४ जेष्ठ २०७८, मंगलवार
४ माघ २०७७, आईतवार ०६:५३

जनस्वास्थ्य अधिकृत कुँवरका स्वास्थ्य तर्फको लोकसेवा तयारी गर्ने ७ टिप्स


लेखकः रमेश कुँवर, जनस्वास्थ्य अधिकृत

लोकसेवा/प्रवेश परिक्षाहरुमा ट्यालेन्ट भन्दा पनि परिश्रमीले धेरै नाम निकाली रहेका हुन्छन । मेहनत भन्दैमा बालुवामा पानी खनाएर रोपाई गर्ने योजना बनाउँनु पनि होईन । चलाखीपूर्ण (स्मार्ट) मेहनत नै लोकसेवा/प्रवेश परिक्षामा सफल हुने सुत्र हो । अहिले स्वास्थ्य क्षेत्रमा धेरै विद्यार्थीहरु लोकसेवा र स्नातकोत्तरको प्रवेश परिक्षाको तयारि गरिरहेका छन । सोका लागि  वस्तुगत बहुउत्तर प्रश्न महत्वपुर्ण मानिन्छ । लोकसेवा र प्रवेश परिक्षामा सफल हुन निम्न टिप्सहरुलाई आवश्यकता अनुसार अनुसरण गर्न फाईदाजनक हुन्छ  ।

१) पाठ्यक्रम :

सर्वप्रथम त तपाईलाई आफूले तयारी गरिरहेको पदको पूर्वनिर्धारित पाठ्यक्रमको बारेमा विस्तृत रुपमा ज्ञान हुनुपर्छ । प्रत्येक विषयको गहिराईको बारेमा अध्ययन गर्न निकै जरुरि छ । विषयले परीक्षार्थीबाट कुन गहिराई सम्मको बुझाई खोजेको छ त्यो जान्न मद्दत पुर्याउछ । पाठयक्रमको गहिराई थाह नभई अध्ययन गर्नुभनेको मानौं तपाई युद्द लड्न जादै हुनुहुन्छ तर लड्ने तरिका थाह नहुनु भने जस्तै हो ।

२) कार्य विवरणको अध्ययन :

तपाईले तयारी गरिराख्नु भएको पद, त्यो पदबाट सरकारको अपेक्षा, व्यवहारिक सम्भावित ज्ञानको बारेमा राम्रो संग जानकार हुनु आवश्यक छ । धेरै जस्ता प्रश्नहरु त्यो पदमा रहेर काम गर्दा आईपर्ने खाल्का हुन्छन । जस्तै : तपाई अ.हे.ब. पदको तयारी गर्दै हुनुहुन्छ भने तपाईलाई सि.टि.स्क्यानको बारेमा विस्तृत जानकारी आवश्यक छैन बरु त्यसको सट्टामा खोप क्लिनिक, गाउँघर क्लिनिकको बारेमा गहिरो अध्ययन गर्नुस  ।

३) बुझाई :

परिक्षाले तपाईको विषय वस्तुमा कत्तिको सरल, सफा र गहिरो बुझाई छ भन्ने मापन गर्छ । तपाईले कत्तिको आफ्नो दिमागमा राख्न सक्नुहुन्छ भन्ने सँग खास्सै सरोकार हुँदैन । तपाईको विषयवस्तु प्रतिको बुझाई जाँच्ने हो ।

४) पाठ्यक्रम अनुसारको नोट :

सबै भन्दा प्रभावकारी उपाय भनेको स्व अध्ययन नै हो । पाठ्यक्रम र कार्य विवरणको गहिराई अनुसारको आफ्नै नोट बनाएर पढ्नु राम्रो मानिन्छ । विषयवस्तुको अंकभार र मेहनतको तालमेल मिलाउनु जरुरी छ । नयाँ सार्वजनिक गरिएका राष्ट्रिय/प्रादेशिक तथ्यांकलाई स्मरण गरिराख्नु होस ।

५) साथी सङ्गत :

परिक्षाको तयारी गरिराख्नु भएकाले आफुलाई सकारात्मक, क्रियाशील बनाईराख्ने खाल्को सङ्गत बनाउनु जरुरी छ । आफु जस्तै तयारी गरिरहेका र आफु भन्दा धेरै विषयगत ज्ञान अनुभव भएका साथीहरु संगको संगतले पढ्ने खाल्को वातावरण निर्माण हुन्छ । सकिन्छ भने आफु भन्दा अग्रजहरुको सुझाव सल्लाह लगी राख्नु र विषयगत क्षेत्रको दक्षता भएको व्यक्तिलाई आफ्नो मेन्टर बनाउनुस ।

६) अध्ययन सामग्री छंनौट :

मेरो बुझाईमा यो सबै भन्दा महत्वपूर्ण र संवेदनशील कुरा हो । बजारमा धेरै किसिमका शिक्षण सामग्रीहरु छन । ती मध्ये थोरै मात्रै गुणस्तरीय देखिन्छन । तपाईको ठाउँमा म भएको भए म नेपाल सरकारका उच्च पदमा कार्यरत वा अनुभव प्राप्त व्यक्तिहरु द्वारा लिखित/संकलित बुकहरुलाई प्राथमिकतामा राख्थे । सकेसम्म धेरै गुणस्तरीय किताबहरु किन्नुहोस, सबैका थ्योरी  अध्ययन गर्नुहोस । महत्वपूर्ण कुराहरुलाई नोटमा टिपोट गर्नुहोस । तपाईको नजरमा गलत ठहरिएकालाई हाईलाईट गरेर राख्नुस र सहि उत्तर खोज्नुहोस ।

७) अभ्यास :

जति सक्नुहुन्छ त्यति धेरै बहुउत्तर प्रश्न समाधान, अध्ययन र स्मरण गर्नुहोस । विगतका वर्षहरुमा सोधिएका प्रश्नहरुलाई स्मरणमा राख्नु होला । आफुले तयार गरिरहेका पद भन्दा माथिल्लो तहका पुराना बहुउत्तर प्रश्नहरुको राम्रो अध्ययन गर्नुहोस । प्रायले आफुले जानेका विषयवस्तु धेरै पढ़िराख्ने हुन्छन र यो नभुल्नुस कि तपाईलाई असक्षम बनाउने ज्ञान कम भएका विषयवस्तु हुन ।

अन्त्यमा, तपाईले अनावश्यक कुरामा समय खेर फालिरहेको बेला अरु कसैले अध्ययन गरिरहेका हुन्छन । जसले स्मार्ट तरिकाले धेरै अध्ययन गर्यो उसैको नाम निस्किने प्रबल सम्भावना हुन्छ । त्यहि भएर प्रत्येक सेकेण्डलाई उपलब्धिमूलक बनाउनुहोस र आफ्नो खानपिन, शारीरिक व्यायाम, मानसिक शान्तिलाई पनि विशेष ध्यान दिनुहोस ।          

लेखकः रमेश कुँवर, जनस्वास्थ्य अधिकृत

Tags :

प्रतिक्रिया दिनुहोस !