५ कार्तिक २०७७, बुधबार
२४ आश्विन २०७७, शनिबार १३:५३

सन्दर्भ मानसिक स्वास्थ्य दिवस: ‘सबै खाले मानसिक रोगको उपचार हुन्छ’


Feeling blue

विश्वभरमा नै मानसिक स्वास्थ्य समस्या जटिल र चुनौतीपूर्ण बन्दै गएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा ४५ करोड मानिस यस समस्याबाट प्रभावित छन् ।

नेपालमा पनि ६० लाखभन्दा बढी नेपालीहरू कुनै न कुनै किसिमको मनोसामाजिक समस्या एवं मानसिक रोगबाट प्रभावित भएको अनुमान गरिएको छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले हालै मात्र सार्वजनिक गरेको मानसिक स्वास्थ्य सर्वेक्षणमा ४.३ प्रतिशत वयस्कहरुमा मानसिक स्वास्थ्य समस्या रहेको पाइएको छ । सर्वेक्षणले १० प्रतिशत वयस्कमा आफ्नो जीवनकालको कुनै न कुनै समयमा मानसिक स्वास्थ्य समस्यामा रहेको देखाएको छ । सर्वेक्षणमा किशोर किशोरीमा मानसिक स्वास्थ्यको अवस्था हेर्दा ५ दशमलब २ प्रतिशत किशोर किशोरीमा मानसिक समस्या भएको पाइएको छ ।

नेपालमा मानसिक समस्याका बिरामी चिकित्सकलाई देखाउन अझै पनि हिच्किचाउँछन् । कति त परिवारमा कुरा गर्नसम्म पनि डराउँछन् । कतिपय समाजले थाहा पाउला कि भनेर चिकित्सककहाँ जचाउन जाँदैनन् । तर, यसरी मानसिक समस्यालाई लुकाएर समस्यालाई अझ बढाउनुभन्दा समयमै निको बनाउनु बुद्धिमानी हुन्छ, नयाँ पत्रिकामा खबर छ  ।

कसरी पत्ता लगाउन सकिन्छ ?

मानसिक रोग चिकित्सकले जाँच्नासाथ अरू रोगजस्तो पत्ता लाग्दैन । यो कुनै एक्सरे, सिटी–स्क्यान, रगत जाँचेर थाहा पाउन सकिन्न । मनसँग सम्बन्धित समस्या हुने भएकाले यो रोग शारीरिक रोगभन्दा अत्यन्तसूक्ष्म हुन्छ ।

विश्व स्वास्थ्य संगठनले सन् २०२० सम्म मधुमेह, उक्त रक्तचाप, अन्य संक्रमित रोगहरूभन्दा मानसिक रोग अग्रपंक्तिमा आउने अनुमान गरेको छ । अमेरिकाजस्तो विकसित देशका धेरैजसो मानिस निद्रा लाग्ने औषधि सेवन नगरी निदाउन सक्दैनन् ।

साधारणतया मानसिक रोगहरूमा डिप्रेसन, बाइपोलार डिसअर्डर, डिमेन्सिया, स्किजाफ्रेनिया, एन्जाइटी डिसअर्डर पर्दछन् ।

सामान्य मानसिक समस्या सबैलाई हुने गर्दछ, जुन आफैँ निको पनि हुने गर्दछ । त्यसैले सामान्य समस्याबाट असामान्य अवस्थासम्म नपुर्‍याउन स्वयं नै सचेत हुन जरुरी छ ।

लक्षण
बेहोस होउँला कि भन्ने डर ।
मानसिक सन्तुलन गुमाउँला कि र मृत्यु होला कि भन्ने डर ।
हातखुट्टा वा शरीरबाट पसिना आउने ।
मनमा धेरै कुरा खेलाउने, तर्सिने, झस्किने ।
तुरुन्तै दुःखी अनि खुसी हुनु ।
एक ठाउँमा बस्न नसक्ने, छटपटी हुने ।
मुटुको धड्कन असामान्य रूपमा बढ्ने ।
हातखुट्टा काम्ने ।
अचानक शारीरिक कमजोरी हुने ।
बेसुरले बोल्ने, वेलावेलामा बेहोस हुने ।
सामान्य अवस्थामा भन्दा यौनेच्छामा कमी आउने ।
बढी रिसाउनु, झर्किनु, काममा मन नजानु ।
निद्रा नलाग्नु ।

प्रमुख कारण
चिन्ता, बेरोजगारी, उदासीनता, असहायपन, गरिबी, वितृष्णा, अति महत्वाकांक्षा, असुरक्षाजस्ता कारण मानसिक समस्यालाई बढाउने खुराक हुन् । त्यस्तैगरी, परिवारबीच मेलमिलापको वातावरण नहुनु, दम्पतीबीच यौनसम्बन्धबाट सन्तुष्टि नहुनु आदिले पनि समस्या थपेको छ ।

समस्या ठीक पार्ने वैकल्पिक उपाय
मानसिक समस्यामा औषधिभन्दा योग, प्राणायाम, ध्यानबाट पूर्ण रूपमा ठीक हुन सकिन्छ । ध्यानको साक्षी साधनाअनुसार हाम्रो विचार, भावना र शरीरमा आइरहेको विचार, भावना, संवेदनाहरूलाई ठीक–बेठीक भनेर नछुट्याई होसपूर्ण रूपमा हेर्न सक्यौँ भने पनि बिस्तारै मानसिक समस्या ठीक हुन्छ । जसका लागि दैनिक साधना गर्नुका साथै धैर्यको खाँचो हुन्छ । त्यसका साथै सकारात्मक चिन्तन, सन्तुलित भोजनले पनि सहयोग गर्दछ ।

मानसिक समस्यालाई लुकाउन हुँदैन

मानसिक समस्यालाई लुकाउने दबाउने चलन छ। डाक्टरकोमा गयो भने पनि यो त मानसिक डाक्टर भेट्न गयो यसलाई के भयो ?भनेर हेर्ने चलन छ। त्यो बिल्कुलै गलत काम हो । मानसिक डाक्टरलाई समेत यो आफैं पागल भयो कि भन्ने सम्मको आशंका गर्ने गरिन्छ।

यो रोग होइन यो त मान्छे कमजोर भएर हो। डिप्रेशन कसरी रोग हुन सक्छ यो आफैँ ठीक हुन्छ भनेर परिवारले भन्दै जाँदा बिरामीले आत्महत्या सम्म गर्न सक्छ। यसलाई सुरूमा नै ध्यान दिनपर्छ। कहिलेसम्म यसलाई लुकाएर राख्ने? समस्या परिसकेपछि मात्रै सचेतता अपनाउने हाम्रो परम्परालाई बदल्नुपर्छ। योसँगै बिरामीले पनि मैले डाक्टरको सहयोग लिनुपर्छ लिए भने मात्रै मेरो समस्या ठीक हुन्छ भन्ने सोच्न जरुरी छ।

म समाजको कुरा सुन्दिनँ, म अरूको कुरा सुन्दिनँ मलाई समस्या छ। म डाक्टरसँग सल्लाह लिन जान्छु भनेर बिरामीले पनि हिम्मत गर्नुपर्छ।


प्रतिक्रिया दिनुहोस !