६ कार्तिक २०७७, बिहीबार
६ आश्विन २०७७, मंगलवार २१:५१

डेंगु :लक्षण र उपचार


विश्वव्यापी रूपमा भाइरल भैरहेको ज्वरो डेंगुका नामले पनि चिनिन्छ । प्रारम्भिक चरणमा सामान्य लाग्ने डेंगु उपचारको अभावमा खतरनाक पनि सावित हुनसक्छ । सही समयमा सही उपचार गर्दा डेंगुको प्रकोपबाट जोगिन सकिन्छ । 

डेंगु भनेको के हो?

डेंगु भनेको एक प्रकारको भाइरल ज्वरो हो। यो डेंगु भाईरस (डिइएन भी) ले हुने रोग हो। यो रोग एडिस जातको लामखुट्टेको टोकाइबाट लाग्ने गर्दछ। जुनसुकै उमेर समूहका व्यक्तिलाई पनि यो रोग लाग्न सक्छ। डेंगु भाइरसको चार प्रजाति छन्। जुन डिइएन भी–१, डिइएन भी–२, डिइएन भी–३, डिइएन भी–४ रहेका छन्।

एक पटक एक प्रकारको डेंगु भाईरसको संक्रमण भएपछि जीवनभर त्यही प्रकारको डेंगु रोग लाग्दैन, तर अन्य प्रजातिको डेंगू रोग लाग्न सक्छ, र प्रायः दोस्रो पटक लाग्ने डेंगु पहिलेको तुलनामा बढी खतरनाक हुन्छ।

कुनै व्यक्तिलाई डेंगु भाइरसबाट संक्रमित लामखुट्टेले टोकेपछि धेरै जसो ४ देखि ७ दिन भित्रमा रोगको लक्षण देखिन्छ। एउटा डेंगु रोगबाट सङ्क्रमित व्यक्तिको रगत चुसेको ८ देखि १२ दिनपछि लामखुट्टे पनि संक्रमित हुन्छ र त्यो जीवन भर सङ्क्रमित रहन्छ।

एडिस नामक लामखुट्टे साँझ र बिहानको समयमा धेरै सक्रिय हुने गर्छ। तर सङ्क्रमित लामखुट्टले टोकेपछि मात्र यो रोग सर्ने र कुनै पनि व्यक्ति संक्रमित हुने गर्छन्।

कसरी फैलन्छ ?

डेंगु एउटा रोगीबाट अर्को रोगीमा फैलने रोग हो । एडिज इजिप्टी नामक लामखुट्टेले एउटा डेंगु पीडित रोगीलाई टोकेपछि अर्को स्वस्थ मानिसलाई टोक्दा यो रोग फैलिन्छ । डेंगु पीडितको शरीरमा रहेको डेंगुको भाइरस लामखुट्टेमार्फत् नै एउटा शरीरबाट अर्को शरीरमा पुग्छ । त्यसैले यो लामखुट्टेको टोकाइबाट बच्नु नै डेंगुबाट जोगिने सर्वोत्तम उपाय हो । 

कहिले देखिन्छ ?

एडिज इजिप्टी नामक लामखुट्टेले टोकेको ३ देखि ५ दिनभित्रमा डेंगु ज्वरोको लक्षण देखा पर्न थाल्छ । कतिपयको शरीरमा यो रोगको लक्षण १० दिनपछि पनि देखिन सक्छ ।

कति प्रकारको हुन्छ डेंगु ?

डेंगु सामान्यतः तीन प्रकारको हुन्छ । पहिलो डेंगुलाई साधारण डेंगु भनिन्छ । दोस्रो डेंगुलाई डेंगु हेमरेजिक भनिन्छ भने तेस्रो डेंगुलाई डेंगु सक सिन्ड्रम भनिन्छ । 

यी तीनै प्रकारका डेंगुमध्ये दोस्रो र तेस्रो प्रकारका डेंगु बढी खतरनाक मानिन्छ । पहिलो प्रकारको डेंगु उपचारबिना आफैं पनि ठीक हुन सक्छ र यो डेंगुले मानिस मर्ने सम्भावना कमै हुन्छ । तर दोस्रो र तेस्रो प्रकारको डेंगुको लक्षण देखिंदा तत्काल उपचार नगर्ने हो भने मानिसको मृत्युसम्म हुन सक्छ । त्यसैले सबैभन्दा पहिले के थाहा पाउनुपर्छ भने डेंगुको संक्रमण कुन किसिमको हो ? 

लक्षण साधारण डेंगुमा 

  • चिसो लाग्दा अचानक कडा ज्वरो आउनु,
  • टाउको, मांसपेशी तथा जोर्नीहरू दुख्नु,
  • आँखाको पछिल्लो भागमा पीडा हुनु, यस किसिमको पीडा आँखा दबाउँदा वा हल्लाउँदासमेत हुन्छ,
  • निकै कमजोरी हुनु, भोक नलाग्नु तथा शरीरले असजिलो महसुस गर्दै खानाको स्वाद हराउनु,
  • घाँटीमा हल्का पीडा हुनु,
  • शरीर खासगरी अनुहार, गर्दन तथा छातीमा हल्का रातो वा गुलाफी रंगको चक्का देखिनु ।

हेमरेजिक डेंगुमा

  • नाक तथा गिजाबाट रगत आउनु,
  • दिसा वा वान्ता हुँदा रगत आउनु,
  • छालामा गहिरो किसिमको नीलो–कालो रंगको साना–ठूला चक्काहरू देखिनु,

सक सिन्ड्रम डेंगुमा 

  • यस्तो डेंगुमा ज्वरोसँगै मानिस निकै अधैर्य हुन्छ,
  • कडा ज्वरोसँगै शरीरले चिसो अनुभव गर्छ,
  • रोगीले बिस्तारै होस गुमाउन थाल्छ,
  • रोगीको नाडी कहिले तीव्र गतिले त कहिले बिस्तारै चल्न थाल्छ,
  • रोगीको रक्तचाप अचानक घट्छ ।

नोट : डेंगुका कारण कतिपय अवस्थामा मल्टि आर्गन फेलियर पनि हुनसक्छ । यस्तो अवस्थामा मानिसका कोषिकाहरूमा भएको तरल पदार्थ बाहिर निस्कन्छ भने पेटभित्र पानी जम्मा हुन थाल्छ । यसको प्रभाव फोक्सो र कलेजोमा देखिन्छ तथा कतिपय अवस्थामा ती दुवै अंगले काम गर्न छोड्दा मानिसको मृत्युसमेत हुन सक्छ ।

कुन–कुन परीक्षण गराउने ?

यदि कडा ज्वरो आए वा जोर्नीहरू दुखे तत्कालै डेंगुसँग सम्बन्धित परीक्षण गराउनुपर्छ । त्यसपछि चिकित्सकको सल्लाहअनुसार पहिले एन्टिजन ब्लड टेस्ट (एनएस–१) गराइन्छ । उक्त परीक्षण गराउँदा कतिपय अवस्थामा पोजेटिभ देखिन्छ । जुन बिस्तारै कम हुँदै जान्छ । डेंगुको शंका लाग्दा गराइने परीक्षण केही ढिलो गराइन्छ भने एन्टिबडी टेस्ट (डेंगु सिरोलजी) गराउनु उत्तम मानिन्छ । डेंगुको परीक्षण गराउँदा ह्वाइट ब्लड सेल्सको टोटल काउन्ट र अलग–अलग काउन्टसमेत गराउनुपर्छ । यो परीक्षणमार्फत रगतमा प्लेटलेट्सको संख्यासमेत पत्ता लाग्छ । डेंगुका यी परीक्षणहरू प्रयोगशालाको सुविधा भएका जुनसुकै अस्पताल तथा ल्याबमा गराउन सकिन्छ । परीक्षणको नतिजा २४ घण्टाभित्रै प्राप्त हुन्छ । यस्तो परीक्षण खाली पेटमा वा खाना खाएर गराउन सकिन्छ । 

प्लेटलेट्सको भूमिका

सामान्यतः स्वस्थ मानिसको शरीरमा प्लेटलेट्सको संख्या डेढदेखि दुई लाखसम्म हुन्छ । प्लेटलेट्सले शरीरमा हुने ब्लिडिङलाई रोक्न सहयोग गर्छ । यदि प्लेटलेट्सको संख्या १ लाखभन्दा कम भए त्यसको कारण डेंगु पनि हुन सक्छ । कतिपय अवस्थामा प्लेटलेट्स कम हुनुको अर्थ डेंगु हुनु नै होइन ।

प्लेटलेट्सको संख्या १ लाखभन्दा कम हुँदा रोगीले तत्काल अस्पताल भर्ना हुनुपर्छ । यदि प्लेटलेट्सको संख्या २० हजारभन्दा तल पुगे त्यस्ता बिरामीलाई प्लेटलेट्स चढाउने आवश्यकता आइपर्न सक्छ । प्लेटलेट्सको संख्या ५० हजारसम्ममा झर्दा पनि कतिपय अवस्थामा ब्लिडिङ नहुन सक्छ । डेंगुको भाइरसले कतिपय अवस्थामा प्लेटलेट्सको संख्यालाई घटाइदिन्छ । यस्तो अवस्थामा चिकित्सकहरूले प्लेटलेट्ससँग सम्बन्धित उपचार गर्छन् । सामान्य अवस्थामा यस्तो उपचार सुरु भएको ३ देखि ४ घण्टामा प्लेटलेट्सको संख्या निर्धारित स्तरमा फर्कन सक्छ । 

बालबालिकालाई बढी खतरा

केटाकेटीहरूको रोग प्रतिरोधात्मक क्षमता कम हुन्छ । उनीहरू धेरैजसो अवस्थामा खेलेरै समय बिताउने हुनाले उनीहरूका सम्बन्धमा अभिभावकहरूले सचेत हुनैपर्छ । यस्ता केटाकेटीहरू घरबाहिर निस्कँदा पूरै बाहुला भएको पहिरन लगाएको हुनुपर्छ । जहाँ उनीहरू खेल्छन् त्यहाँ पानी जमेको हुनु हुँदैन । विद्यालय प्रशासनले पनि यस्ता केटाकेटीको सुरक्षाका लागि विद्यालयमा लामखुट्टे हुर्कने वातावरण निर्माण हुन दिनु हुँदैन । साना केटाकेटीहरूलाई ज्वरो आए वा उनीहरूको शरीरमा रातो कालो धब्बा देखिए तत्काल चिकित्सकलाई देखाउनुपर्छ । बालबालिकाहरूलाई डेंगुको शंका लागे उनीहरूलाई अस्पतालमै राखेर उपचार गराउनुपर्छ किनभने उनीहरूको प्लेटलेट्सको संख्या तीव्र गतिले घट्छ र उनीहरूमा पानीको कमी पनि निकै चाँडो देखापर्छ । 

उपचार

  • यदि रोगी साधारण डेंगुबाट प्रभावित छ भने उसको उपचार घरमै पनि गर्न सकिन्छ ।
  • चिकित्सकको सल्लाहअनुसार फारासिटामोलयुक्त त्रोसिनजस्ता औषधी दिन सकिन्छ । 
  • एस्पिरिन बिल्कुलै दिनु हुँदैन, किनभने यसले शरीरमा प्लेटलेट्सको संख्या घटाउन सक्छ । 
  • यदि ज्वरो १ सय २ डिग्री फरेनहाइटभन्दा बढी छ भने रोगीलाई पानीपट्टि दिनुपर्छ । 
  • यस्ता रोगीलाई साधारण खानेकुरा ख्वाउनुपर्छ । ज्वरो आएको अवस्थामा रोगीलाई मन लागे पनि नलागे पनि सामान्य अवस्थाको भन्दा बढी खाना ख्वाउनुपर्छ । 
  • रोगीलाई बढीभन्दा बढी आराम गराउनुपर्छ ।

नोट : रोगीमा दोस्रो वा तेस्रो स्तरको डेंगुको लक्षण देखिए उसलाई तत्काल चिकित्सककहाँ पुर्‍याउनुपर्छ । समयमै उपचार गराउँदा दोस्रो तथा तेस्रो स्तरको डेंगुको उपचार सम्भव हुन्छ । 

एलोपेथिक उपचार

सामान्य अवस्थामा एलोपेथिक उपचार गराउँदा रोगीको लक्षण हेरेर वा रगत जाँच गराइसकेपछि मात्र औषधी दिइन्छ । डेंगुका रोगीलाई कुनै पनि अवस्थामा शरीरमा पानीको कमी हुन दिनु हुँदैन । त्यस्ता रोगीलाई बढीभन्दा बढी पानी तथा तरल पदार्थजन्य खानेकुरा जस्तैः कागती पानी, मोही आदि बढीभन्दा बढी ख्वाउनुपर्छ । एलोपेथिक उपचारले रोगीबाट बढीभन्दा बढी आराम माग्छ ।

आयुर्वेदिक उपचार

आयुर्वेदमा डेंगुका रोगीहरूका लागि कुनै निश्चित औषधी छैन । यद्यपि डेंगुको प्रकोपबाट जोगिन आयुर्वेदले केही सल्लाह भने अवश्य दिन्छ । आयुर्वेदका अनुसार १ कप पानीमा १ चम्चा गुर्जोको रस, दुई दाना मरिच, तुलसीका केही पात तथा अदुवा मिसाएर उमालेको काँडा पाँच दिनसम्म ख्वाउनुपर्छ । यस्तो काँडामा अलिकति नुन वा चिनी पनि मिसाउन सकिन्छ । यस्तो काँडा दिनको दुईपटक खाना खाइसकेपछि ख्वाउनुपर्छ । 

सावधानी

  • डेंगुका बिरामीले चिसो पानी, मैदाजन्य खानेकुरा तथा बासी खानेकुरा खानु हुँदैन । 
  • खानेकुराहरूमा बेसार, ज्वानो, अदुवा एवं हिङ बढीभन्दा बढी प्रयोग गर्नुपर्छ ।
  • डेंगुको लक्षण देखिए हरियो पातयुक्त तरकारी, कर्कलो तथा काउली खानु हुँदैन ।
  • हल्का तथा सजिलैसँग पच्ने खाना खानुपर्छ ।
  • राम्रोसँग पूरा निद्रा सुत्नुपर्छ ।
  • सकेसम्म धेरै र उमालेर चिसो पारिएको पानी पिउनुपर्छ ।
  • चिल्लो, पिरो, तारेको तथा मसलायुक्त खाना खानु हुँदैन ।

आफैं जान्ने हुनु हुँदैन

  • आफ्नो इच्छाले कुनै पनि किसिमको एन्टाबाइटिक वा अरु कुनै औषधी सेवन गर्नु हुँदैन ।
  • यदि ज्वरो धेरै नै आएको छ भने चिकित्सक कहाँ जानुपर्छ र चिकित्सकको सल्लाहअनुसार नै औषधी सेवन गर्नुपर्छ ।
  • सामान्य ज्वरो आउँदा पारासिटामोल नै खानुपर्छ, यस्तो अवस्थामा एस्पिरिन वा ब्रुफिनजस्ता पीडानासक औषधी खानु हुँदैन । त्यसले गर्दा रगतमा प्लेटलेट्सको संख्या कम हुन सक्छ । 
  • सामान्य खोकी लाग्दा जुन पायो त्यही औषधी प्रयोग गर्नु हुँदैन ।

यो रोग लाग्नबाट कसरी बच्न सकिन्छ?

  • पानी जम्न सक्ने भाँडाहरु जस्तैः गमला, फुलदानी, खाली बट्टा, गाडीको काम नलाग्ने टायर आदिमा पानी जम्न नदिने
  • पानीका ट्याङ्कीलाई लामखुट्टे प्रवेश गर्न नदिने गरी ढाकेर राख्ने
  • कुलरमा रहेको पानीमा प्रत्येक हप्ता एक दुई चम्चा मट्टितेल हालि दिने साथै जम्मा भएको पानी सफा गर्ने
  • फुलदानीमा रहेको पानी कम्तीमा हप्तामा दुई पटक फेर्ने
  • एडिस एजिप्टाई जातको लामखुट्टेले दिउँसो टोक्ने हुँदा दिउँसो बस्दा पनि प्रायः पूरा बाहुला भएको वा शरीर पुरै ढाकिने लुगा लगाउने
  • सम्भव भएसम्म दिउँसो सुत्दा पनि झुल प्रयोग गर्नुका साथै साना केटाकेटीलाई समयमा पनि झुलभित्र सुताउने
  • लामखुट्टेको टोकाइबाट बच्न लामखुट्टे भगाउने मल्हम दल्ने
  • घरका झ्याल ढोकामा जाली लगाउने
  • घर वरिपरी सफा सुग्घर राख्ने पानी जम्ने खाल्डाखुल्डी पुर्ने।

प्रतिक्रिया दिनुहोस !