६ कार्तिक २०७७, बिहीबार
२ कार्तिक २०७७, आईतवार १८:१३

कोरोना भाइरस नेपाल: नेपालमा वास्तविक मृतकको सङ्ख्या कति? यसो भन्छन् अधिकारीहरू


नेपाली सेना र स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको कोरोनाभाइरस सङ्क्रमितको मृत्यु विवरणमा मृतकको सङ्ख्या फरक-फरक देखिएपछि कतिपयले “नेपालमा मृतकको सङ्ख्या लुकाइएको हुनसक्ने” भन्दै प्रश्न उठाएका छन्।

त्यसबारे विभिन्न सञ्चारमाध्यमले स्वास्थ्य मन्त्रालयतर्फ औँला सोझ्याएका छन् भने सामाजिक सञ्जालमा पनि कतिपयल मन्त्रालयको विवरणमा अविश्वास व्यक्त गरेका छन्।

उनले कुराकानी गरेका स्वास्थ्य मन्त्रालय र नेपाली सेनाका अधिकारीले चाहिँ “के कारणले विवरण फरक परेको हो भन्ने पत्ता लगाउने काम” जारी रहेको बताए।

उनीहरूका अनुसार कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले पनि यसबारे चासो देखाएर “विवरणहरूको पुन: रुजु गर्न थालेको” छ।

विवाद

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गत शुक्रवारसम्म नेपालमा कोभिड-१९ का कारण कुल ७१५ जनाको निधन भएको जानकारी दिएको थियो।

त्यसैदिन नेपाली सेनाले चाहिँ कोभिड-१९ बाट निधन भएका कुल ८८९ जनाको शव व्यवस्थापन गरेको विवरण सार्वजनिक गर्‍यो।

नेपालमा कोरोनाभाइरस भित्रिएदेखि नै मृतकहरूको शव व्यवस्थापन नेपाली सेनाले गर्दै आएको छ।

मृतकहरूको धार्मिक आस्थाका आधारमा सेनाले शव व्यवस्थापन गरेको जनाएको छ।

उसले सार्वजनिक गरेको विवरणमा विभिन्न पृतना अन्तर्गत कतिवटा शव व्यवस्थापन भयो भन्ने पनि उल्लेख छ।

त्यसपछि विभिन्न सञ्चारमाध्यमका साथै सामाजिक सञ्जालमा पनि मानिसहरूले स्वास्थ्य मन्त्रालयको विवरणप्रति शङ्का व्यक्त गर्न थालेका हुन्।

शव व्यवस्थापन

शुक्रवार एकैदिन दुवै निकायले सार्वजनिक गरेको विवरणमा मृतकको सङ्ख्या १७४ जना फरक परेकाले त्यसले कतिपयले “स्वास्थ्य मन्त्रालयले मृतकको सङ्ख्या लुकाएको हो कि” भन्ने आशङ्का गरेका हुन्।

स्वास्थ्य मन्त्रालयका अनुसार शनिवारसम्म भने नेपालमा कुल मृतकको सङ्ख्या ७२७ पुगिसकेको छ।

नेपाली सेनाको भनाइ

बीबीसीसँग कुराकानी गर्दै नेपाली सेनाका प्रवक्ता सन्तोषवल्लभ पौडेलले “प्रत्यक्षरूपमा शव व्यवस्थापनमा संलग्न इकाइहरूले पठाएको विवरणको आधारमा” तथ्याङ्क सार्वजनिक गरिएको बताए।

उनले सुरुदेखि नै पृतनाहरूले शव व्यवस्थापन गर्दै आएकाले उनीहरूकै विवरणलाई आधार मानिएको बताए।

उनले भने, “हामीले प्रत्येक व्यक्तिको नाम, थर र बाँकी सबै चिजको आधारमा युनिटहरूमा प्राप्त तथ्याङ्कको आधारमा त्यो प्रकाशित गरेको हो।”

“नमिलेको विषयमा हामीले स्वास्थ्य मन्त्रालयसँग छलफल गरिरहेका छौँ। सीसीएमसीले पनि त्यसमा प्रमाणिकरण गरिरहेको छ।”

उनले सेनाको तथ्याङ्कमा कोभिड-१९ भएर आत्महत्या गरेकाहरू, बेवारिसे र मृत्यु भइसकेपछि कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएकाहरूको पनि सङख्या समावेश भएको बताए।

तर त्यो सङ्ख्या खासै धेरै नभएको पौडेलको भनाइ छ।

उनका अनुसार तथ्याङ्कमा फरक परेको विषयमा आइतवार पनि स्वास्थ्य मन्त्रालयमा सीसीमएसीसहित छलफल भएको थियो।

मन्त्रालयको भनाइ

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पनि मन्त्रालयले उक्त विवरणबारे रुजू गर्ने काम थालिएको बताए।

उनले भने, “उहाँहरूले कसरी निकाल्नु भएको रहेछ हामी हेर्दै छौँ।”

“अब कोरोनाको गर्नुभयो कि अरूको गर्नुभयो हिसाब गर्नुपर्‍यो नि! त्यो भेरिफाइ गर्दैछ मन्त्रालयले।”

उनले सेनाको तथ्याङ्कमा कोरोनाभइरस सङ्क्रमणबाट मृत्यु नभएका मानिसहरूको शवको व्यवस्थापन पनि जोडिएको हुनसक्ने भएकाले त्यसलाई रुजू गर्नुपर्ने भएको बताए।


प्रतिक्रिया दिनुहोस !