८ कार्तिक २०७७, शनिबार
१६ आश्विन २०७७, शुक्रबार १४:०२

डेढ महिनामा २ हजार चार सय ५९ युनिट रगत सङ्कलन


गण्डकी । गण्डकी र धौलागिरि क्षेत्रअन्तर्गतका विभिन्न जिल्लामा क्रियाशील लायन्स क्लबको सक्रियतामा डेढ महिनाको अवधिमा दुई हजार ४५९ युनिट रगत सङ्कलन भएको छ ।

कोभिड-१९ को सङ्क्रमण रोक्न मुलुकमा भएको बन्दाबन्दीले रक्त सञ्चार केन्द्रमा रगतको अभाव भएपछि यस क्षेत्रका ५२ क्लबले रक्तदान कार्यक्रमलाई तीव्रता दिँदै आएका हुन् । गण्डकी प्रदेशका मनाङ र मुस्ताङबाहेक सबै जिल्लाका रक्त सङ्कलन केन्द्रको प्राविधिक सहयोगमा रगत सङ्कलन गरिँदै आएको लायन्स क्लब अफ ३२५ (विवान) का डिपार्टमेन्ट प्रमुख बालकृष्ण शर्माले जानकारी दिए । लायन्स क्लब अफ शान्ति स्तूपा चौतारीद्वारा आज पोखरा- १७ स्थित विरौटाचोकमा आयोजित रक्तदान कार्यक्रममा २६ युनिट रगत सङ्कलन भएको छ ।

क्षेत्रीय रक्त सञ्चार केन्द्रले सामुदायिक अस्पतालमा उपचाररत बिरामीलाई प्रतियुनिट रगत रु ५०० र निजी अस्पतालका बिरामीका लागि रु एक हजार लिने गरेको छ । जुन रकम प्रयोगशाला, प्रविधि, जनशक्तिलगायतको खर्च भएको केन्द्रले जनाएको छ । सरकारद्वारा सञ्चालन गरिएको स्वास्थ्य बीमामा रगतलाई पनि समावेश गरिनुपर्नेमा यस क्षेत्रका सर्वसाधारणले जोड दिँदै आएको छन् ।

अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा पोखरा जेसिजले कुष्ठरोग प्रभावित व्यक्तिलाई खाद्यान्न तथा स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । पोखरा महानगरपालिका–१५ टुटुङ्गामा रहेको पोखरा आरोग्य आश्रममा रहेका कुष्ठरोग प्रभावित वृद्धवृद्धालाई जेसिजले खाद्यान्न सहयोग गरेको हो ।

‘कुष्ठरोग पनि कुनै बेला अहिलेको कोरोना भाइरसजस्तै थियो । कुष्ठरोग लागेका व्यक्तिलाई समाजमा बहिष्कार गरेसरहको अवस्था थियो । पछि औषधि बन्न थाल्यो । हामीले जेसिजकै पहलमा आश्रमको स्थापना गरेका थियौ’, जेसिजका अध्यक्ष शिवप्रसाद सापकोटाले जानकारी दिए । नेपाल कुष्ठरोग निवारण सङ्घका अध्यक्ष नारायण शर्माले आश्रममा खाद्यान्न तथा स्वास्थ्य सामग्री आवश्यक परेको समयमा पोखरा जेसिजले मर्म बुझेर सहयोग गर्दै आएको बताए ।


प्रतिक्रिया दिनुहोस !