४ असार २०७८, शुक्रबार
३ जेष्ठ २०७८, सोमबार १५:२२

रसुवा आइपुग्यो ३५ सिलिन्डर अक्सिजन


कोरोना संक्रमित बढ्दै गएपछि रसुवामा ३५ सिलिन्डर अक्सिजन ल्याइएको छ । नुवाकोटको ओखरपौवामा रहेको हाम्रो अक्सिजन ग्यास उद्योग प्रालिमा अक्सिजन भरेर ल्याइएको हो । 

खाली सिलिन्डर संकलन गरी अक्सिजन भरेर शुक्रबार जिल्ला ल्याइएको प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद ढकालले जानकारी दिए । आवश्यकताका आधारमा प्रयोग हुने गरी अक्सिजन सिलिन्डर सदरमुकाम धुन्चेमा राखिएको उनले बताए । ‘अक्सिजनका लागि जहाँ आवश्यक पर्छ त्यहाँ तत्काल प्रयोग हुने गरी धुन्चेमा राखेका छौँ, उनले भने, ‘आवश्यकता परेको खण्डमा प्रयोग गरिन्छ ।’ 

अक्सिजन भरेर ल्याइए पनि रेगुलेटर र पाइपलगायतका सामग्रीको अभाव रहेको उनले बताए । तत्कालका लागि प्रहरी अस्पतालबाट सामग्री ल्याउन पहल भइरहेको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायब उपरीक्षक देवेन्द्र पाण्डेले बताए ।

जिल्ला विपद् व्यवस्थापन समितिमार्फत सामग्री खरिदका लागि प्रक्रिया सुरु गरेको उनको भनाइ छ । ‘तत्काल गाडी पठाएर प्रहरी अस्पतालबाट अक्सिजन प्रयोगमा प्रयोग हुने आवश्यक सामग्री ल्याउन पहल भइरहेको छ, जिल्ला विपद् व्यवस्थापन समितिमार्फत पनि सामान खरिदका लागि प्रक्रिया सुरु गरेका छौँ,’ उनले भने । 

विद्युत् विभागले जलविद्युत् आयोजनामा रहेको अक्सिजन सिलिन्डर स्थानीय प्रहरी, प्रशासनलाई उपलब्ध गराउन निर्देशन दिएसँगै अहिले जिल्लामा निर्माणाधीन जलविद्युत् आयोजनाले अक्सिजनको खाली सिलिन्डर उपलब्ध गराएका छन् ।

जिल्लामा निर्माणाधीन रसुवागढी, सालासुलुंगी, सान्जेन, अपर सान्जेन, लाङटाङ भोटेकोसी, सानिमा, चिलिमेलगायतका जलविद्युत् आयोजनाले अक्सिजनको खाली सिलिन्डर उपलब्ध गराएका हुन् । हाल जिल्लामा निजी क्षेत्रबाट प्राप्त एक सयभन्दा बढी अक्सिजनको खाली सिलिन्डर रहेको प्रमुख जिल्ला अधिकारी ढकालले बताए। 


प्रतिक्रिया दिनुहोस !