१७ मंसिर २०७७, बुधबार
२४ कार्तिक २०७७, सोमबार १६:००

सुदूरपश्चिमका कोरोना अस्पतालमा बेड अभाव, प्रदेश सरकारको छैन तयारी


अनेरास्ववियुका कैलाली जिल्ला संयोजक समिर जोशीले चार पटक कोरोना जाँच गरे। 

धनगढीका जोशी सुरूमा लकडाउन भएपछि त्रिनगर नाकामा खाना खुवाउने, क्वारेन्टिनमा खाना खुवाउने, भाडामा बसेर पढ्ने विद्यार्थीलाई राहत वितरण गर्ने काममा उनी सहभागी भएका थिए। त्यसबेला संक्रमित हुने जोखिम रहेकाले उनले सेती प्रादेशिक अस्पतालमा तीन पटक कोरोना जाँच गरेका थिए।

यसपटक एक्कासि ज्वरो आउने, खोकी लाग्ने, पखाला लाग्ने भयो। अस्पतालमा जाँच गराउँदा रोग दखिएन। उनका बुवालाई पनि त्यस्तै लक्षण देखियो। दुबै जनाले स्वास्थ्य कार्यालयमा गएर स्वाब दिए। तीन दिनपछि कोरोना  पोजेटिभ रिपोर्ट आयो।
उनको परिवारका अरु दुई जनाले स्वाब दिएका छन्।

‘निःशुल्क परीक्षण गराउँदा तीनदेखि पाँच दिनमा रिपोर्ट आउँछ भनेका थिए,’ उनले भने।

कोरोना देखिएपछि उनी होम आइसोलेसनमै बसे। डाक्टरसँग फोनबाट परामर्श लिएको उनले बताए। डाक्टरले लक्षणका आधारमा औषधीको नाम म्यासेज गरिदिए। त्यही प्रयोग गरेको उनले बताए।

‘बुवा अरू रोगको बिरामी पनि हुनहुन्थ्यो, उहाँको चिन्ता भएर अस्पताल जान मन भयो,’ उनले भने।

कोरोनाका कारणले बुवाले खाने कलेजो सम्बन्धी रोगको औषधी नपाइएपछि समस्या भएको उनले सुनाए।

‘त्यो औषधी यता पाइँदैन, काठमाडौंबाट ल्याउनुपर्छ, अहिले उता जान सकिएको छैन,’ उनले भने।

शनिबार बेलुका बुबासित उनी सेती प्रादेशिक अस्पतालको कोरोना उपचार भवनमा सरेका छन्।

‘बुबालाई राति खोकी र ज्वरो बढी हुन्छ, स्वास फेर्न पनि असहज हुन्छ, मलाई पनि टाउको दुख्ने र दिशामा गडबड हुने भइरहेकोले अस्पताल आउनपर्‍यो,’ उनले भने।

कोरोना उपचार भवनमा बेडहरू लक्षण भएका बिरामीले भरिएका छन्।

‘अहिले पनि बिमारी आइरहेका छन्। केहीलाई बेड पुगिरहेको छैन। आएकाहरूले पाएका छन् तर नयाँ आउनेलाई बेड अभाव छ,’ उनले भने।

उनीहरूलाई पनि डक्टरले बेड खाली भएपछि आउनुहोला भनेकाले एकदिन घरमै बसेका थिए। पछि बेड खाली भएपछि अबर आएको थियो।

‘अस्पतालबाट एम्बुलेन्स पठाएको थियो। त्यसमा आयौं,’ उनले भने।

एम्बुलेन्स चालकले खबर गरेपछि अस्पताल बाहिर एक जनाले नाम, सम्पर्क नम्बर, समस्या के छ, कहिले पोजेटिभ आएको भनेर लेखे। भित्र पस्दा काउन्टरबाट तन्ना, ओढ्ने, सेनिटाइजर, टुथपेस्ट, ब्रस र पिउने पानीको बोत्तल दिए। उनीहरूलाई एक-एक बेड दिइयो।

त्यहाँ भएका बिरामीहरूलाई खाना प्याकिङ गरेर बाहिरबाट आउँछ।

‘खान बस्नमा खर्च भएको छैन,’ उनले भने।

भित्रबाट बिरामीले बोल्न माइक राखिएको छ। सिसिटिभी क्यामेराबाट बिरामीको निगरानी गर्ने गरिएको छ।

‘अस्पतालमा बसेका नर्स तथा सहयोगीले माइकबाट बिरामीसँग के समस्या छ, खाना के खाने  भनेर सोध्ने गरेका छन्,’ उनले भने।

बिरामीले पनि माइकबाटै कुरा गर्छन्।

खाना दिनेले ढोकाबाहिर राखिदिन्छन्। बिरामीले भित्र ल्याएर खान्छन्। दाल, भात तरकारी, अनि रोटी खानामा दिने गरिएको छ।

बिहान खाजामा अण्डा र चना हुन्छ। दिउँसो पनि नास्ता दिन्छन्।

‘तातोपानीका लागि भने आफैंले भाँडा लिएर आउनुपर्छ,’ उनले भने।

बेडमा जोडिएको विद्युतको प्लगबाट तताउने अनि पानी पिउने गरेको उनले बताए।

अहिले डाक्टरले भनेका केही औषधी खाइरहेको उनले बताए।

यसबाहेक गुर्जो, अदुवा, काली मरिच, टिमुर, हल्दी, पिप्ला, दालचिनीको पाता उमालेर पानी खाने गरेको उनले बताए।

उनको क्याबिनमा ८ जना बिरामी छन्।

‘हामीसँगै बसेका दुई जनाले अक्सिजन पनि लिइरहनुभएको छ,’ उनले भने।

हातमा लगाएर प्रेसर नाप्ने डिजिटल मेसिन र अक्सिजन नाप्ने अक्सिमिटर छ। त्यसबाट हरेक बिरामीले चेक गर्ने गरेर रिपोर्ट टिपाउने गरेका छन्।

नर्सले दिनमा तीन पटकभन्दा बढी बिरामीको रिपोर्ट लिने गरेका छन्।  

बिहान एक पटक चाहिँ पिपिइ लगाएर नर्सले सबै बिरामीको अवस्था बुझ्नेगरेका छन्।

‘नर्सले सिरियस भएका बिरामीलाई ग्लुकोज चढाउने, औषधी दिने, अक्सिन सकिएको भए फेर्नेजस्ता काम गरिदिनुहुन्छ,’ उनले भने।

आफूले प्रयोग गरेका सामानबाट निस्कने फोहर डस्टबिन राखेर भरिएपछि ढोकानेर पुर्‍याउनुपर्छ। त्यहाँबाट सफाइकर्मीले व्यवस्थापन गर्छन्।

केही बिरामीले बिहानतिर भवनबाहिर गएर कसरत पनि गर्छन्।  

‘वाइफाइ छ। मोबाइल चलाउने, सँगै भएकाहरूसँग कुराकानी गर्ने, एक-अर्काको अवस्था के छ भनेर सोध्छौं,’ उनले भने।

कोरोना पोजेटिभ रिपोर्ट आएपछि मनोवैज्ञानिक डर लागेको उनले बताए। सबैबाट टाढा हुनुपर्दा पनि एक्लोपनको महसुस हुने गरेको उनले बताए।

‘अरुले आफू त संक्रमित भयो हामीलाई पनि सार्यो कि भनेर भन्छन्,’ उनले भने।

दिउँसो नर्मल भए पनि राति चिसो बढी भएपछि खोकी लाग्ने, टाउको दुख्ने हने गरेको उनले बताए।

‘अरु मान्छेहरू बिरामीको भन्दा पनि आफू संक्रिमित भएँ कि भनेर चिन्ता गर्छन,’ उनले भने, ‘मान्छेहरू बिरामीलाई के छ कस्तो छ भन्दा पनि हामी कहिले भेटेका थियौं, म चेक गरुँ कि के गरुँ भनेर सोध्छन्।’

सेती प्रादेशिक अस्पतालको कोरोना उपचार भवनमा अहिले ज्येष्ठ नागरिक र दीर्घरोगी बढी छन्।

कोरोना अस्पतालमा बेड अभाव

सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या बढेसँगै अस्पतालमा बेडको अभाव देखिन थालेको छ। लक्षणसहितका संक्रमित थपिँदै गएपछि बेड अभाव हुन थालेको सेती प्रादेशिक अस्पतालले जनाएको छ।

लक्षणसहितका बिरामीहरूको संख्या बढ्न थालेपछि कोरोना उपचार भवनका बेडहरू भरिएका सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताए।

५० बेड क्षमता भएको कोरोना विशेष अस्पतालमा १५ बेड आइसियू र बाँकी जनरल बेड रहेका छन्। अस्पतालमा अहिले ४८ जना संक्रमित रहेकोमा १५ जना आइसियू र एक जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए।

प्रदेशमा संक्रमित बढ्दै जानु र लक्षण देखिन थालेपछि उपचार कसरी गर्ने भन्ने समस्या उत्पन्न भएको छ। अहिलेको अवस्थामा प्रदेशभर कोरोना संक्रमति बिरामीको उपचारका लागि ३ सय १० बेडको व्यवस्था गरिएको समाजिक विकास मन्त्रालयले जनाएको छ। जुन कोरोना संक्रमणको सुरुवाती अवस्थादेखि नै छ।

अस्पतालमा उपचार गर्नुपर्ने कोरोना संक्रमित बढ्दै गए पनि थप बेड र तयारीमा भने प्रदेश सरकार लागेको देखिँदैन।

प्रदेशसभा सदस्य टेकबहादुर रैकाले कोरोना संक्रमितको उपचारका लागि मुख्यमन्त्रीसमक्ष आइसोलेसन, भेन्टिलेटर, आइसियू व्यस्वथा गर्न भेटेरै सुझाव दिएको बताए। उनले संक्रमितको नि:शुल्क उपचार गर्ने र हरेक स्थानीय तहमा उचित व्यवस्था मिलाउनुपर्ने बताए।

यता सामाजिक विकास मन्त्रालयको मन्त्रालयको स्वास्थ्य शाखाका प्रमुख नरेन्द्र कार्कीले बेड थप्ने र अस्पतालहरूमा क्षमता बढाउने तयारी गरिएको दाबी गरे।

सुदूरपश्चिम प्रदेशमा संक्रमितको संख्या शनिबारसम्म ९ हजार ९ सय २३ रहेको छ। संक्रमितमध्ये ८ हजार ४ सय ४१ जना निको भएका छन्। १ हजार ४६ जना होम आइसोलेसन छन्। ४ सय ११ जना विभिन्न अस्पतालका आइसोलसनमा उपचाररत् छन्।


प्रतिक्रिया दिनुहोस !