४ असार २०७८, शुक्रबार
५ जेष्ठ २०७८, बुधबार १६:३२

कोरोना निको भइसकेका व्यक्तिमा पोष्ट ट्रम्याटिक स्ट्रेस डिसर्अर


कोरोनाले निम्त्याउँदै मानसिक समस्या, कसरी बच्ने?

काठमाडौं – काठमाडौंका एक ३५ वर्षीय पुरुष कोरोना संक्रमणपछि निको भई घरमै छन्। तर उनलाई अहिले कसैसँग पनि कुरा गर्न मन लाग्दैन। एक्लोपन नै प्यारो लाग्छ। 

एउटै कुरा मनमा बारम्बार आउने, झर्को लाग्ने, रिस उठ्ने जस्ता समस्या उनमा देखिएको छ। यो समस्या कोरोना निको भएपछि मात्र होइन। जब उनी संक्रमित भएपछि आइसोलेसनमा बसे त्यसपछि यस किसिमको समस्या देखिएको उनका आफन्त बताउँछन्। 

संक्रमणको पहिलो एक साता ज्वरो आउने, खोकी लाग्ने, पखाला लाग्ने, शरीर दुख्ने र थकाई लाग्ने समस्या देखिएको थियो। शरीरमा अक्सिजनको मात्रा ठिक भएकाले उनी पहिलो साता होम आइसोलेसनमै बसे। होम आइसोलेसनमै बस्दा पनि उनलाई बिना कारण रिस उठ्ने झर्को लाग्ने भने गथ्र्यो। 

दोस्रो सातादेखि श्वासप्रश्वासमा समस्या भएपछि उनी अस्पताल भर्ना भए। अस्पतालमा भर्ना भएपछि यो समस्या झनै बढ्दै गयो। उनी आफुलाई एकदमै एक्लो महसुस गर्न थाले। आफन्तसँग पनि कमै मात्रामा कुराकानी हुन थाल्यो। उनी कोरोना मुक्त त भए तर मनोवैज्ञानिक रुपमा भने पूर्ण रुपमा निको भइसकेका छैनन्।

हालै मात्र कोरोना जितेका काठमाडौंका सुशील कुमार मण्डल आइसोलेसनमा बस्दा विभिन्न नकारात्मक सोचहरु आउने गरेको बताउँछन्। मृत्यु भएका समाचारहरुले मनमा डर बढाउने र तनाव उत्पन्न गराउने उनको अनुभव छ। 

उनी भन्छन्, ‘आइसोलेसनमा बस्दा मृत्यु भएको खबरहरु हेर्ने गर्थे। यस्तो समाचार हेर्दा डर लाग्ने रहेछ। दिमागमा विभिन्न नकारात्मक सोचहरु आउने रहेछ।’

आइसोलेसनमा बस्दा सामाजिक सञ्जालको कमै मात्र प्रयोग गर्न कोरोना संक्रमितहरुलाई उनको सुझाव छ। 

कोरोनाले शारीरिकसँगै मानसिक स्वास्थ्यलाई समेत असर गरिरहेको छ। उनीहरु मात्र होइन हाल कोरोना संक्रमित भई संस्थागत तथा होम आइसोलेसनमा रहेका अधिकांश संक्रमितहरुमा देखिने गरेको समस्या हो यो। आइसोेलेसनमा बस्दा शारीरिक स्वास्थ्यको ख्याल त राख्छौं तर मानसिक स्वास्थ्यलाई भने खासै ध्यान दिदैँनौ।

होम तथा संस्थागत आइसोेलेसनमा रहेका संक्रमितहरुमा मनौवैज्ञानिक समस्या बढ्दो छ। तर बढीरहेको समस्या बारे अनुमान लगाउन भने गाह्रो छ। 

कोरोना संक्रमितमा बढ्दै पोष्ट ट्रम्याटिक स्ट्रेस डिसअर्डर
कोरोना मानिसको डरसँग जोडिएको रोग बन्न पुगेको छ। कोरोना लाग्दैमा र अस्पताल भर्ना हुँदैमा मरिन्छ, केही हुन्छ भन्ने डर अहिले यति हावी हुँदैछ की यसले मानसिक समस्या निम्त्याइरहेको छ। 

कोरोना जस्तै विभिन्न महामारीहरुमा मानसिक समस्या बढ्ने गरेको मानसिक रोग विशेषज्ञ बताउँछन्।

आइसोलेसन तथा आइसीयूमा उपचारपछि निको भएका व्यक्तिहरुमा विभिन्न मानसिक समस्या देखिने गरेको मानसिक रोग विशेषज्ञ डा रितेश थापाले बताए। जसलाई चिकित्सकीय भाषामा पोष्ट ट्रम्याटिक स्ट्रेस डिसअर्डर  भनिन्छ। यसलाई संक्षिप्त रुपमा पिटीएसडीका रुपमा पनि चिनिन्छ। 

उनी भन्छन्, ‘कोरोना भएर आइसीयू तथा आइसोलेसनमा बसेर उपचारपछि निको भइसकेकाहरुमा विभिन्न मानसिक समस्या देखिने गरेको छ। यो कुनै पनि घटनापछि यस्तो समस्या देखिन्छ।’

कोरोना महामारी नियन्त्रणका लागि गत वर्ष गरिएको लडाउनमा पनि अधिकांश मानिसहरुमा एन्जाइटी, डिप्रेशनका समस्याहरु देखिएको उनी सुनाउँछन्। 

सामाजिक सञ्जालमा अहिले कोरोना र हार्दिक श्रद्धाञ्जली बाहेक अन्य सामग्री कमै भेटिन्छन्। कसैको लागि यो जानकारी मूलक खबर हुन सक्ला तथा कोरोनासँग लडिरहेका संक्रमितहरुका लागि भने यसले ठुलो असर गर्छ। 

‘धेरै मानिस मरेको, संक्रमित भएको समाचारहरु नै अहिले सामाजिक सञ्जालमा बढी आउँछन्। यस्तो नकारात्मक समाचारहरुले मानिसहरुमा एन्जाइटी विकास भइरहेको छ’, उनले भने, ‘संक्रमण नभएको व्यक्तिलाई पनि सामान्य खोकी लाग्ने बित्तिकै मलाई कोरोना भयो। अब मर्छु की भन्ने तनाव हुने गरेको छ।’

कोरोनाले निम्त्याएका प्रमुख तीन मानसिक समस्या
कोरोनाले निम्त्याएका विभिन्न मानसिक समस्याहरुमध्ये तीन वटा प्रमुख रुपमा देखिएको छ। 

पहिलो, एन्जाइटी जसलाई आत्तिने रोग भनिन्छ। कोरोना संक्रमितमा यो सबैभन्दा बढी देखिएको समस्या हो। एन्जाइटीमा श्वास फेर्न गाह्रो हुने, चिटचिट पसिना आउने, कसैलाई घाटीमा केही अड्किएको जस्तो लाग्ने, खसखस हुने, छटपटाहट भइरहने, हातहरु काम्ने, मर्छु जस्तो लाग्ने, बेहोस हुन्छु की जस्तो लाग्ने, नकारात्मक सोचहरु आउने लक्षण देखिन्छ।  

दोस्रो, डिप्रेशन एन्जाइटीको समस्या नभएको तर चिढचिढापन बढी हुने, स–साना कुरामा रिसाइहाल्ने, झर्किने, निद्रामा समस्या हुने, धेरै कुराहरु मनमा खेल्ने हुन्छ।

तेस्रो, पिटीएसडी अर्थात् पोष्ट ट्रम्याटिक स्ट्रेस डिसर्अर। यो समस्या भने भर्ना भएर निको भइसकेका बिरामी या आफन्त गुमाएका व्यक्तिमा देखिएको डा थापा बताउँछन्। 

उनका अनुसार यो बाहेक कतिपय बिरामीले कोरोनाको आशंकामा पटक–पटक कोरोनाको परीक्षण गर्ने गरेका छन्।  

उनले भने, ‘पहिलो लहरमा पनि व्यक्तिले आशंकामा पटक पटक परीक्षण गराउने गरेको पाए। जबकी उसको कोरोना परीक्षण नेगेटिभ नै हुन्छ। मलाई छाति दुखिरहेको छ भन्दै कयौ पटक परीक्षण गराउने व्यक्तिहरु पनि थिए। यो पनि एक मानसिक समस्या हो।’

कोरोना महामारीको समयमा अधिकाशंलाई देखिएको मानसिक समस्याहरु यिनै हुन्। यी बाहेक न्यून संख्यामा भने कडा खालको मानसिक रोग साइकोसिसको समस्या समेत देखिएको उनले बताए। शंकालु स्वभावको हुने, सही गलत छुट्याउन नसक्ने, कानमा आवाजहरु आउने, विभिन्न भ्रमहरु हुने यसका लक्षणहरु हुन्। 

‘मैले गत वर्ष कोरोनासँग सम्बन्धित कडा खालको मानसिक समस्या भएका तीन जना व्यक्तिसँग भेटे। यो समस्या एकदमै थोरै व्यक्तिमा हुन्छ तर यो गम्भीर खालको हो’ उनले भने।

कुनै पनि व्यक्तिमा मानसिक समस्या देखिने बित्तिकै चिकित्सकको परामर्शमा जानुपर्छ। व्यक्तिले देखाउने यस किसिमको लक्षणहरुलाई नजर अन्दाज गर्दा समस्या जटिल बन्दै जान्छ।

एन्जाइटी र डिप्रेशन भइसकेका व्यक्तिहरुले समयमै उपचार नगरे समस्या बढ्ने र जटिल अवस्थामा पुग्ने उनले बताए। 

‘डिप्रेसन भइसकेको छ र उपचार गरेन भने समस्या बढ्दै जान्छ। एन्जाइटीले गर्दा कतिले काम गर्न नसकेर छाडेका पनि छन्। यस्तो समस्या महिनौसम्म रहन सक्छ’ उनले भने।

स–साना चिढचिढापनको समस्याहरु भने विस्तारै आफैँ ठिक हुँदै जाने उनले बताए। 

मानसिक समस्याबाट कसरी बच्ने?
मानसिक समस्याबाट कसरी बच्ने ? हाम्रो यो प्रश्नमा डा थापा भन्छन्, ‘सबैभन्दा पहिले त नकारात्मक खबरहरुबाट बच्नुपर्‍यो। सामाजिक सञ्जाललाई त अहिले सकेसम्म कम गर्न नै हामी सुझाव दिन्छौ।’

आफन्त तथा साथीभाइसँग कुराहरु साटासाट गर्न मात्र सामाजिक सञ्जाल प्रयोग गर्न सकिन्छ। तर धेरै समय बिताउन भने हुँदैन। 

आधिकारिक स्रोतबाट मात्र समाचारहरु हेर्न उनको सुझाव छ। कोरोना सम्बन्धी समाचाहरु दिनमा एक या दुई पटकभन्दा बढी प्रयोग गर्न नहुने उनले बताए। 

घरमा बस्दा दैनिक कामको रुटिन बनाउनुपर्छ। बिहान ढिलोसम्म सुत्दा राति निद्रा नलाग्ने, छटपटी हुने र नकारात्मक विचारहरु आउने उनले बताए। यो सँगै खानपीनमा ध्यान दिने, व्यायाम गर्ने, धुम्रपान तथा मद्यपान गर्नु हुँदैन। 

उनी भन्छन्, ‘घरमै बस्दा पनि दिनभरको रुटिन बनाउनुपर्छ। आफ्ना रुचि लागेका विषयहरु के के छन्। त्यसलाई निरन्तरता दिने, किताब पढ्ने, फिल्म हेर्ने, मन परेका कामहरु गर्ने गर्नुपर्छ।’

आफ्ना समस्याहरु घर परिवारका सदस्यलाई निर्धक्कका साथ भन्नुपर्छ। पहिलेदेखि कुनै पनि मानसिक रोगका नियमित औषधि खाइरहेका बिरामीहरुले औषधि खान छुटाउन नहुने उनले बताए। लकडाउनको बेला चिकित्सकसँग भेट्न नमिलेपनि टेलिफोनबाट सम्पर्क गरेर भएपनि परामर्श गर्नुपर्नेमा उनी जोड दिन्छन्। 

‘कुनै पनि मानसिक रोगका नियमित औषधि खाइरहेका बिरामीले औषधि खान छुटाउनु हुँदैन। डाक्टरसँग भेट भएको छैन भनेर घरमा बस्नु भएन। जसरी पनि सम्पर्क गरेर औषधि खानुपर्छ’ उनले भने। 

कोरोना लाग्दैमा र अस्पताल भर्ना हुँदैमा मानिस मर्ने होइन भन्ने सोचाई राख्न उनी सबैलाई आग्रह गर्छन्। कुनै पनि समस्या देखिने बित्तिकै तत्काल सम्बन्धित चिकित्सकसँग परामर्श गर्न उनको सुझाव छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि मनोवैज्ञानिक परामर्शका लागि निशुल्क हटलाइन नम्बर सुरु गरेको छ। कोभिड १९ का कारण मनोवैज्ञानिक समस्या व्यहोरिरहेका व्यक्तिले ११६६ वा १६६००१२१६०० मा फोन गर्न सक्छन्। 


प्रतिक्रिया दिनुहोस !