९ माघ २०७७, शुक्रबार
१३ पुष २०७७, सोमबार १०:५५

पर्वत जिल्ला जलजला गाउँपालिकामा पाकेको सुन्तलामा किरा परेपछि किसान चिन्तामा


पाकेर बजार लाने समय भएका सुन्तलामा किरा परेपछि पर्वत बाँसखर्कका किसान चिन्तामा परेका छन् । पर्वतका सुन्तला भण्डारका रूपमा चिनिएको जलजला गाउँपालिका–१ बाँसखर्कका किसानले लगाएका प्राय सुन्तलामा किरा देखिन थालेपछि किसान चिन्तामा परेका हुन् ।

। माघको पहिलो सातादेखि बिक्रीका लागि बजार पठाउने तयारी भइरहेका बेला बोटमै कुहिएर सुन्तला झर्न थालेका हुन् । उत्तर मोहडामा फैलिएको बाँसखर्क सबैभन्दा ढिलोसम्म बोटमै सुन्तला रहने ठाउँ हो । यहाँ माघ सुरु भएपछि मात्रै सुन्तला पाक्छ । यस पटक भने पाक्ने बेलामा पहेंलो हुँदै झर्न थालेपछि किसान वर्षभरिको आम्दानी गुम्ने चिन्तामा रहेका छन् ।

बढी पहेंलो भएको गेडो छिट्टै झरेको किसान जगतबहादुर खत्रीले भन्नुभयो, ‘कोट्याएर हेर्दा भित्र किरैकिरा छन ।’बारीभरि पहेंलै भएर झरेका सुन्तला संकलन गरेर खाडलमा पुर्ने गरेको खत्रीले बताउनुभयो । उहाँले बर्सेनि करिव रु. ८ लाख रुपैयाँसम्मका सुन्तला बोटबाटै बेच्ने गरेको बताउनुभयो । बर्सेनि रु. ५ लाखका सुन्तला बिक्री गर्दै आउनुभएकी बिष्णु भण्डारीले पनि पाक्ने बेलामा देखिएको यस्तो समस्याले यो बर्ष बिगतको जस्तो आम्दानी गर्न नसकिने अनुमान ब्यक्त गर्नुभएको छ ।

धान फल्ने खेत मासेर यहाँका किसानहरुले सुन्तला लगाएको भएपनि यो बर्ष सबैको आम्दानी चौपट हुने होकि भन्ने अवस्थामा रहेको बताउनुहुन्छ अगुवा किसान नारायण प्रसाद सुवेदि,‘गत बर्ष सुन्तला बाट ७ लाख कमाउन सफल भएको थिए तर यो बर्ष ७० हजार पनि नपर्ने होकि भन्ने भएको छ सुन्तला झरेको देख्दा’ । कृषक नारायणका अनुसार यहाँका सम्पुर्ण किसानलाई अहिले बिगतको जस्तो सुन्तलाबाट आम्दानी राम्रो नहुने चिन्ताले सताएको छ ।

उहाँले भन्नुभयो, ‘सुन्तला उठाउँदै खाल्डोमा पुर्नुपरेको छ ।’ मल, काँटछाँट र बगैंचा व्यवस्थापनमा बर्सेनि लाखभन्दा बढी खर्च हुने सुवेदीले बताउनुभयो । लगानी मात्रै नभएर वर्षभर कमाइखाने बाटो पनि बन्द हुने अवस्था आएको बताउनुभयो ।

बाँसखर्कमा बर्सेनि साढे ३ करोड रुपैयाँसम्मको सुन्तला उत्पादन हुन्छ । सुन्तलाको व्यवस्थित बजारीकरण गर्न किसानकै अग्रसरतामा सुन्तला उत्पादन तथा बिक्री गर्न बजारमारे सुन्तला उत्पादन सहकारी स्थापना गरिएको छ । सहकारीले घरैबाट सुन्तला टिपेर काठमाडौंदेखि चितवनसम्मका बजार पु¥याउँदै आएको छ ।

सुन्तला बिक्रीबाटै आएको आम्दानीको केही प्रतिशत रकमले सहकारीको खर्च धानिएको थियो । ‘यसपालि बाक्लो फलेको देखेर खुसी थियौं,’ सहकारीका अध्यक्षसमेत रहेका खत्रीले भन्नुभयो, ‘मंसिरदेखि झर्न थालेको हो । पाकेका सुन्तला झरेपछि आम्दानीको बाटो सुक्ने चिन्ता बढ्दै गएको छ ।’

सुन्तला झरेपछि सहकारीको आम्दानीसमेत घट्ने उहाँले बताउनुभयो । किसानले सुन्तला बेचेबापत प्रतिकिलो रु. ५ रुपैयाँका दरले सहकारीमा जम्मा गर्नुपर्ने व्यवस्था छ । बाँसखर्कसहित म्याग्दी र बागलुङका केही गाउँ समेटेर गत वर्षदेखि सुन्तला सुपरजोन कार्यक्रम लागू भएको छ । बाँसखर्कसहित म्याग्दीको बेनी नगरपालिका, अन्नपूर्ण, रघुगंगा, मालिका गाउँपालिका, बागलुङको बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकासहितका सात स्थानीय तहका ५२ वडा समेटेर जोन कार्यान्वयन भएको हो ।

जोनमा समेटिएको भए पनि सुन्तला झर्ने समस्या समाधान नभएको वडाध्यक्ष तुलसीराम शर्मा रेग्मीले गुनासो गर्नुभयो । ‘जोनले केही माखो मारेन,’ रेग्मीले भन्नुभयो, ‘पहिला ब्लक हुँदा सानातिना समस्या समाधानलाई पैसा आउँथ्यो । अहिले त्यै पनि हरायो । बारीभरि सुन्तला झरेर बिजोग भएको छ । जोनलाई धेरै भन्यौं । तर सुनुवाइ भएन ।’ पाक्ने बेलामा किरा लागेर झर्ने समस्या समाधान गर्न तत्काल सम्भव नभएको सुन्तला सुपरजोनका प्रमुख सुधीर थापाले बताउनुभयो ।


प्रतिक्रिया दिनुहोस !