५ आश्विन २०७८, मंगलवार
२५ भाद्र २०७७, बिहीबार २१:१८

सप्तरीका एसपी र डिएसपीलाई कोरोना संक्रमण


जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक (एसपी) र प्रहरी नायव उपरीक्षक (डिएसपी) लाई कोरोना संक्रमण पुष्टि भएको छ । गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा भएको पिसिआर परीक्षणमा उनीहरू दुवैमा कोरोना पोजेटिभ देखिएको हो । 

दुई साताअघि सरुवा भएर सप्तरी आएका एसपी राजेन्द्र धमलाले काठमाडौंबाट आउँदा वातावरण फेरिएर स्वास्थ्यमा सामान्य समस्या देखिएपछि पिसिआर जाँच गराएको नयाँ पत्रिकालाई  बताएका छन् । दुवैजनाको स्वाब बुधबार संकलन गरिएको र रिपाेर्टमा कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले बताए ।

आफूलाई खोकीजस्ताे सामान्य लक्षण देखिए पनि डिएसपी तिलक भारतीमा कुनै लक्षण नदेखिएको एसपी धमलाले बताए । जिल्ला आएपछि बढी नै जनसम्पर्कमा बस्नुपरेको र प्रहरीभित्रै पनि कोरोना संक्रमित देखिएको उनले बताए । एसपी धमलाले भने, ‘म कसरी संक्रमित भएँ त्यो ठम्याउन सकिनँ ।’

सप्तरीमा कोरोना संक्रमित प्रहरीको संख्या ५४ पुगेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीअन्तर्गत १९ र प्रदेश प्रहरी तालिम केन्द्र प्रदेश २ सम्पर्क कार्यालय राजविराजअन्तर्गत ३५ प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस !