५ कार्तिक २०७७, बुधबार
२२ आश्विन २०७७, बिहीबार १३:३६

सर्वसाधारणको निःशुल्क उपचार गर्दै प्रहरी अस्पताल


प्रदेश २ अन्तर्गत  सप्तरीको रुपनीस्थित पूर्वक्षेत्रीय प्रहरी अस्पतालमा सर्वसाधारणको निःशुल्क उपचार सेवा सुरु  गरिएको  छ । 

अस्पतालमा प्रहरी सुरक्षाकर्मीको उपचार गर्ने लक्ष्य राखिए पनि अहिले सर्वसाधारण समेतका लागि उपचार गर्न थालिएको हो ।

सर्वसाधारणको उपचार निःशुल्क भइरहेको अस्पतालका प्रमुख प्रहरी नायब उपरीक्षक डा. सुरेन्द्र साहले जानकारी  दिए । 

राजविराज नगरपालिका–३ निवासी जग्गादाता जोगेन्द्र भगत र उनकी पत्नीले आफ्नै जग्गामा २५ बेडको अस्पताल निर्माण गरिदिएका थिए । तत्कालीन प्रहरी प्रमुख उपेन्द्रकान्त अर्यालले २०७३ साल ३ माघमा सो अस्पतालको उद्घाटन गरेका थिए । 

अहिले प्रहरीको उपचारका साथै सर्वसाधारणको उपचारसमेत यो अस्पतालले गर्न थालेपछि त्यहाँका जनता खुसी भएको स्थानीय नर्मदेव यादवको भनाइ छ ।

प्रत्येक दिन १२ देखि १५ सर्वसाधारणको  उपचार थालिएको जानकारी दिँदै सर्वसाधारणको उपचार पनि निःशुल्क गर्दै आएको अस्पतालका प्रमुख डीएसपी डा. साहले बताए । 

पूर्व–पश्चिम राजमार्गसँग जोडिएर रहेको यो अस्पतालमा जनरल सेवाबाहेक मधुमेह र बाथको छुट्टै उपचार हुँदै आएको छ । जनरलमा नाक, कान, घाँटी, छाती, पेटसम्बन्धी रोगको उपचारसमेत भइरहेको अस्पताल प्रमुख डा. साहले बताए । 

अस्पतालको आफ्नै ल्याब, डिजिटिल एक्सरे, भिडियो एक्सरे रहेको छ । डेन्टल विभाग छुट्टै रहने बताउँदै रगतको हरेक किसिमको जाँच यहाँ हुने गरेको उनको भनाइ छ ।

अस्पतालमा एक जनरल फिजिसियन, एक विशेषज्ञ, दुई स्टाफ नर्स, दुई हेल्थ असिस्टेन्ट र पाँच अहेब कार्यरत छन् । अस्पतालमा १० सुरक्षाकर्मीले काम गर्दै आएका छन् । यसबाहेक दुई जना दन्त विभागका टेक्निसियन पनि छन् ।

अस्पतालमा चार बेड आकस्मिक र दुई बेड प्रसूति गराउन राखिएको छ । 

अन्य १९ बेड जनरलका लागि छुट्याइएको छ । अस्पतालका प्रमुख डा. साहले प्रहरी अस्पतालको सेवा राम्रो बनाउने आफ्नो सोच रहेको बताए । रासस


प्रतिक्रिया दिनुहोस !