्ने डर लागिरहन्छ ।’

एक साताअघि कोरोना संक्रमणको उपचारका क्रममा दाङका ५३ वर्षीय डिल्लीबहादुर रावतको मृत्यु भएको थियो । आईसीयूमा भर्ना गरिएका रावतको अवस्था गम्भीर भएपछि भेन्टिलेटरमा सार्ने क्रममा मृत्यु भएको भन्दै उनका भाइ मानबहादुर रावत, छोरा भरत र लोकराजको समूहले उपचारमा खटिएका गैरेसहित डा. चन्द्रप्रकाश साहु, नर्स अस्मिनी गुरुङ, रिता अधिकारी र भावना श्रेष्ठमाथि आक्रमण गरेका थिए । आक्रमणपछि स्वास्थ्यकर्मीले दुई तलामाथि रहेको शौचालयको झ्यालबाट हाम फालेर ज्यान जोगाएका थिए । घटनालगत्तै जिल्ला प्रशासनले सहायक प्रमुख जिल्ला अधिकारी शंकर विष्टको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । उक्त समितिले गत बुधबार प्रतिवेदन सार्वजनिक गर्दै स्वास्थ्यकर्मीले बिरामीको अवस्था बुझाउन नसक्दा ‘आवेग’मा आएर आक्रमण भएको जनाएको छ । समितिले स्वास्थ्यकर्मीलाई कुरुवासितको व्यवहार सुधार्न सुझाव दिएको छ ।

तर, प्रतिवेदनमा महिला हिंसाको दृष्टिले कतै पनि सवाल नउठाइएको पीडितले गुनासो गरे । नर्स गैरेका अनुसार आक्रोशित समूहमध्ये एक जना पुरुषले घाँटी समाएर दुर्व्यवहार गरेका थिए । धेरै दिनसम्म घाँटीमा नङले चिथोरेको दाग पनि थियो । घाँटी समाउँदा जथाभावी बोल्दै अपमानजनक व्यवहार गरेको उनले बताइन् । ‘यो त महिला कर्मचारीमाथिको हिंसा हो,’ उनले भनिन्, ‘यो घटनाले असुरक्षित महसुस गरेकी छु ।’

आक्रमणमा परेकी अर्की नर्स गुरुङले घटनापछि आफ्नो पेसासँगै महिला हुनुको पीडाबोध भएको बताइन् । उनले ‘यस्ता पनि नर्स हुन्छन्, यसैले हो हाम्रो मान्छे मारेको’ भन्दै अपशब्द प्रयोग गरेको सुनाइन् । सार्वजनिक प्रतिवेदनमा महिलामाथि गरिएको हिंसात्मक व्यवहारको कुनै बुँदा उठाइएको छैन । त्यसैले दोषीमाथि कारबाही नहुँदासम्म आफ्नो आत्मसम्मानमा चोट पुगिरहने नर्स गुरुङले सुनाइन् । ‘हामीलाई मार्ने भन्दै मान्छे ल्याएका थिए,’ उनले भनिन्, ‘अनि, सुन्नै नसकिने गालीगलौज र दुर्व्यवहारले मन खिन्न भएको छ । यसको क्षतिपूर्ति कसले दिने ?’

भेरी अस्पतालकी नर्सिङ इन्चार्ज शिला शर्माका अनुसार घटनापछि महिला स्वास्थ्यकर्मीमा एक किसिमको त्रास छ । दोषीमाथि कारबाही गर्न घटनाको छानबिन भए पनि पीडक पक्षतर्फ बढी केन्द्रित भएको गुनासो उनले गरिन् । शर्मा लामो समयदेखि यस अस्पतालमा कार्यरत छन् । कोभिड वार्डमा नर्सको संयोजनकारी भूमिका निर्वाह गर्दै आएकी उनले स्वास्थ्यकर्मीमाथि भएको आक्रमण महिलाका दृष्टिकोणले गौण रूपमा लिइएको बताइन् । स्वास्थ्यकर्मी सबै मिलेर महिला आयोगमा समेत निवेदन पेस गरिएको थियो । तर, पूरै घटना राजनीतीकरण भएको र पीडित पक्षको भावना सम्बोधन नभएको उनले बताइन् । ‘घटनाले म पनि असुरक्षित छु,’ उनले भनिन्, ‘यस्तो दुर्व्यवहार जोकोहीलाई हुन सक्छ ।’

अस्पतालकी नर्सिङ अधिकृत ईश्वरी केसीले घटनामा राजनीतीकरण हुँदा पीडित झनै डर र त्रासमा रहेको बताइन् । अस्पतालदेखि घर पुग्दासम्म कसैले केही गर्ने हुन् कि, के बोल्ने के नबोल्ने र बोल्यो भने समस्यामा परिन्छ कि भन्ने डर रहेको उनले सुनाइन् ।

एड्भोकेसी फोरम बाँकेका फोकल पर्सन वसन्त गौतमले महिला हिंसाको पाटोलाई घटनामा गौण बनाइएको बताए । ‘यो भनेको समाजले महिलाको सवालमा कत्तिको दायित्वबोध गर्छ भन्ने पनि हो,’ उनले भने, ‘यस घटनाले महिला कर्मचारी कार्यस्थलमा कति सुरक्षित छन् भन्ने चित्रण गर्छ, जुन कसैले गम्भीरताका साथ लिएको देखिँदैन ।’


प्रतिक्रिया दिनुहोस !