६ कार्तिक २०७७, बिहीबार
१ कार्तिक २०७७, शनिबार १४:१०

कोरोनाविरुद्धको सुरक्षित भ्याक्सिन २०२१ को अप्रिलसम्म उपलब्ध हुनसक्छ : वरिष्ठ वैज्ञानिक एन्थोनी फाउसी


एजेन्सी । कोरोना भाइरसविरुद्धको भ्याक्सिनका सम्बन्धमा विभिन्न प्रकारका अनुमान लगाइएको छ । यो वर्षको अन्तिम अर्थात डिसेम्बरसम्म कोरोनाविरुद्धको भ्याक्सिन उपलब्ध हुने दावी गरिएको छ । तर, अमेरिकाका महामारी रोग सम्बन्धि वरिष्ठ वैज्ञानिक डा.एन्थोनी फाउसीले सुरक्षित र प्रभावकारी खोप सन् २०२१को अप्रिलपछि मात्र मिल्न सक्ने बताएका छन् ।

एक समाचार एजेन्सीसँगको कुराकानीका क्रममा फाउसीले भने, ‘नोभेम्बर र डिसेम्बरसम्म अनुसन्धानकर्ताले कुन भ्याक्सिन क्याडिडेट सुरक्षित छ भन्ने कुरा पत्ता लगाउँछन् । त्यसपछिमात्रै केही लाख डोज तयार हुन्छ ।’ तर, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने यो वर्षको अन्तिमसम्म १० करोड डोज तयार हुने बताएका छन् ।

महामारी रोग विशेषज्ञसमेत रहेका फाउसीले भ्याक्सिन सुरक्षित र प्रभावकारी भएको अवस्थामात्रै उत्पादन बढाउन सकिने प्रष्ट पारेका छन् । उनले भ्याक्सिन सुरक्षित र प्रभावकारी साबित भएको तीन महिनापछि मात्रै उत्पादन बढाउन सकिने बताए । प्रभावकारी र सुरक्षित भ्याक्सिन अप्रिल महिनासम्म उपलब्ध हुनसक्ने उनको भनाइ छ ।

जोन्सन एण्ड जोन्सनले विकास गरेको भ्याक्सिन अन्तिम चरणको परीक्षण रोकिएको कुरालाई सकरात्मकरुपमा लिनका लागि आग्रह गर्दै फाउसीले भ्याक्सिनले मानिसमा अन्य स्वास्थ्य समस्या नल्याउने कुराको प्रत्याभूति हुनुपर्नेमा जोड दिएका छन् । उनले कुनै पनि भ्याक्सिनको परीक्षण रोक्ने कुरा सकरात्मक भए पनि त्यसमाथि नै प्रश्न उठाउनु गलत भएको टिप्पणी गरे ।

फाउसीले आम मानिसले कोरोना संक्रमणबाट आफूलाई सचेत बनाउनु पर्ने बताएका छन् । उनले भने, ‘घरमा पनि यो भाइरस फैलिन सक्छ । त्यसैले घरका झ्याल ढोकाहरु खोल्नुपर्छ । घरका सदस्यलाई कोरोना हुनसक्ने भएकाले घरमा पनि मास्क लगाउन अप्ठ्यारो मान्नु हुँदैन । अन्य स्वास्थ्य सुरक्षाका उपायको पनि अवलम्वन गर्नुपर्छ ।’

अमेरिकी राष्ट्रपति ट्रम्प कोरोना मुक्त भएको खुसी व्यक्त गर्दै उनले सबै व्यक्तिको अनुभव ट्रम्पको जस्तो नहुने बताएका छन् । उनले भने, ‘कसैले गाडी धेरै रफ्तारमा चलायो भनेर आफूले पनि त्यहीँ रफ्तारमा चलाउनु हुँदैन । त्यो रफ्तारमा चलाउँदा दुर्घटनामा पर्न सकिन्छ । कोरोनाका बारेमा हरेक व्यक्तिको फरक फरक अनुभव छ । केहीले अनुभव फिल गर्न नपाउँदै ज्यान नै गुमाएका पनि छन् ।’


प्रतिक्रिया दिनुहोस !