१८ मंसिर २०७७, बिहीबार
४ कार्तिक २०७७, मंगलवार २०:१५

हड्डी कमजोर भएर भाँचिने समस्या


डा प्रवेशसिंह भण्डारी।

सन्दर्भ : विश्व अस्टियोपोरोसिस दिवस अक्टोबर २०

५५ वर्षीया रामकली श्रेष्ठको सामान्य ठेस लाग्दा नाडीको हड्डी भाँचियो। अस्पतालमा एक्स रे गर्दा भाँचिएको देखिएपछि प्लास्टर गरियो।

६५ वर्षीय जितबहादुरले ढाड दुखेर कुप्रो परेजस्तो अनुभव भएपछि अस्पतालको बहिरंग विभागमा पुगेर जँचाउनुभयो। उहाँको दुखाइ भने हाछ्युँ गर्दा सुरु भएको थियो।

परीक्षणका क्रममा ढाड भाँचिएको देखियो। दुखाइ कम हुने औषधि लिएर घर फर्कनुभयो।

७५ वर्षीया हजुरआमाको कार्पेटमा गोडा अल्झिँदा पुठ्ठामा धेरै दुखेर गोडा टेक्न सक्नुभएन। अस्पतालमा एक्स रे गरेर हेर्दा पुठ्ठाको हड्डी भाँचिएको देखियो। त्यसको शल्यक्रिया गरेर इम्प्लान्ट राखेर गरियो।

यी सबै घटना प्रतिनिधिका रूपमा मात्र प्रस्तुत गरिएका हुन्। सामान्य रूपमा हेर्दा उमेरका कारणले भएजस्तो देखिए पनि यस्ता चोटहरूको मुख्य कारणबारेमा खासै चर्चा गरिएको पाइँदैन। यस्ता चोटहरूमा उपचार लक्षणको मात्र हुने गरेको तर कारणको उपचार भने भएको पाइँदैन। यस किसिमका अधिकांश चोटहरूका कारण भने अस्टियोपोरोसिस रहेको हुन्छ।

अनुभवले के देखाउँछ भने रामकलीको अर्को हड्डी भाँचिने सम्भावना पनि ८६ प्रतिशत हुन आउँछ। जितबहादुरको जस्तै गरी हरेक २२ सेकेन्डमा एकजनाको मेरुदण्ड अर्थात् ढाडको हड्डी अस्टियोपोरोसिसका कारण भाँचिइरहेको हुन्छ।

यसरी अस्टियोपोरोसिसका कारणले मेरुदण्ड भाँचिने ५० वर्षभन्दा बढी उमेरका मानिसमा सोही उमेर समूहका मानिसभन्दा आठ गुणा बढी मृत्युदर रहेको अध्ययनले देखाएको छ।

७५ वर्षकी हजुरआमाजस्ता अस्टियोपोरोसिसका बिरामीमध्ये ४० प्रतिशत पहिलेकै जसरी कसैको सहाराविना हिँडडुल गर्न सक्दैनन्। उनीहरूको मृत्युदर आफूसँग रहेका अन्य दीर्घरोगको जटिल अवस्थाका कारण हुन्छ। यसरी हुने मृत्युदर हाड भाँचिएको पहिलो वर्षमै २०५ सम्म हुन्छ।

अस्टियोपोरोसिसका बारेमा जनचेतना जगाउन हरेक वर्ष अक्टोबर २० लाई अस्टियोपोरोसिस दिवसका रूपमा मनाउने गरिएको छ।

अस्टियोपोरोसिस के हो ?

यो यस्तो रोग हो, जसमा हड्डीको घनत्व कम हुने र हड्डीको गुणस्तर खस्किएर, कमजोर भएर सजिलै भाँचिने अवस्था आउँछ। यस्तो अवस्था थाहा नपाउने हुन्छ तर समस्या बढ्ने क्रममै रहेको हुन्छ। हड्डी भाचिँदासम्म पनि खास लक्षण देखिँदैन। अझ सजिलोसँग बुझ्न यसलाई धमिराले काठ खाए झैं भित्रीरूपमा हड्डीलाई कमजोर बनाउने जटिल किसिमको समस्याका रूपमा बुझ्न सकिन्छ। आम जनमानसले यसलाई अस्टियो आथ्र्राइटिसका रूपमा बुझे पनि यो फरक किसिमको समस्या हो। अस्टियो आर्थ्राइटिसमा जोर्नीको कुर्कुरे हड्डी खियाउँछ तर भाँचिदैन तर दुख्ने र विकृत बनाउँछ।

हरेक तीन सेकेन्डमा अस्टियोपोरोसिसका कारण मानिसहरूका हड्डी भाँचिने गरेको छ।

अस्टियोपोरोसिस कसरी हुन्छ ?

हड्डी एउटा जीवन्त तन्तु हो। जन्मेदेखि नै यसमा निरन्तर परिवर्तन भइरहन्छ। यसको लम्बाइ र गोलाइमा वृद्धि भइरहन्छ। यो क्रम बढ्दो उमेरसम्म निरन्तर चलिरहन्छ। हड्डीमा क्याल्सियमका लवण पनि थपिँदै जान्छ, जसले हड्डीको घनत्व बढाउँदै जान्छ। हड्डीको घनत्व बढ्ने यो क्रम ३० वर्षको उमेरसम्म निरन्तर रहन्छ। यसबाहेक हड्डी शरीरलाई चाहिने क्याल्सियमको भण्डार पनि हो। अन्य तन्तुमा क्याल्सियमको माग हुँदा हड्डीबाट क्याल्सियम रगतमा घुलेर आपूर्ति हुन्छ। क्याल्सियम जम्मा हुने र रगतमा घुलेर आपूर्ति हुने यो प्रक्रिया निरन्तर रहन्छ।

उमेरको तेस्रो दशकपछि भने वार्षिक रूपमा ०.१५ का दरले हड्डीको घनत्व घट्दै जान्छ। महिलामा भने महिनावारी रोकिएको पहिलो १० वर्षसम्म यो दर वृद्धि भएर ३५ सम्म हुन्छ। ६० देखि ७५ वर्ष उमेरपछि यो दर ०.५ प्रतिशत हुन्छ। हड्डीको घनत्व कति हुन्छ भन्ने कुरा यसको विकासक्रममा व्यक्तिले गर्ने खानपान र शारीरिक तन्दुरुस्तीले निर्धारण गर्छ।

यद्यपि हड्डीको घनत्व कम हुने किसिमका रोग तथा उपचारका क्रममा हुने विभिन्न गतिविधिका कारण हड्डीको घनत्व कम भएर पनि अस्टियोपोरोसिस हुन्छ।

हड्डीको घनत्वलाई रिटायर्डमेन्ट फन्ड अर्थात् अवकाशपछिको पेन्सनका रूपमा पनि बुझ्न सकिन्छ। जति जम्मा गर्नुभएको छ, त्यति लामो अवधिसम्म प्रयोग गर्न सकिन्छ।

अस्टियोपोरोसिसका लक्षण र हुने कारण

यस रोगमा मुख्यगरी मानिस कुप्रो पर्ने, सामान्य चोटमा पनि हड्डी भाँचिने, ढाड बेस्सरी दुख्ने, उचाइ कम हुँदै गएको महसुस हुनेलगायतका लक्षण देखिन्छन्।

अस्टियोपोरोसिस हुने कारणमा अत्यधिक मद्यपान, धूमपान, शारीरिक ब्यायामको कमी, वंशाणुगत कारण, हड्डीको घनत्व कम हुनु, घाम नताप्नु वा घाम नलाग्ने स्थानमा लामो समय बस्नु, शरीरमा क्याल्सियमको कमी हुनु, अपोप्टोसिस प्रक्रियाका कारण हुने कोषमा आउने परिवर्तन, शरीर सुन्निने, स्टेरोइड औषधिहरूको लामो समयसम्मको सेवन, शरीरमा अक्सिडेन्ट्स तथा फ्री रेडिकल्सको कमी हुनु तथा अनियमितता हुनु, महिलामा समयअगावै महिनावारी सुक्नुलगायत रहेका छन्।

अस्टियोपोरोसिसको वर्तमान अवस्था

विश्वमा हाल वार्षिक रूपमा ८९ लाख हड्डी भाँचिने कारण अस्टियोपोरोसिस रहेको अध्ययनले देखाएका छन्। हरेक तीन सेकेन्डमा अस्टियोपोरोसिसका कारण मानिसहरूको हड्डी भाँचिने गरेको छ।

संसार विस्तारै बुढ्यौलीउन्मुख भइरहेको छ। सन् २०५० सम्ममा संसारको एकतिहाइ जनसंख्या ६५ वर्षभन्दा माथिका र हरेक १० जनामध्ये एकजना अर्थात् १० प्रतिशत जनसंख्या ८० वर्षभन्दा माथिका हुने प्रक्षेपण गरिएको छ।

सन् २०५० सम्ममा पुठ्ठाको हड्डी भाँचिने क्रम वार्षिक रूपमा ६२ लाखभन्दा बढी हुने अनुमान गरिएको छ। यसको आधाभन्दा बढी हिस्सा एसियाली मुलुकहरूमा हुने प्रक्षेपण गरिएको छ। हालै भारतमा गरिएको एक अध्ययनअनुसार कम आय भएका जनसंख्याको एकतिहाइमा अस्टियोपोरोसिस रहेको देखिएको छ।

अस्टियोपोरोसिसका कारण स्वास्थ्यका उपलब्ध सीमित साधनस्रोत तथा त्यसमा रहेको अपर्याप्ततालाई अझ जटिल अवस्थामा लैजाने जोखिम बढेको छ।

अस्टियोपोरोसिस निदान

विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार अस्टियोपोरोसिसको परीक्षणका लागि डेक्सा स्क्यान प्रयोग गरिन्छ। यसले हड्डीको घनत्वलाई तीन प्रकारमा छुट्ट्याउँछ।

यसमा सामान्य, अस्टियोपिनिक र अस्टियोपोरोटिक समूहमा विभाजन गरिन्छ। अस्टियोपोरोटिक समूहमा पर्ने मानिसलाई मात्र अस्टियोपोरोसिसको उपचार जरुरी हुन्छ। अस्टियोपिनिक समूहका मानिसलाई अस्टियोपोरोटिक हुनबाट जोगाउने उपाय अपनाइन्छ। हाम्रोजस्तो सीमित स्रोतसाधन भएको अवस्थामा सबै बिरामीको पहुँचमा डेक्सा स्क्यान नहुने भएकाले अस्टियोपोरोसिसले हड्डी भाँचिएकाहरू र उच्च जोखिममा रहेकाहरूको अस्टियोपोरोसिसको उपचार सुरु गर्नुपर्ने हुन्छ।

अस्टियोपोरोसिसको उपचार

अस्टियोपोरोसिसको निदान तथा उपचारको मुख्य कुरा भनेको हड्डी भाँचिने जोखिममा रहेका तर भाँचिइनसकेका बिरामीको समयमै उपचार गरेर भविष्यमा आउन सक्ने जटिल अवस्थाबाट जोगाउनु रहेको छ। यसको उपचारले अस्टियोपोरोसिसका कारण हुने हड्डी भाँचिने समस्याको दरलाई ८५ बाट घटाएर २५ मा सीमित गरिदिन्छ। अस्टियोपोरोसिसका उपचारमा हाल नेपालमा एन्टिरिजब्सन एजेन्ट र हर्मोन थेरापीलगायतका औषधिहरू उपलब्ध छन्।

एन्टिरिजब्सन एजेन्टले हड्डीबाट क्याल्सियमका लवण घुलेर जाने प्रक्रियालाई रोकिदिन्छ भने हर्मोन थेरापीले भने हड्डीमा नयाँ क्याल्सियम थप्ने प्रक्रियामा मद्दत गर्छ। यो सबै उमेर समूहका बिरामीमा प्रयोग गर्न सकिन्छ। सजिलै उपलब्ध हुने र कम नकारात्मक असर हुने यो उपचार तुलनात्मक रूपमा सस्तो र नतिजा पनि भरपर्दो छ। महिनाबारी रोकिएका अस्टियोपोरोसिसका बिरामीमा यो उपचारले मेरुदण्डको हड्डी भाँचिने दरलाई ३० प्रतिशतदेखि ७० प्रतिशत घटाउँछ। त्यसैगरी पुठ्ठाको हड्डी भाँचिने दरलाई ४० प्रतिशतले र मेरुदण्डबाहेकका अन्य अस्टियोपोरोसिसका कारण हड्डी भाँचिने समस्यालाई १५ प्रतिशतदेखि २० प्रतिशतले घटाउँछ।

हर्मोन थेरापी विशेष अवस्थामा प्रयोग गरिन्छ। जस्तो– पाठेघर निकाल्ने अप्रेसनमा डिम्बाशयसमेत निकाल्नुपरेका महिनाबारी नरोकिएका वयस्क महिला बिरामीमा प्रयोग गरिन्छ।

अस्टियोपोरोसिसको रोकथाम

अस्टियोपोरोसिसको रोकथाम मानिसको खानपान र जीवनशैलीमा निर्भर रहन्छ। हुर्कंदो उमेरमा पाएको पोषण र शारीरिक तन्दुरुस्तीले यसमा महत्वपूर्ण भूमिका खेलेको हुन्छ।

नियमित शारीरिक ब्यायाम : बालबालिका तथा किशोरकिशोरीमा नियमित व्यायामले हड्डीको घनत्व पर्याप्त बनाउन मद्दत गर्छ। वयस्क तथा ज्येष्ठ नागरिकमा भने यसले अस्टियोपोरोसिस प्रक्रियालाई कम गर्नुका साथै हाम्रो चाल र सन्तुलनलाई नियमित गरी हामीलाई लड्नबाट जोगाउँछ र हड्डी भाँचिनबाट बचाउँछ।

पोषण ः अस्टियोपोरोसिस रोकथाममा क्याल्सियम र भिटामिन डीको भूमिका महत्वपूर्ण हुन्छ। त्यसैले खानामा यी पोषकतत्वहरूको मात्रा मिलाएर खानु अनिवार्य हुन्छ। माछा–मासु, हरिया सागपातका साथै फोर्टिफाइड फुड (सुदृढ खानेकुरा) बिहानको कलिलो घाम ताप्नाले शरीरले आफैं भिटामिन डी उत्पादन गर्छ।

अस्टियोपोरोसिसबाट बच्न कस्तो जीवनशैली अपनाउने ?

अस्टियोपोरोसिसबाट बच्न धूमपान मद्यपान नगर्ने, नियमित ब्यायाम गर्ने र शारीरिक रूपमा सक्रिय रहने र पोषणयुक्त खानेकुरा खाने र परिवारमा अस्टियोपोरोसिस तथा हड्डी भाँचिने समस्या भएका, बाथरोग, थाइराइड तथा केमोथेरापी लिइरहेकाहरूले विशेष ध्यान पुर्‍याउने र सम्बन्धित विषयका चिकित्सककहाँ गएर जँचाउनुपर्ने हुन्छ।

भण्डारी अर्थोपेडिक्स हुन्। 


प्रतिक्रिया दिनुहोस !