४ असार २०७८, शुक्रबार
२१ जेष्ठ २०७८, शुक्रबार १०:३५

लागूऔषध बिक्री गर्ने पसल सिल


विभिन्न औषधि मिसाएर लागूऔषध बनाई बिक्री वितरण गर्दै आएका वीरेन्द्रकुमार झा। तस्बिर : अन्नपूर्ण

उदयपुर २१ जेेष्ठ

उदयपुरका औषधि व्यवसायीबाटै लागूऔषध बिक्री वितरण हुने गरेको तथ्य खुलेको छ। बिहीबार औषधि व्यवस्था विभाग विराटनगरको टोलीले जिल्लाको पूर्वी क्षेत्र चौदण्डीगढी र बेलका नगरपालिकाका औषधि पसलमा छड्के चेकगर्दा यस्तो तथ्य फेला परेको हो।

चेकजाँचमा नेपाल औषधि व्यवसायी संघ उदयपुरका महासचिव वीरेन्द्रकुमार झाले सञ्चालन गरेको फार्मेसीबाट लागूऔषधसँग सम्बन्धी विभिन्न औषधिहरू मिसाएर सेवनकर्तालाई बिक्री वितरण गरेको फेला परेको विभागका प्रमुख सञ्जीव कट्टेलले जानकारी दिए। चौदण्डीगढी नगरपालिका–९ स्थित गोपीकृष्ण मेडिकल सञ्चालन गर्दै आएका झाले ट्रामाडोल, डिसाइक्लोमिन र प्रेगावालिन औषधि मिसाएर लागूऔषध बनाउने र सेवनकर्तालाई बिक्री वितरण गर्ने गरेको फेला परेको उनले बताए।

यसरी बनाएको औषधि सेवन गर्दा लामो समयसम्म नसा दिने, झुमझुम भइरहने, एकोहोरिनेजस्ता लक्षण देखिने कट्टेलले बताए। उनले भने, ‘विभिन्न थरीका औषधि मिसाएर लागूऔषध बनाई विद्यालय क्याम्पस पढ्दै गएका १५÷१६ वर्ष उमेरका किशोरलाई बिक्री गरेको भन्नै उजुरी परेकाले छड्के चेकजाँच गर्दा पुष्टि भएको हो।’ झालाई एक वर्षअघि पनि विभागले यही घटनामा पक्राउ गरी २५ दिन कारबाही गरी छाडेको थियो।

पुनः दोहोरिएकाले औषधि ऐन २०३५ अनुसार थप कारबाही गरिने प्रमुख कट्टेलले बताए। टोलीले उनको फार्मेसी सिल गरी पाँच दिनभित्र विभागमा हाजिर हुने गरी पत्राचार गरेको छ। टोलीले बिहीबार नै बिनाइजाजत, तोकिएको जनशक्ति बेगर र मापदण्ड विपरीत सञ्चालन गरिएका थप पाँचवटा औषधि पसलमा सिल गरेको छ। डेढ दर्जन औषधि पसलमा गरिएको चेकमा ६ वटामा सिल गरिएको उनले बताए।

त्यसैक्रममा टोलीलाई देखेपछि पसल बन्द गरी फरार भएका तीनवटालाई प्रहरीमार्फत पत्र काटिएको कट्टेलले बताए। टोलीले तोकिएको जनशक्तिबिना र नवीकरण नगरी सञ्चालन गरिएको बेलका नगरपालिका–४ सञ्जीवनी मेडिकल, सोही ठाउँमा बिनादर्ता सञ्चालित यादव मेडिकल, ठाउँसारी र जनशक्तिबिना  सञ्चालित सोही ठाउँको बरहा क्षेत्र फार्मेसीलाई सिल गरिएको छ।

त्यसैगरी रामपुर सामुदायिक अस्पताल नजिक रमानन्द यादवले दर्ता नगरी सञ्चालन गरेको नामबिनाको औषधि पसल र सप्तरीको सप्तकोसी नगरपालिका फत्तेपुरस्थित अनुकूल औषधि पसलसमेत सिल गरिएको छ। जनशक्ति नभएको र एलोपेथिकको अनुमति लिएर आयुर्वेदिकलाई प्राथामिकता दिई धेरै औषधि बिक्री गरेको फेला परेपछि अनुकूललाई सिल गरिएको उनले बताए।

कोभिड–१९ को परिस्थितिमा सरकारको उपस्थिति कम हुँदा औषधि पसलले जथाभावी औषधिको मूल्य बढाएको, बिक्री गरेको, लागूऔषधको कारोबार गर्ने गरेका विभागमा उजुरी परेका कारण छड्के चेकजाँचलाई तीव्रता दिएको उनको भनाइ छ। चेकजाँचलाई थप प्रभावकारी बनाउँदै अन्य ठाउँमा पुगिने उनले बताए।

जो अगुवा उसैले बाटो बिराउने भन्ने नेपाली उखानलाई आत्मसाथ गर्दै समाजका युवामा विकृति ल्याउने यस्ता व्यक्तिलाई हदैसम्मको कारबाही गर्न स्थानीयको माग छ। एउटा जिम्मेवार नेटवर्कको महासचिवबाट गरिएको गैरजिम्मेवारी कार्यलाई कुनै पनि हालतमा क्षमा दिन नसकिने स्थानीय जीवन मगरले बताए।


प्रतिक्रिया दिनुहोस !