५ कार्तिक २०७७, बुधबार
६ आश्विन २०७७, मंगलवार १८:०१

कमसल खानाले संसारभरका बालबालिकाको स्वास्थ्य विग्रिदैं, युनिसेफको चेतावनी


०६ असाेज, काठमाडौँ ।

मुलुकमा ५ देखि १९ वर्षका बालबालिका र किशोरकिशोरीमा हुने मोटोपना पछिल्ला ४० वर्षमा २९ गुणाले बढेको छ । यो समस्या कमसल खानाले गर्दा बढेको हो । ‘विश्वका बालबालिकाको अवस्था २०१९– बालबालिका, खाना र पोषण’ सम्बन्धी युनिसेफले मंगलबार जारी गरेको प्रतिवेदनमा कमसल खानाले विश्वभरकै बालबालिकाको स्वास्थ्यलाई बिगारिरहेको निष्कर्ष छ ।

एकातर्फ मुलुकमा मोटोपना बढ्दै गएको छ भने अर्कोतर्फ अझै ११ लाख बालबालिका कुपोषणले गर्दा पुड्का छन् । अझ करिब २ लाख ९० हजार बालबालिका ख्याउटे हुनुका साथै १३ लाख बालबालिकामा भिटामिन ‘ए’, आइरनजस्ता आवश्यक पोषक तत्त्वको कमी रहेको प्रतिवेदनले औंल्याएको छ ।

नेपालमा ५ देखि १९ वर्ष उमेर समूहका १३ जनामध्ये १ जनामा मोटोपनाको समस्या छ । प्रतिवेदनअनुसार बढी तौल र मोटोपना आर्थिक अवस्था र घरको खाद्य सुरक्षासँगै बढ्ने गर्दछ । सम्पन्न र सहरियाहरूमा मोटोपना हुने सम्भावना बढी रहेको छ । नेपालमा करिब ३६ हजार बालबालिका मोटापनाको समस्या छ ।

नेपालमा बालबालिकाको खानपानबारे गरिएको एउटा अध्ययनसमेत उक्त प्रतिवेदनमा उल्लेख गरिएको छ । यसअनुसार २ वर्षमुनिका बालबालिकाले औसत रूपमा एक चौथाइ बिस्कुट, तयारी चाउचाउ र पेय पदार्थबाट मात्र प्राप्त गरिरहेका छन् । यसले गर्दा आवश्यक भिटामिन र खनिज पदार्थको सेवनमा कमी भएको छ । यस्ता खाजा र पेय पदार्थ खाने बालबालिका आफ्नो साथीभन्दा सानो रहेको समेत अध्ययनमा उल्लेख छ । प्रतिवेदनअनुसार हाल न्यून उत्पादन मूल्य, लामो समयसम्म उपयोग गर्न सकिने र उच्च खुद्रा मूल्यका कारण ‘अल्ट्रा प्रोसेस्ड’, खाना अत्यधिक लाभदायक व्यवसाय भएको छ । यसले गर्दा यस्तो खाद्य पदार्थ सर्वव्यापी भएको छ । यस्ता खाद्य पदार्थ सब्जी, फलफूल, माछाको विकल्प नभएको समेत अध्ययनमा उल्लेख छ ।

मुलुकमा ६ महिनादेखि २ वर्षसम्मका करिब ४५ प्रतिशत बालबालिकाले मात्र ८ खालका खाना समूहमध्ये कम्तीमा ५ समूहको खाना खाइरहेको प्रतिवेदनमा छ । यो उमेर समूहका धेरैजसो बालबालिकाले अन्न र गेडागुडी खाने गरेका छन् । अण्डा वा माछा वा मासु खानेको संख्या एक तिहाइ मात्र छ । मुलुकका ३८ प्रतिशत बालबालिकाले ६ महिनादेखि २ वर्षको समयमा कुनै फलफूल वा तरकारी खान पाउँदैनन् ।

प्रतिवेदनअनुसार अल्ट्रा प्रोसेस्ड खाद्य पदार्थ चिल्लो, चिनी र नुन बढी भएका तर फाइवर र सूक्ष्म पोषक तत्त्व कम भएका बर्गर, नुगट, कुकिज र मीठो पेय पदार्थ जस्ता हुन् । तर यस्ता अल्ट्रा प्रोसेस्ड खाद्य पदार्थलाई त्याग्न सजिलो छैन । यस्ता खाद्य पदार्थ मध्यम खपतका लागि डिजाइन गरिएको होइन ।

बोसो, चिनी, नुन र अन्य स्वाद उच्च स्तरको भएका थुप्रै अल्ट्रा प्रोसेस्ड खाद्य पदार्थ स्वादिष्ट हुन्छन् । बजारमा प्रशस्त उपलब्ध यस्ता खाद्य पदार्थले ताजा र न्यूनतम प्रशोधित खाद्य पदार्थलाई विस्थापित गरिरहेका छन् । हुर्कने क्रममा रहेका बालबालिकाका लागि अस्वास्थ्यकर खानेकुराको उपयोग चिन्ताजनक रहेको औंल्याउँदै प्रतिवेदनमा अनुपयुक्त बजारीकरण र विज्ञापनले सहरसँगै ग्रामीण क्षेत्रमा समेत तयारी खानेकुरा र अत्यधिक गुलियो पेय पदार्थलगायतका प्रशोधित खानेकुराको खपत बढिरहेको उल्लेख छ ।

विश्वभर नै बालबालिका, किशोरकिशोरीमा मोटोपना बढिरहेको औंल्याउँदै प्रतिवेदनमा सन् २००० देखि २०१६ सम्ममा ५ देखि १९ वर्ष उमेरका बालबालिका, किशोरकिशोरीमा यो अनुपात दोब्बर बढेको उल्लेख छ । हाल ५ देखि १९ वर्ष उमेर समूहका ५ मध्ये १ बालबालिका, किशोरकिशोरीमा मोटोपना देखिएको छ । सन् १९७५ को दाँजोमा यो उमेर समूहका बालिकामा १० गुणा र बालकमा १२ गुणा मोटोपना देखिएको हो ।

विश्वमा हाल ५ वर्षमुनिका ३ जनामध्ये १ बालबालिका धेरै कम वा अधिक पोषणको सिकार भएका छन । अझ ६ महिनादेखि २ वर्ष उमेर समूहका ३ मध्ये दुई बालबालिकालाई शरीर र मस्तिष्कको विकासका लागि चाहिने उपयुक्त खाना खुवाइँदैन । यसले गर्दा उनीहरूको मस्तिष्क विकास, सिकाइ र प्रतिरक्षा प्रणालीमा नकारात्मक प्रभाव पार्छ । उनीहरूमा संक्रमण बढ्नुका साथै कतिपय अवस्थामा मृत्युसमेत हुने जोखिम रहन्छ ।

रिपोर्ट भन्छ –

  • नेपालमा करिब ३६ हजार बालबालिकामा मोटोपना
  • ११ लाख बालबालिका कुपोषणले गर्दा पुड्का
  • करिब २ लाख ९० हजार बालबालिका ख्याउटे
  • १३ लाखमा भिटामिन ‘ए’, आइरनलगायत आवश्यक पोषक तत्त्वको कमी
  • ३८ प्रतिशत बालबालिकाले ६ महिनादेखि २ वर्षबीच फलफूल वा तरकारी खान पाउँदैनन्
  • प्याकेटका तयारी खानेकुराको बढ्दो प्रयोगले नकारात्मक असर

प्रतिक्रिया दिनुहोस !