४ असार २०७८, शुक्रबार
२ जेष्ठ २०७८, आईतवार १७:३१

अस्पताललाई सरकारको निर्देशन : बिरामीका आफन्तलाई अक्सिजन लिएर आउनु नभन्नू


२ जेठ २०७८ काठमाडौं

सरकारले कोरोना संक्रमित बिरामीका आफन्तलाई अक्सिजन ल्याउन दबाब नदिन निर्देशन दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको उपचार गराइरहेका अस्पतालहरुलाई यस्तो निर्देशन दिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले आइतवारको नियमित कोभिड अपडेटका क्रममा कोभिडका बिरामीको उपचार गराइरहेका अस्पतालहरुलाई यस्तो भनेका हुन्। 

‘कोरोना संक्रमितका लागि अक्सिजन व्यवस्था गर्ने जिम्मा अस्पतालको हो’, अस्पतालहरुलाई निर्देशन दिँदै उनले भने, ‘अस्पतालमा अक्सिजन अभाव नहुने गरी सरकारले काम गरिरहेको छ। बिरामीका आफन्तलाई अक्सिजन लिएर आउनु नभन्नुस्।’

उनले चिकित्सकहरुलाई पनि यस्तो निर्देशन दिएका छन्। ‘चिकित्सकले पनि बिरामीका आफन्तलाई अक्सिजन लिएर आउनु नभन्नु, अक्सिजनको व्यवस्थापन गर्ने काम अस्पतालको हो’, उनले भने, ‘ओमानबाट अक्सिजन सिलिन्डर आइसकेको छ। चीन सरकारबाट प्राप्त अक्सिजन सिलिन्डर आइपुग्दैछ। दुवै देशबाट प्राप्त अक्सिजन सिलिन्डर सातै प्रदेशमा बाँडिने छ।’


प्रतिक्रिया दिनुहोस !