१७ मंसिर २०७७, बुधबार
६ मंसिर २०७७, शनिबार ०७:५७

संक्रमितको मृत्युदर कसरी घटाउने? सरकारलाई डा तिवारीका केही टिप्स


काठमाडौं : सरकारले कोरोना संक्रमितको मृत्युदर कसरी घटाउन सकिन्छ त्यसमा विषयमा ध्यान दिनुपर्ने स्वास्थ्य मन्त्रालयका स्वास्थ्य विज्ञ सल्लाहकार डा. सुरेश तिवारीले बताएका छन्।

पछिल्लो समय नेपालमा मृत्युदर बढदै गएको छ। दैनिक १० जनाभन्दा बढी संक्रमितको मृत्यु भइरहेको छ। हालसम्म कोरोनाकै कारण १२ सय ५९ संक्रमितको मृत्यु भइसकेको छ। 

बुधबार बिहान थाहाखबरसँग कुरा गर्दै उनले भने, ‘नेपालमा कोरोना देखिएको झन्डै १० महिना पुगिसक्दा पनि सरकारको तर्फबाट कोरोना नियन्त्रणका लागि आशा लाग्ने काम गरेको छैन।’

चीनमा पहिलोपटक संक्रमित भेटिएको एक वर्ष भइसकेको छ। नोभेम्बर १७ मा हुवेई प्रान्तको वुहान सहरमा ५५ वर्षीय व्यक्तिलाई कोरोना पुष्टि भएको थियो।

‘सरकारले मृत्युदर कसरी घटाउन सकिन्छ त्यसमा ध्यान दिनुपर्छ,’ उनले भने,’आइसियु र भेन्टिलेटरमा संक्रमितको मृत्यु हुन थालिसकेको छ। अक्सिजन प्लान्ट बनाउनुपर्छ।’

उनले थपे, ‘कोरोना संक्रमितको उपचार गर्न सबैभन्दा भरपर्दो माध्यम अक्सिजन थेरापी रहेको छ। शरीरमा अक्सिजनको कमी र फोक्सोमा असर गर्ने उनको दाबी छ। अक्सिजन प्लान्ट बनाएर अस्पतालमा अक्सिजनको कमी हुन दिनु हुँदैन।’

अस्पतालमा भर्ना भएको संक्रमितलाई कसरी उपचार गर्न सकिन्छ र भर्ना भएका संक्रमितको गम्भीरताका साथ उपचार गर्नुपर्ने उनले धारणा राखे।

डा. तिवारीको भनाइ जस्ताको त्यस्तै

कोरोना रोकथाम तथा नियन्त्रण गर्न लकडाउन गरियो त्यसको प्रभाव केही देखिएन। मानिसलाई घरमा थुन्दा नियन्त्रण हुन्छ भन्ने लागेर त्यसो गरेको हुन सक्छन् तर, त्यसको प्रभाव केही देखिएन उपत्यका नगरपालिका फोरमका पदाधिकारीले छठ पर्व पछाडि पुनः उपत्यकामा निषेधाज्ञा गर्नलाई सरकारमा सहभागी मन्त्रीलाई भेटी अनुरोध गरे। कोरोना नियन्त्रणका लागि उपत्यकालाई मात्र ध्यान दिएर भएन, बाहिरका जिल्लालाई उत्तिकै गम्भीरताका साथ लिनुपर्छ। 

संक्रमितलाई प्रभावकारी र व्यवस्थित तरिकाले उपचार गर्न अस्पताल बन्न नसक्नुमा सरकारको कमजोरी हो। आइसियु र भेन्टिलेटरमा गएका संक्रमितको मृत्यु हुन थाल्दा पनि उपचार पद्धतिमा अझ विश्वास हुन सकेको छैन। आइसियुमा गएका संक्रमितको मृत्यु हुनु भनेको कोरोनाले भयावह अवस्था लिइसक्नु हो। 

स्वास्थ्यकर्मी सबैभन्दा बढी प्रभावित छन्, तिनीहरूलाई कसरी बचाउने र उपचार कसरी गर्ने भनेर त्यस्तो केही तालिम दिइएको पनि छैन। सुरुवाती चरणमा स्वास्थ्यकर्मीलाई उपचार पद्धतिबारे राम्रो तालिम दिएको भए स्वास्थ्यकर्मी धेरै संक्रमित हुँदैन थिए। 

पछिल्लो समय संक्रमित संख्या कम भएकोले पिसिआर परीक्षणको दायरा बढाउनुपर्ने थियो। कोरोना परीक्षण गर्न पिसिआरभन्दा अन्य विकल्पहरु सेरोलोजिकल र एन्टिजेन विधिबाट पनि परीक्षण गरेको भए पनि हुने थियो। केही निजी अस्पतालको कोरोना उपचार केन्द्रमा एउटै हलमा आइसियु र वार्ड बनाइएको र यसले अझ बढी जोखिम बढाउँछ। 

कोभिड नियन्त्रणका लागि सरकारले छुट्टै सामाजिक संहिता लागू गर्नुपर्छ। समग्र आर्थिक तथा सामाजिक क्षेत्रमा यसले केही योगदान गर्न सक्छ। केही राष्ट्रले औषधि निर्माण गर्न सकेको भन्ने कुरा छ, त्यसका लागि सरकारले कूटनीतिक पहल थाल्नुपर्छ।

औषधि भण्डार कसरी गर्न सकिन्छ, त्यसको पूर्वाधार निर्माण गर्न अहिलेदेखि सरकार लाग्नुपर्छ। अस्पताल व्यवस्थापनलाई पहिलो प्राथमिकता राख्नुपर्ने र संक्रमितले अस्पतालमा जाँदा उपचार गर्न पाइन्छ भन्ने निश्चितता हुनुपर्छ। 


प्रतिक्रिया दिनुहोस !