५ कार्तिक २०७७, बुधबार
२९ भाद्र २०७७, सोमबार २२:०२

‘डाइपर र पिपिई लगाएर पानी पनि नखाई घन्टौं काम गर्छौं’


कोरोनाको महामारीको समयमा सबैको नजर यसको परीक्षण गर्ने ल्याबमा पर्नु स्वभाविकै हो। परीक्षणका लागि दिएको स्वाबको नतिजा कहिले आउला, रिपोर्ट के आउला भन्ने चासो सबैमा हुन्छ।

सबैलाई लाग्छ- रिपोर्ट छिटो हेर्न पाए हुन्थ्यो। महामारी भर्खर-भर्खर सुरू हुँदै गर्दा खुलेका सीमित ल्याबले चाहेजसरी छिट्टै नतिजा दिन सकेनन्।

सुरूवातमा कोरोना भाइरसको परीक्षण गर्ने काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला एउटा मात्र ल्याब थियो। अहिले देशभर ४७ वटा ल्याब छन्। तैपनि सोचेजस्तो छिटो नतिजा आउन सकेको छैन।

सरकारी ल्याबले नतिजा दिन एक हप्ताभन्दा बढी समय लगाएको गुनासो चितवनमा प्रशस्तै सुन्न पाइन्छ। तर, ल्याबका स्वास्थ्यकर्मीको पीडा पनि कम्ती छैन।

पाँच महिनाभन्दा लामो समयदेखि भरतपुर अस्पताल कोभिड-१९ परीक्षण प्रयोगशालाको नेतृत्व गर्दै आएकी माइक्रोबायोलोजिस्ट डाक्टर नितु अधिकारी पीडा हुँदाहुँदै पनि देश र जनताको लागि भनेर दिनरात काममा खटिएको बताउँछिन्।

उनका अनुसार ल्याबलाई केही दिन अघिमात्रै प्राप्त भएको स्वचालित मेसिनले करिब एक घन्टा काम छिटो गर्न सक्ने बनाएको छ। अन्य मेसिन भने मेनुअल नै भएका कारण अझै पनि रिपोर्ट दिन ६ देखि ७ घण्टा लाग्छ।

‘मान्छेले सामान्य रगत जाँच जस्तो ठानेर ढिलो भयो भनेर गुनासो गरेको जस्तो लाग्छ,’ उनी भन्छिन्, ‘एक दिन ल्यावमा आएर हेर्नुस् अनि थाहा हुन्छ हामी कसरी काम गरिरहेका छौं।’

ल्याबका कर्मचारीहरू डाइपर र पिपिई लगाएर पानी पनि नखाई घण्टौं काम गर्दा अहिलेको नतिजा दिन सकेको डाक्टर अधिकारीको भनाइ छ।

अहिले ल्याबले दैनिक ६सय वटा नमुनासम्मको रिपोर्ट दिने गरेको छ। ‘एकमुष्ट जाँच गर्दा कुनै एक नमूना पोजेटिभ देखियो भने पुनः छुट्टा छुट्टै परीक्षण गर्नुपर्छ,’ ढिलो हुनाको कारणबारे उनले भनिन्, ‘यसका लागि फेरि ७–८ घण्टाको समय लाग्छ।’

एक सिफ्टमा मात्रै काम गर्नुपर्ने अवस्थाका कारण समस्या भइरहेको छ।

‘दुई सिफ्ट चाहिन्छ भनेर भरतपुर अस्पताललाई भनेका छौं, हुन्छ भन्नु भएको छ,’ उनले भनिन्, ‘दुई सिफ्ट भयो भने त हामीलाई केही सहज हुन्छ।’

डाक्टर अधिकारीका अनुसार दैनिक १८ घण्टा भन्दा बढी पनि काम गरेको र लगातार लामो समय काम गर्दा बिरामी पर्ने गरेको सुनाइन्।

‘तैपनि काममा नआई सुख छैन,’ उनले भनिन्, ‘आज पनि ज्वरो आइरहेको छ। औषधी खाएर काम गरिरहेकी छु।’

अन्य स्वास्थ्यकर्मीहरू पनि बिरामी पर्दासमेत सकिनसकी ल्याबमा आएर काम गर्ने गरेको उनले दाबी गरिन्। ज्वरो आएका, रुघाखोकी लागेका मात्रै होइन, दुर्घटनामा परेका कर्मचारी समेत ब्याण्डेज बाँधेर काम गर्ने गरेको उनले सुनाइन्। अधिकांश स्वास्थ्यकर्मीहरूले महिनौंदेखि घर नगई काम गरेका छन्।

‘तैपनि हामीले गरेको कामको मूल्यांकन भएन जस्तो लाग्छ,’ उनले भनिन्, ‘नकारात्मक कुरा मात्र धेरै सुन्छौं।’

अहिले ल्याबमा कार्यरत् एक जनालाई कोरोना संक्रमण भएको छ। तैपनि उनीहरूलाई काम रोक्ने सुविधान छैन। बरू थप सजग बनेर काम अघि बढाइरहेका छन्।

नेपालगञ्ज मेडिकल कलेजबाट एमबिबिएस र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट एमडी गरेकी डा.अधिकारी यसअघि भरतपुर अस्पतालको कन्सल्टेन्ट माइक्रोबायोलोजिस्टको रूपमा कार्यरत थिइन्।

कोरोनाको महामारी बढेसँगै २०७६ चैत २४ गते चितवनमा ल्याब स्थापना गरियो। सोही दिनदेखि उनले यस क्षेत्रको कोरोना परीक्षणको नेतृत्व गरिरहेकी छिन्। यसमा उनलाई पनि गर्व छ तर कामअनुसारको प्रोत्साहन नभएको पो हो कि भन्ने लाग्छ उनलाई।  

काम गर्ने क्रममा आफू र आफू मातहतका स्वास्थ्यकर्मीहरूको बारेमा गरिएको टिकाटिप्पणी, ल्याबले दिएको सेवाका विषयमा गरिएका नकारात्मक टिप्पणीहरूप्रति उनको ठूलो चित्त दुखाइ छ। तैपनि उनले जसोतसो आफूलाई सम्झाएकी छन्। तर, आफूले काम लगाउँदै आएका कर्मचारीलाई सम्झाउन आफूलाई असाध्यै गाह्रो हुने गरेको उनले बताइन्।

‘मैले लगाएको काम खुरूखुरू गरिरहेका कर्मचारीलाई सम्झाउन मलाई असाध्यै गाह्रो हुन्छ। घर परिवार नभनी सेवाको भावले काम गर्दै आएकाहरूलाई त प्रोत्साहन पो गर्नुपर्छ,’ उनी भन्छिन्, ‘मान्छेका कतिपय टिप्पणीहरूले उनीहरू विचलित बन्ने गरेका छन्।’

केही हप्ताअघि एकदिन ल्याबको निर्मलीकरणका लागि काम रोक्दा कर्मचारीहरूले भत्ता नपाएर काम गरेनन् भन्ने आरोप लाग्दा खिन्न बनाएको उनी सम्झिन्छिन्।

‘जनताको सेवा गर्छु भनेर डाक्टर बनेको मलाई भत्ताको कुनै जरूरी थिएन। अब पनि चाहिँदैन भन्दै आएको छु,’ उनले गुनासो सुनाइन्, ‘यो खबरले म र मेरा स्टाफहरूलाई यती पीडा दियो कि त्यो म बयान गर्न सक्दिनँ।’

आफूहरूले बोल्दै नबोलेका कुराहरूलाई समाचार बनाएर केही सञ्चारमाध्यमले थप पीडा दिएको उनले सुनाइन्।

‘सरकारले नै भत्ताको व्यवस्था गरेका कारण दियो भने लिउँला। किन भने हामी यसको वास्तविक हकदार पनि हौं। तलब त १० बजे देखि ४ बजेसम्म गर्दा पनि आउँछ, हामी त दिन रात खटेका छौं,’ उनले भनिन्, ‘तैपनि हामीले यसबारेमा कसैसँग गुनासो गरेका थिएनौं।’  

जिल्लामा थप दुई वटा ल्याब सञ्चालनमा आएपछि उनीहरूलाई केही राहत मिलेको छ। पहिले सयौं स्वाब थुप्रिने ल्याबमा अहिले दैनिक करिब तीन सय स्वाब मात्रै पुग्छन्। ल्याबमा पूर्णरूपमा स्वचालित मेसिन जडान भएपछि काम थप सहज बन्ने र छिटो रिपोर्ट दिन सकिने उनको विश्वास छ।

भरतपुर अस्पतालका अध्यक्ष डाक्टर भोजराज अधिकारी यो ल्याब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पछिको उत्कृष्ट रहेको बताउँछन्।

‘स्वास्थ्यकर्मीहरुको मेहनतका कारण ल्याब उत्कृष्ट बन्न सफल भइरहेको छ,’ उनले भने, ‘हामी उहाँहरूलाई प्रोत्साहनका लागि सक्दो प्रयास गर्दैछौं।’

उनले ल्याबलाई दुई सिफ्टमा सञ्चालन गर्न, स्वास्थ्यकर्मीहरूलाई प्रोत्साहन भत्ता उपलब्ध गराउन अस्पतालले प्रयास गरिरहेको बताए।

‘जनशक्ति पनि अपुग छैन। जिल्लाभरमै यस ल्यावका लागि योग्य जनशक्ति करिब दुई दुर्जन छन्,’ उनले भने, ‘अस्पताले आवश्यक पर्दा थप गर्न पनि पहल गर्नेछ।’

उनले मेसिनहरू स्वचालित राखेर कामलाई छिटो बनाउन संघीय सरकारसँग माग गरिएको बताए। यस ल्याबमा अहिलेसम्म २३ हजारभन्दा बढीको कोरोना परीक्षण गरिसकिएको छ।


प्रतिक्रिया दिनुहोस !