४ जेष्ठ २०७८, मंगलवार
२१ माघ २०७७, बुधबार २२:२६

बागमती प्रदेश सरकारले लोकसेवा परीक्षार्थीलाई बिचल्ली पार्‍यो


फाेटाे स्राेतः थाहाखबर

बागमती प्रदेशको लोकसेवा आयोग, हेटौंडाले माग गरेको विभिन्न पदका आवेदक परीक्षार्थीले प्रवेशपत्र लिनै सास्ती झेलेका छन्।

प्रदेश सरकारले प्रदेश लोक सेवाबाट नेपालमै पहिलो पटक माग गरेको कर्मचारीमा उल्लेख्य आवेदक भएपछि प्रवेशपत्र वितरण व्यवस्थापन गर्न आयोग चुकेको हो। आयोगले चौथो र पाँचौ तहका लागि कर्मचारी माग गरिएको विज्ञापनमा ९० हजार जनाले आवेदन दिएका छन्‌। प्रवेशपत्र वितरण तथा परीक्षा सञ्चालन भने भद्रगोल बनेको छ। 

परीक्षाको अघिल्लो दिनसम्म पनि प्रवेशपत्र नपाउँदा परीक्षार्थी आक्रोशित बनेका हुन्। चौथो तह अन्तर्गतको सर्वे अमिन, सहायक कम्प्युटर अपरेटर र सहायक महिला निरीक्षक पदको परीक्षा सकिएपनि बुधबार माघ २१ गते भेटेरिनरी (नायव प्राविधिक सहायक) को परीक्षा हुँदैछ। 

यस्तै, माघ २२ गते कृषि सेवा (नायव प्राविधिक सहायक) चौथो तहको परीक्षाका लागि फर्म भरेका परीक्षार्थी प्रवेशपत्र प्राप्त गर्न २ दिनदेखि लाइनमा बसेका छन्। लोकसेवा आयोगले परीक्षा निम्ति समयमै उचित निर्णय लिन नसक्दा परीक्षार्थीहरू चिसो ठन्डामा एकाबिहानै आयोगको कार्यालय, हेटौंडा-५ मा लाइन लाग्न पुग्ने गरेका छन्। 

२२ गते हुने कृषि नायव प्राविधिक सहायकको परीक्षा दिनका लागि हुम्ला चौखेली गाउँपालिका-४, पालिकाबाट हेटौंडा आएका रामचन्द्र बुढाथोकी प्रवेशपत्र लिने लाइन देखेर आत्तिए। ‘समयमै प्रवेशपत्र लिएर परीक्षा दिउँ भनेर तीन दिन अघि नै हेटौंडा आइपुगियो, तर पाँच–हजारको सङ्ख्यामा लाइन बसेका परीक्षार्थीको भीड देख्दा प्रवेशपत्र लिनै मुस्किल परेको छ,’ आयोग परिसरमा लाइन बसेका बुढाथोकीले गुनासो गरे, ‘हुम्लादेखि आइयो, तीन दिनअघि आइएपनि बल्ल परीक्षाको अघिल्लो दिन आज (बुधबार) बाट मात्र प्रवेशपत्र वितरण शुरू गरेकाले सास्ती खेप्नु परेको छ।’ 

हुम्लाकै सर्केघाट गाउँपालिका ३, उनपानीबाट आएका हिराजन कार्की पनि परीक्षाको अघिल्लो दिनसम्म पनि प्रवेशपत्र पाउन नसक्दा आफूले गरेको तयारी नै खेर जाने चिन्ता लागेको बताउँछन्। ‘निर्धक्क भई परीक्षा दिउँ भन्ने सोचले हेटौंडा आइयो, तर हेटौंडा आएको ३ दिनसम्म पनि प्रवेशपत्रसम्म पाउन सकिएन,’ उनी भन्छन्, ‘प्रवेशपत्र लिनैको लागि हजारौँ परीक्षार्थी रहेको लाइनमा भीडभाड र ठेलमठेल झेल्नुपरेको छ, कतै भोलि परीक्षाकै दिनमा पो पालो आउने हो कि !’ 

परीक्षा शुरू हुनुभन्दा कम्तिमा पनि एक हप्ता अगाडी प्रवेशपत्र वितरण गर्ने व्यवस्था मिलाइएको भए आफूहरूले यस्तो सास्ती झेल्नुनपर्ने उनी बताउँछन्। ‘देशभरबाट यतिका मान्छेले फर्म भरेका छन् भन्ने भएपछि त बेलैमा चार–पाँच वटा लाइन व्यवस्थापन गरेर प्रवेशपत्र वितरण गरेको भए यति अस्तव्यस्त हुने थिएन,’ उनी भन्छन्, ‘आयोगले बेलैमा तयारी गरेको भए समयमै प्रवेशपत्र पाएर हामी परीक्षाको तयारीमा लाग्न पाउने थियौं, तर अहिले त मन पनि आत्तिन थालिसक्यो। परीक्षा नै नदिउँ जस्तो लाग्न थालिसक्यो।’ 

बागमती प्रदेशका १३ जिल्ला र देशका अन्य प्रदेशबाट परीक्षा दिनका लागि फर्म भरेका परीक्षार्थी यतिबेला हेटौंडामामा छन्। प्रदेश लोकसेवा कार्यालयमा प्रवेशपत्र लिनका लागि सास्ती व्यहोर्नुपर्दा पनि लोकसेवा आयोग, हेटौंडा कार्यालय व्यवस्थापनमा जिम्मेवार बनेको देखिँदैन। आयोगका अध्यक्ष सुरेशमान श्रेष्ठ कर्मचारी अभावका कारण प्रवेशपत्र वितरण अस्तव्यस्त बन्न पुगेको बताउँछन्। 

आयोगका पदाधिकारी प्रदेश लोकसेवा आयोगको हेटौंडा कार्यालयमा ४९ जना कर्मचारीको दरबन्दीमा १२ जना मात्र कार्यरत रहेकाले प्रवेशपत्र वितरणमा तनाव भएको बताउँछन्। 

प्रदेश लोकसेवा आयोगले खोलेको विज्ञापनमा चौथो तहमा मात्र समावेशी सहित ६२ हजार जनाले फर्म भरेकोमा ४० हजार जनाले परीक्षा दिँदैछन्। 

परीक्षार्थीले बस्ने ठाउँ नै पाएनन्‌

परीक्षा दिन हेटौंडामा आइपुगेका परीक्षार्थीले बस्नका लागि कोठा समेत पाएका छैनन्‌।

​देशैभरबाट परीक्षाका लागि हेटौंडामा विद्यार्थी ओइरिएपछि हेटौंडामा कोठा नपाइने अवस्था बनेको हो। कोठा पाउन नसक्दा एकै कोठामा धेरैजना बस्नुपरेको बाध्यता रहेको पाइएको छ भने टाढा–टाढाबाट आएका परीक्षार्थीले बढी भाडा तिर्नुपरेको गुनासो गरेका छन्।

नेपालमै प्रदेश लोकसेवा आयोगबाट पहिलो पटक धेरै सङ्ख्यामा कर्मचारी माग भएपछि सरकारी जागिर खाने सपना बोकेका बागमती सहितका देशका विभिन्न प्रदेशका परीक्षार्थीले परीक्षा दिइरहेका छन्।

स्राेतः https://thahakhabar.com/news/117574/

Tags :

प्रतिक्रिया दिनुहोस !